जस्ताको भित्तोमा मनमोहक पेन्टिङ

विद्या राई

काठमाडौं — शुक्रबारको दिनको कुरा । दिउसोको त्यस्तै साढे ३ बजेको थियो । चुनावको बेला छ । अफिसबाट निस्किएर रिपोर्टिङका लागि निर्वाचन कार्यालयतिर हानिए । निर्वाचन कार्यालय बन्द हुन आधाघण्टामात्रै बााकी थियो । छिटो छिटो पाइला चाल्दै अघि बढिरहेको थिए ।

जिल्ला प्रहरी कार्यालयको गेटनेर पुगेपछि हुलका हुल मान्छे देखें । यसो हेरें, अघिल्तिर कसैले पेन्टिङ गरिरहेको थियो । मान्छेहरु एकाग्र भएर उसको पेन्टिङ हेरिरहेका थिए । अनि खासखुस पनि गर्दै थिए । रहर लाग्दो उसको पेन्टिङले मेरो पनि ध्यान मोडियो । मेरा लागि यो नौलो थियो । काठमाडौं पुगेका बेला नयाँ बानेश्वरको ग्यालरी बाहिरबाट हेर्ने मौका मिले पनि पेन्टिङ गरिरहेको मैले जीवनमै पहिलोचोटी देख्दै थिएँ । त्यहि हुलमा मिसिन अलिक नजिक गएँ । लामो, कालो कपाल पालेको कोही पुरुष हातमा कुची लिएको थियो । पर्खालमाथि चढेर त्यसैको साहारामा पेन्टिङ गरिरहेको थियो । पहिलो पटक सिधै पेन्टिङमा पुगेको नजर दोस्रोपल्ट पृष्ठभूमि नियाल्न पुगेछु । जस्ता पाताको भित्तो पेन्टिङका लागि पृष्ठभुमि थियो । पेन्टिङ हेर्दा जति रोमाञ्चक लाग्यो । पृष्ठभूमि हेरेपछि मनमा खुलदुली उब्जियो । छेवैमा हेरे । कसैले रंगका बट्टाहरु दिइरहेको थियो । 
मनमा सोचे, ‘पर्खालमा चढेकालाई पर्खनुभन्दा भुइमा बसेकैसंग खुलदुली मेटाउनु बेस, मौका यहि हो’ निर्वाचन कार्यालय नि पुग्नु थियो । समयको पनि त ख्याल गर्नु थियो । 

भुईमा बसेको ऊ तिर फर्किएर मैले सोधे : तपाईसंग कुरा गर्न सक्छु ?
उसले भन्यो : भन्नुहोस् न । 
‘कति राम्रो पन्टिङ है !’ मैले कुरा कोट्याएँ । 
‘होर ! तपाईलाई मन पर्‍यो ?’ उसले थोरै मुस्कुराएर भन्यो । 
मैले भने, ‘हो नि !, कहाँबाट आउनुभएको ?’  ‘उहाँ पारीको गाउँ आम्तेकबाट ।’ उसले उत्तर दियो । 
‘तपाईहरु दुई जनामात्रै हो ?’ मैले सोधे । ‘हो ।’ उसले फर्कायो । ‘तपाईको नाम’ मैले भने । उसले भन्यो, ‘नगन राई ।’ मेरो पालो ‘अनि उहाँको नि ?’ उसको पालो, ‘जगन राई ।’ 

नामको पहिलो शब्दको राइमिङ मिलेपछि अनुमानित प्रश्न गर्न मन लाग्यो र सोधे । ‘तपाईहरु एउटै कोखका दाजुभाई ?’ उसले भन्यो, ‘हो त, ऊ मेरो दाजु, म भाई, पेन्टिङ गर्न आएको ।’ 
यति भएपछि अरु के चाहियो र ?
 
‘उहाँ पारीको गाउँमा बस्ने दाजुभाईलाई पेन्टिङ गर्न कसरी आयो ?’  जिज्ञासा तेर्साए । ‘मेरो दाजु पेन्टिङकै विद्यार्थी हो नि त । म त यसो साथी आएको ।’ उसले भन्यो । पेन्टिङ नै पढेको भनेपछि दाजुसंगै कुरा गर्न मन लाग्यो । हुन त अघि नै पेन्टिङमा डिस्टर्ब नहोस् भनेर पर्खालमुनि बस्नेसंगै बोल्ने निर्णय गरेकी थिएँ । अनि भाईलाई नै सोधे, ‘दाजुसंग बोल्न मिल्छ ?’ उसले भन्यो, ‘मिलिहाल्छ नि । किन नमिल्नु ।’ अनि उसले दाजुलाई बोलायो । त्यसबेलासम्म ऊ पर्खालमुनि झरेर मुनिपट्टि पेन्टिङमा लागेको थियो । म अलिकति उसको नजिक गएँ ।
 
‘के थियो होला ?’ उसैले पो सोध्यो । मलाई केहि अप्ठ्यारो भान भयो । ‘तपाईको पेन्टिङबारे केहि सोधु भनेर’ मैले भने । तर कस्तो अप्ठ्यारो । उसको बोलीले मलाई झुकायो । अनि हत्त न पत्त मुखबाट कुरो फ्याट्टै निस्कियो – ‘यति राम्रो पेन्टिङलाई जस्ताको भित्तोमा किन ?’  ‘आफ्नो प्रतिभा देखाउन, भित्तोलाई आकर्षक बनाउन’ उसले जवाफले म फेरी चुपचाप भएँ । अहिले पनि ऊ पेन्टिङ गरिरहेकै थियो । ‘यो त व्यक्तिको घर होइन र ?’ मैले फेरी सोधे । उसले भन्यो, ‘हो, अनुमति लिएर पेन्टिङ गरिरहेछु ।’ ‘कति लिनुहुन्छ यसबापत ?’ मैले सोधें। उसले, ‘आनन्द अनि सन्तुष्टि ।’ उसको नरम बोली । एकोहोरो सुनि रहुँजस्तो । 

.................

उनले आफ्नो पेन्टिङमा बाबाजीको आकार दिएका थिए । आफैले परिकल्पना गरेका । २२ बर्षीय जगनको पेन्टिङ देखेर हेर्नेलाई एकाग्र बनाएको थियो । हुन पनि सदरमुकाममा यस अघि यस्तो दृश्य कहिले देखिएको थिएन । एउटै चित्रका लागि कुची चलाइरहेको उनको पाँचौं अर्थात अन्तिम दिन थियो । पहिलो दिन जस्ताको भित्तो सफा गर्दै गर्दा वरपरका स्थानीय तथा बाटो हिड्ने बटुवाले खुबै कानेखुसी गरेका थिए । जस्ताको भित्तोमा आकार दिएर जब हेर्न लायकको पेन्टिङ गर्दै गए । सबैको ध्यान उनैमा खिचियो । ‘भाईको पेन्टिङ असाध्यै राम्रो लाग्यो, कलाका धनी रैछन्,’ विद्योदय माविका शिक्षक पर्शुराम तिवारीले सुनाए । सदरमुकाममा उनले यस्तो दृश्य यो अघि कहिले देखेका थिएनन् । न त कल्पना नै गरेका थिए । 

२०५२ सालमा भोजपुर नगरपालिका – ११, आम्तेकमा जन्मिएका उनी बालखैदेखी चित्रकलामा रुची राख्थे । गाउँमा पढ्ने वातावरण थिएन । सदरमुकामकै सगरमाथा बोर्डिङ स्कुलमा आएर कक्षा १० सम्म पढेर एसएलसी पास गरे । कक्षाको दोस्रो पोजिसनमा आउने मेहनती र परिश्रमी भएकैले परिवारले विज्ञान संकाय पढ्न  भन्यो । काठमाडौ गएर प्लस टु जोइन गरिदिए । तर पढ्न सकेनन् । त्यसपछि आफ्नो रुची अनुसार पढ्न परिवारले सुझायो । सानैदेखिको चित्रकलाको रुची नै पढ्ने भए । काठमाडौंमै सिर्जना कलेज अफ फाइन आर्टस्मा पुन: प्लस टु जोइन गरे । सन् २०१५ मा आर्टस्बाट प्लस टु सके । उनले राम्रै अंक प्राप्त गरेर पास गरेका थिए । यत्तिकैमा उच्च तह पढ्नका लागि छात्रवृति पाए, भारतको कलकतामा । त्यहाँको गभर्नमेन्ट अफ आर्ट एण्ड कार्टले स्नातक तहमा निशुल्क पढाउने भयो । कलेजकै सहयोगमा पढिरहेका छन् । आगामी २ बर्षपछि उनले स्नातक सक्दैछन् । 

दशैतिहार मनाउन छुट्टिमा घर आएका बेला सदरमुकाममा आएर पेन्टिङ गरेका हुन् । एकहप्तायता स्थानीय होटलमा बसेर पेन्टिङ गर्दैछन् । आवश्यक सामाग्री आफैले जुटाएका हुन् । ‘दुर्गम भोजपुरको छोरो म, आफुलाई सानैदेखि इच्छाले भारतमा पुगेर पढ्ने अवसर पाएको छु, म जस्ता थुप्रै भाइबहिनी छन्, जसलाई चित्रकलामा रुची छ, तर परिवारको दबाबले पढ्न पाएका छैनन्, अवसर पाएका छैनन्, उनीहरुका लागि प्रेरणाको स्रोत बनोस् भनेर पेन्टिङ गरेको हुँ,’ उनले भने । छुट्टि सकिन लागेकाले चाँडै नै कलकता पुन: फर्कदैछन् । जानुअघि अनुमति पाए केहि विद्यालयहरुमा पेन्टिङ गरेर फर्कने उनको योजना छ । उनले हाल गर्दै गरेको पेन्टिङ स्थानीय सन्तोषी सुवालको घरको भित्तो हो । अनुमति लिएर पेन्टिङ थालेका थिए । यसपछि टुडिखेलस्थित सार्वजानिक शौचालयको भित्तामा पेन्टिङ गर्ने अनुमति पाएका छन् । 

‘मेरो जिल्लाका लागि केहि दिन नसके नि आफुले सिकेको पेन्टिङले आनन्द दिन चाहन्छु,’ उनले बताए । यसअघि काठमाडौंमा थुप्रै स्थान तथा विद्यालयहरुमा पेन्टिङ गरिसकेका छन् । कतिपयले बोलाएरै पेन्टिङ गर्न लगाए । कसैले सित्तैमा, कसैले ५ देखि १० हजार पारिश्रमिक दिएर पेन्टिङ गर्न लगाए । पेन्टिङ गर्दा उनलाई आनन्दको अनुभुति हुन्छ । पोट्रोइट, लेन्ड्स्क्याप, लाइटलगायतका पेन्टिङमा रुची राख्छन् । निरन्तर पढाइलाई पुरा गरेर आफ्नै देश फर्केर चित्रकलामा योगदान दिने उनको चाहना छ । सामान्य परिवारमा हुर्किएका उनी घरका  ३ छोरामध्ये  जेठो सन्तान हुन् । ३ दिदीबहिनी र आमाबाबा छन् । 
....................

उनीहरुसंग कुरा गरिसक्दा ४ बज्न एक मिनेट मात्रै बाँकी थियो । निर्वाचन कार्यालयतिर दौडिएँ । चालचुल थिएन । मुलगेट नै बन्द थियो । सार्वजानिक विदा भन्ने त हेक्का नै रहेनछ । फनक्कै फर्किएँ । ति दाजुभाई पेन्टिङ सक्ने तरखरमा थिए । साँझ पर्न लागेको थियो । म अफिसबाट झोला लिएर कोठा तिर फर्किएँ । 

प्रकाशित : कार्तिक १२, २०७४ १८:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चुनावी खर्चबाट तर्सिएर 'प्रभावशाली' नेताहरु समानुपातिकतिर

स्थानीय चुनावमै एउटै उम्मेदवारले करोडौं खर्चिएको देखेपछि प्रभावशाली नेताहरु संघ र प्रदेशमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न हच्किए
अमन कोइराला, नवीन पौडेल

सर्लाही, नवलपरासी — चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरु नै प्रत्यक्षबाट उठ्न हच्किएका छन् । उनीहरु सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन् ।

कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण रायले पनि यसपटक प्रत्यक्षमा लड्न रुची देखाएनन् । उनीहरु समानुपातिकमा सिफारिस भएका छन् । संविधानसभा चुनावमा दुवै नेता प्रत्यक्षबाट लडेका थिए ।

एमाले पूर्वजिल्ला उपाध्यक्ष राजनारायण साह पनि यसपटक समानुपातिक सिफारिसमा छन् । उनी संविधानसभा चुनावमा दुईपटक प्रत्यक्षबाट उठेका थिए । चुनाव खर्चिलो हुँदै गएपछि धेरै खर्च गर्न नसक्ने नेताले समानुपातिक रोजेका हुन् । यसले गर्दा दलहरुलाई संघीय र प्रदेश चुनावमा प्रभावकारी उम्मेदवार पाउन कठिनाइ छ ।

एमाले र माओवादीले २ नम्बर क्षेत्रमा कसैको नाम सिफारिस गरेका छैनन् । यसअघि उक्त क्षेत्रमा एमालेका साहले चुनाव लड्दै आएका थिए । उनले चुनावी खर्च थेग्नै नसक्ने अवस्था भएपछि प्रत्यक्षमा लड्न नसकेको बताए । ‘स्थानीय चुनावमै बढी खर्च भएको देखियो,’ उनले भने, ‘यस्तो अवस्थामा करोडौं खर्चेर प्रत्यक्षमा लड्न सकिँदैन ।’

अघिल्ला चुनावमा ठूलो रकम खर्चिएर पनि चुनाव नजितेकाहरु यसपालि हताश देखिन्छन् । कांग्रेसका वर्तमान र पूर्वसभापति दुवै नेता अघिल्ला दुई चुनावमा भएको खर्चबाटै तर्सिएका छन् ।

मत किनबेच हुने, भोजभतेर गर्नुपर्ने, प्रचारमा सवारीसाधन धेरैवटा राख्नुपर्ने भएकाले चुनाव खर्चिलो हुँदै गएको हो । ‘अन्य उमेदवारले धेरै रकम खर्चेपछि त्यसै अनुपातमा चुनावी खर्च बढै जान्छ,’ साहले भने, ‘चुनाव जितेर कमाउने उद्देश्य राख्नेले खर्च गर्न पनि सक्छ । हामी त जनताको सेवा गर्ने हो । चुनावमा खर्च गर्न सकिंदैन । जितेपछि कमाउने लक्ष्य पनि छैन ।’ उनले चुनावमा पार्टी संगठनभन्दा पैसा प्रभावशाली हुँदै गएको बताए ।

चुनाव खर्चिलो हुनुको अर्को कारण निर्वाचन आचारसंहिताको बढ्दो उल्लंघन पनि हो । उम्मेदवारले निर्वाचन क्षेत्रका विभिन्न ठाउँदा दैनिक भोजभतेर गराउने गरे पनि अनुगमन प्रभावकारी छन् । विपन्न बस्तीमा भोट तान्नकै लागि पैसा, कपडा, जुत्ता चप्पल, खाद्यान्न र माछामासु वितरण भइरहेको हुन्छ ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कौशलकिशोर रायले खर्च गर्न नसकेरै राम्रा नेताले प्रत्यक्षमा उमेदवारी दिने हिम्मत नगरेको बताए । चुनावी खर्च अनुमानभन्दा धेरै हुने भएकाले सबैजसो दलमा राम्रा नेताकार्यकर्ता छायाँमा परेको उनको बुझाइ छ । ‘पैसा नभएका कारण प्रभावशाली नेता पनि समानुपातिकमा सिफारिस हुन खोजे,’ उनले भने, ‘कम खर्चमा चुनाव लड्ने संभावना नै रहेन । चुनावमा उम्मेदवारले गर्ने खर्चमा सीमा नलगाए भविष्यमा धनाढ्य, व्यापारी, भ्रष्टाचार गरेर कमाएका ब्यक्तिमात्र चुनाव लड्ने अवस्था आउँछ ।’

नवलपरासीमा पनि पुराना नेता-कार्यकर्ता प्रत्यक्षतर्फ उम्मेदवार बन्न मन हुँदाहुँदै कमजोर आर्थिक अवस्थाका कारण हच्किएका छन् । स्थानीय चुनावमा एक करोडभन्दा माथि खर्चिइएको देखेका उनीहरू निराश छन् ।
पैसा भएकाहरु भने टिकटका लागि आफूलाई प्रभावशाली देखाउन स्थानीय क्लब, संघसंस्था तथा आमा समूहलाई आर्थिक सहयोग गरिरहेका छन् । प्राय: ठूला दलमा राजनीतिक योगदान कम भएका तर आर्थिकरुपमा मजबुत भएकाहरुको नाम उम्मेदवार आकांक्षीका रुपमा चर्चामा छ ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलन र राजनीतिमा लागेका धर्म केसीलाई विचारभन्दा पैसा र अनावश्यक प्रचारबाजी गर्नेहरु मूलधारमा हाबी भएकोमा चित्त बुझेको छैन । ‘राजनीतिक योगदान र जनताले रुचाएको व्यक्तिलाई पार्टीले टिकट दिनुपर्छ तर यहाँ पैसा र पहुँचका आधारमा टिकट ल्याउने धेरै छन्,’ उनले भने, ‘यो प्रवृत्तिले निष्ठाको राजनीति गर्ने सधैं ओझेलमा पर्ने भए ।’ संगठन गर्ने समयमा व्यापार, व्यवसायमा बिताएका र विदेश गएकाहरु नै अहिले राजनीतिमा हाबी हुन खोज्दा कांग्रेस, एमाले, माओवादी केन्द्रका पुराना नेता कार्यकर्तामा वितृष्णा जागेको छ । तर, उनीहरु टिकट पाइहालिन्छ कि भन्दै राजधानीतिरै लागेका छन् ।

क्षेत्र र जिल्लाबाट सिफारिसमा परेकाहरु केन्द्रीय नेता भेटेर आफ्ना लागि माहोल बनाइदिन आग्रह गर्दै छन् । कांग्रेस महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ४ अन्तर्गतको सुस्ता पूर्व प्रतिनिधिसभाको १ नम्बर क्षेत्रबाट उठ्ने पक्कापक्की भएपछि कार्यकर्ताले प्रचार सुरु गरेका छन् । प्रदेश ५ अन्तर्गत परासी क्षेत्रमा राजपा छाडेका हृदयेस त्रिपाठीलाई एमालेले सहयोग गर्ने भएपछि उनले पनि प्रचार थालिसकेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७४ १८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT