जति विदेश बसेपनि एनआरएनएहरुको व्यवहार उस्तै

आङछिरिङ शेर्पा

काठमाडौं — होहल्ला र विवाद देख्दा लामो समयदेखि सम्मेलन गरिसकेका एनआरएनएको कमजोर ब्यवस्थापन र विदेशको सिष्टममा बसेर आएका नेपालीहरुको पुरानै नेपाली कार्यशैली र नियत प्रष्टिएको छ । एक खिली चुरोट किन्दापनि लाइन बस्नु पर्ने सिष्टममा बसेकाहरुको होहल्ला उदेग लाग्दो थियो ।

काठमाडौंको हायत होटलमा यतिखेर गैर आवासीय नेपाली (एनआरएनएण को कुम्भमेला लागेको छ । शनिबारदेखि शुरु भएको यो मेलामा विगतमा भन्द धेरै प्रतिनिधिहरुको सहभागी छन् । एनआरएनएको ८ औ सम्मेलनको पहिलो दिन निकै भिडभाड थियो । हलभित्र शान्त भिड भएपनि बाहिर प्रतिनिधिहरुले लामो लाइन लागेर पनि दर्ता गर्न नपाएकोले विवाद भइरहेको थियो । विदेशमै फाराम भरेर पठाएका प्रतिनिधिहरुलाई कार्यक्रमस्थलमा लामो लाइनमा बस्न लगाएर पासपोर्ट, ग्रिनकार्ड देखाएपछि मात्र औंठा छाप लगाउनु पर्ने कडाइ गरिरहेका थिए । सम्बन्धित मुलुकमा सबै जानकारी दिएर फाराम भरेर पठाइसकेपछि पनि नेपालमा त्यस्तो कडाई गर्नु जरुर थिएन ।

सम्मेलनको पहिलो दिन चर्को घाममा लामो लाइन बसेर पनि प्रतिनिधि पास नपाएर आपसमै झै–झगडा गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ यसले एनआरएनलाई बेफाइदा पुर्याएको छ । यो घटनाले काठमाडौंमा लामो समयदेखि सम्मेलन गरिसकेका एनआरएनएको कमजोर ब्यवस्थापन र विदेशको सिष्टममा बसेर आएका नेपालीहरुको पुरानै नेपाली कार्यशैली र नियत प्रष्टिएको छ । एक खिल्ली चुरोट किन्दापनि लाइन बस्नु पर्ने सिष्टममा बसेकाहरुको होहल्ला उदेग लाग्दो थियो ।

धेरै मुलुकहरुबाट उत्साहजनक रुपमा काठमाडौंमा भेला भएका प्रतिनिधिहरुको सहाभागिताले एनआरएनएलाई मात्र होइन मुलुकलाई पनि केही फाइदा पुगेको छ । सम्मेलनमा आएका प्रतिनिधिहरुले परिवारसँग दशैं, तिहार मनाउन पाउनुको साथै विभिन्न क्षेत्रमा धेरथोर लगानीको अवसर पनि प्राप्त हुनु उपलब्धिको रुपमा मान्नुपर्छ ।

सम्मेलनमा भाग लिन आएका अधिंकाश प्रतिनिधिहरु विदेशमा आफ्नो नियमित काम छोडेर आएका छन् । उनीहरुले सम्मेलनमा प्रतिनिधि शुल्कको रुपमा २ सय ५० डलर अर्थात् नेपाली रुपियाँ २५ हजार तिरेका छन् । त्यहाँबाट काठमाडौसम्मको हवाइ टिकटलगायत अन्य खर्च जोड्दा ५ देखि ७ लाखसम्म खर्च गरेका छन् । यसरी खर्च गरेर आउनेहरुको संख्या यस पटक १८ सय नाघेको छ । उनीहरु कतिपयलाई उम्मेद्वारहरुले आर्थिक व्यवस्था गरेपनि धेरै जसो आफ्नै खर्चमा आएका छन् ।

विभिन्न मुलुकको प्रतिनिधित्व रहेको एनआरएनले हरेक देशबाट प्रतिनिधि बोलाएपछि उनीहरुलाई निराशा बनाउनु हुदैन्थ्यो । तर पहिलो दिनमै दर्ता प्रक्रियामा भएको कमजोर व्यवस्थापनले अधिकांशलाई निराश बनायो । विहानदेखि लाइन लागेर पास नपाउनेहरु र कतिपय खाना सकिएर खाना नपाउनुको आक्रोश पनि स्वाभाविकै थियो ।

तर, पास समयमा पाएन र लाइनमा धेरै बस्नु पर्‍यो भन्दैमा विदेशको सिष्टममा बसेर आएका व्यक्तिहरु झै झगडा गरिहाल्ने प्रवृति गलत हो । सम्मेलनको पहिलो दिन प्रतिनिधिहरुबाट रकम असुलेर पनि व्यवस्था गर्नु नसक्ने एनआरएनएको कमजोर व्यवस्थापन हो । तर पास र खाना पाएन भनेर होहल्ला र झै–झगडा गरिहाल्ने व्यक्तिको कारण राम्रो सन्देश गएन । यही ढंगले एनआरएनए अघि बढेमा भविष्यमा यो भन्द धेरै घटनाहरु नहोलान् भन्न सकिन्न ।

एनआरएनएको ८ औं सम्मेलनको उद्घाटन कार्यक्रम सकिएलगतै आजदेखिन संस्थागत विकासमा छलफल हुनेछ । तर सम्मेलनको माहोल भने कुन पदमा कसलाई जिताउने भन्नेमा केन्द्रित भएको देख्दा आश्चार्य लागिरहेको छ । नेतृत्व चयनकै लागि यतिखेर भित्र भित्रै पार्टीगत अभ्यासहरु भइरहेको छ । विभिन्न मुलुक हुँदै केन्द्रसम्म भइरहेको पार्टी राजनीतिक अभ्यासले संस्थाको समग्र हित हुन सक्दैन ।

सम्मेलनमा पैसा खर्चेर जित्नु मात्र सबै कुरा होइन । विश्वभरिको सबै नेपालीहरुको भावनालाई बुझेर संस्थाको हितमा लाग्न सक्नु महत्वपूर्ण हो । एनआरएनए गैरआवासीय नेपालीको साझा संस्था बनाउने हो भने कोठे गुटउपगुटको राजनीतिक मानसिकताबाट अलग हुनुपर्छ । व्यापारीहरुको संस्था एनआरएनए हो भन्ने सोचलाई परिवर्तन गर्न विभिन्न क्षेत्रका उपयुक्त जनशक्तिहरुलाई समेट्न सकेमा मात्र एनआरएनए सबैको साझा संस्था हुन सक्नेछ । अन्तमा अब आउने नेतृत्वले विदेशमा पैसाले किनेर बनाउँदै आएको सदस्यलाई हटाएर स्वत: स्फुर्त सदस्य बन्ने वातवारण बनाएर सबैले मेरो संस्था हो भन्ने महसुस गराउनु सक्नुपर्छ ।

प्रकाशित : आश्विन २९, २०७४ १४:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विराटनगरको यो सडक कि पार्किङस्थल ? [फोटोफिचर]

कान्तिपुर संवाददाता

मोरङ — सवारीसाधनको अव्यवस्थित पार्किङले विराटनगर महानगरपालिका अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले यहाँका मूल सडक तथा पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको छ तर उक्त सडकपेटी र सडक छेउ अहिले सवारी साधन पार्किङ स्थल बनेको हो ।

औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायत सडक जताततै अव्यवस्थित पार्किङ देखिन्छ । पार्किङ क्षेत्र उल्लेख नभएको ठाउँमा पार्किङ गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर, पार्किङ व्यवस्थित गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी मौन छ ।

६ लेन बन्दै गरेको सडक रानी-इटहरीको विराटनगर खण्डमा जताततै मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकललगायत सवारीसाधन पार्किङ हुँदै आएको छ । पूर्वाञ्चल क्षेत्रीय आयल निगम कार्यालयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने २ सय ५० बढी ट्याङकरको पार्किङस्थल ६ लेन सडक बनेको छ । सडकको दुवै छेउमा लहरै मिलाएर ट्याङकर पार्किङ गरिँदै आएको हो । ट्याङ्कर तथा मालबाहक सवारी साधन ट्राफिक प्रहरीसँगको सेटिङमा सडकमा पार्किङ गर्दै आएको जानकारहरु बताउँछन् । भठ्ठीमोडदेखि रोडशेष चौकसम्म पार्किङ गर्ने भारतीय तथा नेपाली नम्बरको मालबाहक सवारीसाधनबाट अवैध रकम उठाउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिएको हुन्छ । उनीहरु नेपाली नम्बरका सवारीभन्दा भारतीय नम्बरका सवारी साधनलाई अनेक बहानामा जरिवाना भन्दै अवैध रुपमा रकम असुली गर्दै आएको सवारी चालकहरुले गुनासो पोखे । 

भारतीय मालबाहक सवारीका परबिन्दर सिंहका अनुसार भारतबाट मालसामान बोकेर सुनसरी मोरङ औद्योगिक करिडोरको उद्योगको कच्चा पदार्थ लिएर आउँदा र उत्पादित वस्तु लिएर फर्किंदा एउटा गाडीबाट ट्राफिक प्रहरीले सामान्य रुपमा २/४ हजार असुल्ने गरेको गुनासो पोखे । उनी जस्तै सुनसरी मोरङ करिडोरका १ हजार बढी मालबाहक सवारी चालकसँग यहाँका ट्राफिक प्रहरीको दैनिक २४ सै घण्टा यस्तै व्यवहार भइरहेको चालकहरु बताउँछन् । 

यस्तै, जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर बजारको मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि भन्दै वान–वे गर्दै आएको छ । तर वान–वे बाटोमा जताततै व्यापारीहरुको सवारीसाधन पार्किङ हुँदै आएको छ । ट्राफिक प्रहरीले बजारको मूल सडकस्थित बिप्लट चौकमा वान–वे गरेर सुनचाँदी पसल भएको पूर्व जाने बाटोबाट सवारी साधन सञ्चालन गर्दै आएको छ तर सुनचाँदी पसल बन्द भएको दिन वान–वे नहुने गरेको देखिन्छ । स्थानीय सुनचाँदी पसलेहरुले आफूहरुको पसलमा सर्वसाधारणको ध्यान केन्द्रित गर्न तथा ग्राहक आकर्षित गर्न उक्त बाटोबाट ट्राफिकले वान–वे गर्दै आएको गुनासो गरेका छन् । सुनचाँदी व्यापारीरुले ट्राफिक प्रहरीलाई मासिक अबैध रकम बुझाएर उक्त बाटोबाट सवारी साधन सञ्चालन गराउँदै आएको स्थानीय गोपाल पोख्रेलले गुनासो पोखे ।

विराटनगर बजार क्षेत्रस्थित मूल सडकमा व्यापारी तथा सर्वसाधारणले पार्किङ गरेबापतको शुल्क असुलीका लागि महानगरले गैर कानूनी रुपमा टेन्डर नै लगाएको छ । चालू आर्थिक वर्षमा उक्त शुल्क असुलीका लागि कोसी बहिरा संघ मोरङलाई १ लाख ५१ हजार ८ सय मा टेन्डर दिएको महानगरका बित्त व्यवस्थापन महाशाखा प्रमुख अर्जुन थपलियाले स्वीकारे । गैरकानूनी रुपमा मूल सडकमा पार्किङ गराएर शुल्क असुली गरेबापतसमेत बहिरा संघसँग ट्राफिक प्रहरीले नजराना असुल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनायो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफू निर्वाचित हुनु अगाडि नै पार्किङ शुल्क उठाउने ठेक्का लागिसकेकोले महानगरभित्र रहेको बी र सी प्लटमा पार्किङको व्यवस्थापन गर्ने, नभए खाली जग्गा भाडामा लिएर पार्किङ तोक्ने बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले पार्किङ क्षेत्र उल्लेख नभएको ठाउँमा सवारी साधन पार्किङ गरेको पाइएमा तत्काल ५ सयदेखि १५ सयसम्म जरिवाना गर्ने अधिकार भएको बताए । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिनै पार्किङ हुँदासमेत ट्राफिक प्रहरी बोल्न सकेको छैन । जिल्लामा सवारी दुर्घटनामा वर्षेनी भइरहेको वृद्धिको प्रमुख कारण अव्यबस्थित पार्किङ नै भएको ट्राफिक प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७३/०७४ मा ४ सय ७४ दुर्घटनामा १ सय ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांकले जनाएको छ । 

तस्बिर : देवनारायण साह/कान्तिपुर

प्रकाशित : आश्विन २९, २०७४ १४:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT