के बिदेश बस्नु अपराध हो ?

नवीन रायमाझी

काठमाडौं — हामी बिदेशमा बस्ने नेपालीहरुले देशको माया नभएको, अर्काको देशमा भाँडा माझ्ने, मुग्लान भासिएको, दोश्रो दर्जाको नागरिक जस्ता र अरुपनि अनेकौ तुच्छ शब्दहरुले विभूषित हुन पाउने गरेका छौं । तर, हामीले ठुलै अपराध गरेर यस्तो शब्द बाण खप्नु परेको भने होइन, आफु आउन नपाएको पीडा बोलेको हो । तर, यो कुरा सम्बन्धित व्यक्तिलाई बाहेक अरु कसैलाई थाहा हुँदैन । झुठो कुरा बोलेर आत्मद्रोह गर्ने हो भने कसैको केहि लाग्दैन ।

तर हाम्रो जस्तो अविकसित देशको मान्छे सुबिधा सम्पन्न देशमा बस्न पाउनु अहोभाग्य हो । कोहि–कोहि हामी रहरले होइन बाध्यताले बसेका हौं, भनेर आफुलाई महान देखाउन खोज्छन् त्यो कुरा पनि ब्यर्थ हो ।  अन्य देशको बारेमा पंक्तिकारलाई जानकारी भएन । तर अमेरिकामा जुनसुकै व्यक्तिले जुनसुकै समयमा म आफ्नो देश फर्किन्छु भन्छ भने उ सजिलै फर्किन सक्छ, कसैले पनि पाखुरा समातेर तँ जान पाउदैनस् भनेर रोक्दैन ।

जहाँसम्म देशको माया को कुरा छ, त्यो भनेको के हो? सबैभन्दा पहिलो कुरा आफु समर्थ हुनु पर्यो त्यसपछि मात्र देश, समाज र परिवारको माया को कुरा सान्दर्भिक हुन्छ । आफुले दैनिक खाने र लगाउने बस्तुकै निमित्त अरुको मुख ताक्नु पर्ने अबस्था भएको मान्छेले यस्ता ठुला ठुला कुरा गरेको शोभा दिंदैन र यस्ता कुराको कुनै अर्थ पनि हुँदैन । देशको माया हुनेले देशको लागि कुनै योगदान पनि दिन सक्नु पर्यो, देश कै लागि भार भएकाहरुले देशको मायाको कुरा गर्नुको औचित्य नै छैन । एक पटक हामी सबैले इमान्दारीपूर्वक सौचौं सहि सुचना नपाएर वा अनेकौ प्रयास गर्दा पनि नसकेर देशमा बसेको हो कि वास्तविक रुपमै देशको माया लागेर बसेको हो, त्यो सबैलाई भन्दै हिंड्नु पर्ने होइन आफैले आफैसँग सोधे हुन्छ ।  यहाँ एउटा कुरा भनिदिनु उचित हुन्छ कि सन् १९९९ यता अमेरिकाको भिसाको लागि कसकसले निबेदन दियो ? को को सफल वा असफल भयो भनेर एक क्लिकमा हेर्न सकिन्छ, फोटोसहितको बिबरणलाई पनि मेरो हुँदै होइन भनेर जिद्दी गर्छ भने त्यो उसको स्वतन्त्रता हो तर त्यस्ता कुराको कुनै महत्व हुँदैन । 

बिदेशमा गएर भाँडा माझ्ने भन्नुको अर्थ तुच्छ कामको प्रतिकमा भनेको हो भन्ने मेरो बुझाइ छ । काम सानो वा ठुलो त हुन्छ । तर जोसँग जस्तो क्षमता छ त्यस्तै काम गर्ने हो, चाहे त्यो देशमा होस चाहे त्यो बिदेशमा. यतापनि अतिउच्च स्तरको काम गर्ने नेपालीहरु नभएका होइनन् । तर यस्तो काम पाउन यतैको  विश्वविद्यालय वा अन्य देशको प्रख्यात विश्वविद्यालयमा अध्यन गरेको हुनुपर्छ । नेपालमा जसरी एउटै तहको परीक्षा दश बर्ष लगाएर उतिर्ण गरेको प्रमाण पत्रको कुनै काम छैन, यता अध्यन पश्चात पनि कुनै काम गर्न राज्य स्तरको परीक्षा दिएर लाइसेन्स लिनु पर्छ, चाहे त्यो प्लम्बर होस् कि डाक्टर. यदि त्यो परीक्षा उतिर्ण गर्न नसकेर लाइसेन्स पाएन भने उसले त्यो काम गर्न पाउँदैन । त्यस्तो लाइसेन्स प्राप्त गर्न नसकेर डाक्टरले ट्याक्सी चलाएको र इन्जिनियरले पेट्रोल पम्पमा तेल हालेर बसेको पंक्तिकारले देखेको छ, भलै उसले आफ्ना परिचितहरुसँग यो सत्य लुकाएको किन नहोस् । एउटा कुरा सत्य के हो भने जति सुकै सानो काम गरेपनि जीवन आरामले चल्छ ।

मुग्लान भासिएको भनेर भने पनि आफ्नो जीवनस्तर राम्रो होस् भनेर बसाईं सराइ गर्ने प्रचलन परापूर्व कालदेखिकै हो । गाउँबाट सदरमुकाम र सदरमुकामबाट राजधानी आउने क्रम अहिले पनि रोकिएको छैन र रोकिने पनि छैन । तर देशबाट विदेश गयो भने अनेक प्रकारको तुच्छ शब्द किन बोलिन्छ त्यो पंक्तिकारले बुझ्न सकेको छैन । कुरा गर्दा अब बिश्व नै एउटा गाउँ भइसकेको छ भनेर भन्ने तर आफ्नो जीवनस्तर यो भन्दा राम्रो होस् भनेर विदेश गयो भने गाली खानु पर्ने के त्यस्तो अपराध हो? आजको समयमा पैसा, समय र इच्छा भयो भने दुई दिनमा संसारको जुनसुकै कुनाबाट पनि नेपाल आउन सकिन्छ, पौराणिक युगमा जस्तो हिंडेर आउनु पर्ने होइन । यद्यपी हाल पनि नेपालदेखि नै हिडेर अमेरिका आउने क्रम जारी छ । जतिसुकै कडाइ गरेपनि यो क्रम रोकिएला जस्तो देखिंदैन । 

यो संसारमा दोश्रो दर्जाको नागरिक भन्ने नै हुँदैन कि त उ त्यो देशको नागरिक हुन्छ वा हुँदैन । देशै पिच्छे जन्म सिद्ध र अंगिकृत नागरिक भन्ने हुन्छ र उनीहरुको सिमा हुन्छन् । तरपनि सामान्य रुपमा राज्यले दिने सुबिधा करिब करिब एउटै हो । अमेरिकाको हकमा कुनै अंगिकृत नागरिक देशको राष्ट्रपति हुन सक्दैन । अब कसैले यसैलाई भनेको हो भन्छ भने उसको बौद्धिक क्षमताको लागि हार्दिक अभिबादन गर्नु बाहेक मसँग अर्को कुनै उत्तर छैन । नियम कानुनको परिधिभित्र रहेर आफ्नो काम गर्ने हो भने अमेरिकामा सबै बराबर हुन्, यहाँ आफुले कानुनको बर्खिलाप गरेन भने कसैले केहि गर्न सक्दैन, यदि यो अबस्थामा कसैले केहि हानी गर्यो भने उसको हरिबिजोक हुन्छ । नेपालमा जस्तो राष्ट्रपति छोरी ज्वाँइ लिएर घुम्न निस्कदा घन्टौ सडक बन्द भएर यता र उता गर्न नपाउने प्रथम दर्जाको नागरिक हो कि स्वतन्त्र भएर आफ्नो काम गर्न पाउने त्यो प्रथम दर्जाको नागरिक हो त्यो छुट्टाउने जिम्मा पाठकहरुलाई  । 

जो देशको मायाले ओतप्रोत भएका छन्, उनीहरु देशमा बसुन् र जसलाई बिदेशमा बस्न मन लाग्छ उनीहरु बिदेशमा बस्छन्, यो व्यक्तिगत स्वतन्त्रता र उसले पाउने अवसरमा भर पर्छ । यद्यपी बिदेशमा बस्नेलाई देशको माया हुँदैन भन्ने कुरामा मलाई विश्वास लाग्दैन । देशको मायाको एकोहोरो रट लगाउने तर देशको लागि झिंगा मार्न नसक्ने भन्दा देश बाहिर बसेर आफ्नो र आफ्नो परिवारको मात्र जीवनस्तर माथी उठाउन सक्यो भने त्यो देशको माया हो भन्ने मेरो बुझाइ छ । सकारात्मक बिरोध गर्न पाइन्छ । तर हरेक बर्ष डीभी लोटरीको फारम भर्दा भर्दै थाकेरअसफल भएको झोंकमा बिदेशमा बस्नेलाई हाँसोमा उडाउनु भनेको त्यो व्यक्तिको बौद्धिक दरिद्रता हो ।

अन्तमा, नेपालको जस्तो एसएलसी पास नभएको व्यक्ति प्रधानमन्त्री, आठ कक्षा पास नगरेको व्यक्ति बरिष्ट पत्रकार, अर्काको थेसिस हुबहु सारेर पीएचडी गरेका व्यक्ति विश्वविद्यालयको उपकुलपति र दिन भरि घरमा सुतेर बस्ने तर राती–राति हजारौ रुपियाँ रक्सीमा खर्च गर्ने  व्यक्तिहरु अमेरिकामा हुँदैनन्, यस्ता रहस्यमय मान्छेहरुको लागि भने नेपाल स्वर्ग छ, र उनीहरुको लागि अमेरिकामा कुनै काम छैन ।

प्रकाशित : कार्तिक १५, २०७४ १३:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दरबारमार्गका 'ठग' व्यापारी पक्राउ

जनकराज सापकोटा, राजु चौधरी

काठमाडौं — लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका 'फरार' व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजेदेखि ९ बजे भित्रमा दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताए ।

पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् ।
उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनीहरुलाई काठमाडौं परिसरमा राखिएको धानुकले बताए ।

महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू केहीसमययता सम्पर्कबिहीन भएका थिए । व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका थिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । टोलीले २१ गते नै न्युरोडको लत्ताकपडा पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा दुई पसललाई सिलबन्दी गरेको थियो । विभागका शाखा अधिकृत रमेश श्रेष्ठका अनुसार ती व्यवसायीसँग लिएको बयान विश्लेषण गरी परिसरमा बुझाएको थियो । विभागले अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।

ती फाइलका आधारमा परिसरले पुन: अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको थियो । तर, कारबाहीमा पर्ने डरले व्यवसायीहरू फरार भएका थिए ।

भदौ २१ गते दरबारमा पुन: अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो । त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।

प्रकाशित : कार्तिक १५, २०७४ १३:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT