सम्झनामा त्यो खैरेनीको जाम

नरेन्द्रराज पौडेल

काठमाडौं — दिन घर्किंदै गयो । सबै पक्षहरु थाक्दैपनि गएछन् क्यार ! पोखराबाट आएका यातायात व्यवसायी, मजदूर नेता र प्रशासनको अथक प्रयासपछि अपराह्न चार बजे बल्ल लाश उठाउने र बाटो खोल्ने सहमति भयो । पोखरा क्षेत्रीय अस्पतालमा लाश पठाएर जाम खुलेपछि बेलुकी दमौली फर्किएँ, लखतरान भएर ।

०५२ साल फागुन लाग्दा नलाग्दै दमौलीमा ह्वात्तै गर्मी बढ्यो । एक दिन विहानै डिएसपी सनन्दन प्रसाद कुर्मी र म सीडियो वस्तुस्थिति बुझ्दै स्थलगत गस्ती गर्ने क्रममा जिल्लाको पल्लो छेउ कोत्रेसम्म पुगेका थियौं । गाडीमै समाचार सुन्दै गर्दा थाहा भयो – लमजुङ पाउँदी ढीकनिर बाटोमाझ ट्रक पल्टिएर अवरोध हुँदा बेंशीसहरतर्फको यातायात बन्द भएको तीन दिन भइसकेछ । पोखरा सुनौली राजमार्गको स्याङ्जा खण्डमा सवारी दुर्घटनापछि क्षतिपूर्ति र उपचारको विषयमा कुरा नमिलेर राजमार्ग बन्द भएको पनि नौ दिन भैसकेछ । समाचार सुन्दै डीएसपी साप हाँस्दै अनि पड्कँदै थिए ।
“९/९ दिन राजमार्ग बन्द हुँदापनि खुलाउन नसक्ने ? के हेरेर बसेका छन् त्यहाँका हाकिमहरु । धिक्कार होस् त्यस्ताले के जागिर खानु ? म भए कि खुलाउथें कि जागिरै छाडेर हिड्थें । गृह प्रशासन पनि के सारो पानी मरुवा हो, त्यस्ता हाकिमलाई पुजा गरेर राखिछोड्ने” यस्तै गफमा म पनि उनलाई साथ दिंदैथिएँ । दुईटै छिमेकी जिल्लाका प्रहरी प्रशासकलाई लाछी पामरजस्ता उपाधिले मज्जैले सिंगारेर बोल्दै थिए डीएसपी । म पनि उनलाई हौस्याउनमा कम थिइन । अरुलाई उडाउनु पनि मनको स्वादिलो खाजा न हो बाटो हिंड्दा ?
बेलचौतारा चौकीमा पसेर कुर्मी साबले जवान अफिसरहरुलाई तालिम गराए । अनि तिनै बन्द राजमार्गका उदाहरण दिंदै खटनपटन, गस्ती पेट्रोलिङ जस्ता विषयमा दिन रात सजग रहन र सुरक्षा संयन्त्र चुस्तदुरुस्त राख्न अराए । खैरेनीटार र थर्पु चौकीमा पनि राम्रैसंग नर्देशन दिंदै थिए ।सदरमुकाम फर्किएपछि संगै खाना खाइवरी म अफिस पसें । उनी दुई दिन क्यावि बस्नु छ भनेर त्यसै दिन घरतिर लागे ।
बेलुकी निवासको कौसीमा निस्किएर ढकमक्क फक्रिएको जुनमा टलक्क प्रतिविम्वित भएको अन्नपूर्ण हिमालको दृश्यावलीमा रमाउँदै थिएँ । निवासमुनी सुरिलो भाकामा एक नासले सुसेल्दै सुइय्य सुइय्य भुमरीमा नाचेको सेती मादीको निलो दोभानले मधुर सङ्गीत छरेर मन तरङ्गित पारिरहेको थियो । दिमाग आह्लादित बनाइरहेको थियो । पाञ्चायन मन्दिर परिसरमा र आफ्नै कम्पउण्डभित्र फुलेका जाहीजुही र इन्द्रकमलका थरीथरी सुवासले कौशीको वातावरण मनमोहक थियो ।
जिल्लाको बीचैबाट चट्ट चिरेर पूर्व–पश्चिम दौडिएको पृथ्वीराजमार्ग त्यतिबेर पुनर्निर्माणका क्रममा थियो । छेउभित्ता भत्किएको, पिच उप्किएर भताभुङ्ग भएको र जथाभावी खाल्डा खुल्डी परेको त्यो बाटोमा कतै ठूलो दुर्घटना भएर चक्काजाम बेहोर्नु परेको थिएन । कतै लाश परेको, गाडी बल्ड्याङ खाएको र यात्रु लुटिएजस्ता नराम्रा घट्ना देख्नु सुन्नु परेको थिएन । बडाहाकिम भएर जगिर खाँदाका सन्तोषका छाल सुनामी झैं मनभरी बेलगाम नाचिरहेका थिए । विगत र वर्तमानको त्यही दोसाधमा एक्लै रमाइरहेका बेला कोठामा कडा आवाजले जापानी फोनसेट बज्यो । हत्तपत्त तल झरेर रिसिभर उठाएको थिएँ, “खैरेनीटारमा चक्काजाम भएछ सर ! 
घटनास्थल पुगेर जाम खुलाउने प्रयास गर्दैछु ।” इन्स्पेक्टर रणबहादुर केसी बोल्दै रहेछन् । त्यस दिन जिल्लाको निमित्त प्रहरी प्रमुख उनै थिए ।
''कतिबेरदेखि हो जाम भएको, के कारणले भएको ? खै मलाई त थाहै नदिई जानु भएछ त” अलि रिसाएको स्वर थियो मेरो । ''जाहेर गर्छु भन्दाभन्दै नभ्याएर हतारमा हिंडीहालें सर” उनले भने । मैले सुनें । डिएसपी नहुँदाको खालीपनले मलाई नराम्ररी झस्कायो । विहानभरी गिल्ला गरेर लमजुङ्गे, स्याङ्जााली हाकिमका कुरा काटेका एकएक लवजहरु मनमा आइरहे । 
''विहानभरी त्यही चक्काजामकै विषयमा अरुको नाटीकुटी र खेदो गरेर बताएका थियौं । अहिले डीएसपी न भएको बेला एक्लै परेउ फेला !” म आफैलाई मनमनै उडाउँदै पनि थिएँ । तर भित्रि मन असहाय झैं थियो ।
एकै छिनपछि उनै इन्स्पेक्टरले चक्काजामको कारण र घटनाको विवरण दिए, “खैरेनीटारको मुल चोकमा पोखराबाट आएको रात्री बस रोकिएको रहेछ । दुलेगौंडाबाट चढेका दुई जना केटा खैरेनीटार उत्रिने रहेछन् । 
भाडा तिर्ने समयमा एक–दुई रूपैयाँ तल–माथिको विवादले त्यति बेलै कन्डक्टरमाथि आक्रमण भएछ । के कस्तो हतियार प्रयोग भएको थियो कुन्नी ! माझ सडकमै लम्पसार परेको लाश सग्लै भएपनि टाउको पट्ट फुटेर गिदी थुप्रो लागेको छ ! अगाडी हेरेर गाडी चलाउँदै गरेकाले घटनाबारे केही देखिन भन्यो ड्राइभरले । बसका अरु यात्रुजति लाखापाखा लागिसकेछन् । जो भेटिए ति पनि आफू त्यो बसको यात्रु थिएँ भन्दैनन् । वरपरका होटल, पसल, यात्रु, व्यापारी सबैसँग बुझ्ने काम हुँदैछ । सवै बासिन्दा कुरा चपाएर मात्र गर्छन् । अहिलेसम्म आक्रमणकारी पत्ता लाग्न सकेको छैन” बोल्ने उनै इन्स्पेक्टर थिए ।
“लौ हेर ! एक छिन अघिमत्रै कौशीमा बसेर मिठामिठा तराना खेलााउँदै थिएँ मनमा । अहिल्यै आफ्नै जिल्लाभित्र के के पो भैसकेछ ! दै वसंयोग या आकस्मिकता भनेको सायद यही होला !” दिमाग उसै तरङ्गित भयो ।
डिएसपी हिंडेकै दिन यत्रो घटना किन हुनु परेको ? मनमनै भाडास पोख्तै पनि थएँ म ! “लाश उठाएर हस्पिटल पठाउनु र ककसले आक्रमण गरेको हो, दोषीको तुरून्त खोजतलाश गर्नु । म पनि चाँडै आउँछु”  भने ।
‘ हजुर आउनु पर्दैन सर । म सबै काम राफसाफ गर्छु । बसमालिक, बजारका बासिन्दा र चालकसँग बार्ता हुँदैछ’  इन्स्पेक्टर विश्वासको स्वरमा भनिरहेका थिए । तुरुन्तै लाश उठाएर बाटो खुलाउनेमा आश्वासन दिलाइरहेका थिए । आखिर सवारी दुर्घटनाको व्यवस्थापन गर्ने काम त प्रहरीकै न थियो ! त्यसैले मैले पनि उनैको भर गरेर त्यतातर्फ जान ढिलाई गरिरहेको थिएँ । डिएसपी कुर्मी अत्यन्त चुस्तदुरूस्त अफिसर भएपनि इन्स्पेक्टरको व्यक्तिगत स्वभाव र क्षमताबारे अनभिज्ञ थिएँ म । त्यसैले अन्योलमै ओल्कोल्टे गर्दै थिएँ । समय बित्दै १०, ११ अनि १२ बज्यो । उनी जाम खुल्दैछ, अव खुली नै हाल्यो, बार्ता टुङ्गोमा पुग्नै लाग्यो आदि इत्यादि खवर दिंदै थिए । 
रातको १ बजेसम्म पनि चक्काजाम नखुलेपछि केश जटिल बन्ने अनुमान गरें मैले । दारुवाल उत्ताउला बस यात्रु, गाडीचालक, खलाासी र हुल्याहा लोकल ठिटाहरुले दङ्गाफसाद मच्चाउने संभवना टड्कारो देखियो । थुप्रै यात्रु अलपत्र पर्ने र गुण्डा अपराधी तत्व जम्मा भएर सरसामान लुट्ने गाडीमा आगजनी गर्ने डर पनि उत्तिकै बढ्यो । हडबडीमै चालक शुकदेव भाईलाई बोलाएर आफु चढ्ने निसान कम्पनीको पिकअपभरी गार्डहरु लिएर त्यतै लागें । पूर्व खण्डतिर काठमाडौं र तराईबाट आएका हजारौं गाडीको लाइन रहेछन् । घटनास्थलदेखि तीन किलोमिटर ओरै थर्पुमा गाडी छोडेर पैदल गएँ । बाटैभरी अव्यवस्थित तेर्सिएका हजारौ गाडीको लाइन काटेर पैदल जानुपर्दा हदै झञ्झट आइलग्यो । तीन घण्टा हिंडेपछि उज्यालो हुनैलाग्दा बल्लतल्ल खैरेनीटार पुगियो ।
घटनास्थल पुग्दा यात्रु, बस ड्राइभर र मजदूरको बीसौं हजारको संख्याले खैरेनीटारको चोक चौतारा टनाटन भरिएका रहेछन् । हाइस्कूलको परिस त झन् यात्रुको शरणार्थी शिविर जस्तै बनेछ । बालबच्चा र बुढाबुढी लिएका यात्रुहरु टनाटन रहेछन् । बीच बजारकै सडक माझ लम्पसार परेको लाश हेर्दा घन या कुनै धारिलो हतियारले खप्पर फुटएर फक्लक्क दुई फ्याक लगाए झैं देखिन्थ्यो । टाउको छेउमै त्यत्रो परिमाणको गिदीको थुप्रो लागेकोमा आश्चर्यमा परें । नजिकैका दोकान, होटल र भट्टीतिर पसेर घटनाबारे बुझियो । वारदातको छेउपुच्छर कसैले जानकारी दिएन । गाडी अघि बढाउनै लागेका बेला पछाडि भएको घटना भएकोले आफुले नदेखेको बयान दिए त्यो बसका ड्राइभरले । हुल्याहा केटाहरुले खलासीलाई बसबाट तल खासालेकै बेला बस अघि  बढाउँदा  चक्कामुनि  टाउको  परेको  भन्दै थिए कोही चाहिं । सबै अन्दाजकै भरमा हल्ला गरिरहेका थिए । 
घटनाको समय छिप्पिंदै जाँदा विवाद लम्बिंदै गइरहेको थियो । बेलुकैदेखि जाममा परेर वाक्कदिक्क भएका भोका यात्रु र आतङ्कित बजारवासी मलाई देख्दै लुँडो लागेर ‘तुरून्त चक्काजाम खोलिदेऊ’ भन्न थाले ।
धेरैजसो यातायात मजदूर र ड्राइभरसमेत रातभर मादक पदार्थ सेवन गरेर भिल्लु बनिसकेका रहेछन् । कतिपय यात्रुको हालत पनि उस्तै थियो । कोहीभने ससाना समूहमा बाँडिएर ‘मजदूरको रगतमाथि होली खेल्न पाइन्न’ ‘हत्यारालाई फाासी देऊ’ भन्दै चर्का नारा उरालेर वतावरण तताउन थाले । सम्झाउँदा कुरा सुन्ने र सम्झिने अवस्थामा कोही देखिएनन् ।
बीचबजारको पसलमा पीसीओ पनि राखेका रहेछन् । जाममा फसेका यात्रुहरु रातिदेखि नै घरपरिवरलाई फोन गर्न धुइरो लागेका । त्यसदिन देवघाट जाने कार्यक्रम तय भएकाले आउन सक्दिन भनेर मैले पनि त्यही पिसिओबाट सभामुख रामचन्द्र पौडेललाई फोन गरें । मलाई फोनको लाइनमा देख्ने बित्तिकै ‘लाश दबाउनु, हत्यारालाई बचाउनु भनेर सीडीओलाई मन्त्रीको फोन आयो’ भन्ने हल्ला चलाउन थाले । हल्ला शुरु गर्ने बाग्लुङ जाने बसबाट ओर्लिएका बूढा मान्छे थिए । उनले किन त्यो छुल्याइ गरे, थाहा हुन सकेन । हल्ला एक कान दुई कान हुँदै मैदानसम्म छताछुल्ल भयो । अनि त भीडको आक्रोशलाई केले थेग्ने ? पोखरातिरबाट आएका उत्ताउला मजदूरहरुले बाजेको पसल र टेलिफोन बुथमा तोडफोड गरेछन् । मोटरसाइकलमा आगो लगाइदिएछन् । हुँदाहुँदै बजारको ओल्लोपलो छेउकुनातिर यातायात चालु गर्ने र बन्द गर्नेवीच सानातिना झडप र दङ्गा–फसादका घटना पनि हुन थाले ।
टाढाटाढाका गाउँदेखि किशोरकिशोरी तथा उमेरदार महिलाहरु बच्चाबच्ची च्यापेर रमिता हेर्न त्यसै भीडमा थपिए । लौरा टेकेका बूढाबूढी र बालबच्चासमेत तमाशे बनेर भीडमा हेलिए । तन्नेरीतरूनीसमेत सिंगारपटार गरेर आइपुगे । सेती किनार आसपासका बोटे दरै चेलीबेटीहरु त चक्काजामलाई जात्रा सम्झिएर हान र तीनपानेका सुराही पुंग घैंटा ग्यालेन र उसिनेका अण्डा, माछाका सिद्राले भरिएका थुन्से बेकेर भीडको छेउभित्ता र कुनाहुँदो लिनदिनको मेसो मिलाउन थलेछन् । हुँदाहुँदै खैरेनीटारको ओल्लो कुनादेखि पल्लो छेउसम्म दुई लाखभन्दा बढी नै मान्छे भरिए । बन्द हड्तालको प्रत्यक्ष अनुभव नगरेका गाउँलेहरुलाई निकै रमिता भएछ त्यो चक्काजामको तमासे खेल । अव लाठीचार्ज हवाइ फायर आदि कारबाहीले जाम खुलाउन झन्झन अप्ठ्यारो पर्दै गयो ।
हाइस्कूलमा रहेको हाम्रो कमाण्डपोष्ट त माउरीको चाको जस्तै भरिभरउ भयो । महासंकटमा परियो । प्रहरी प्रयोग गरेर बल प्रयो गरेर बाटो खुलाउन असम्भव थियो । लाठीचार्ज र हवाई फायर घातक हुन सक्थ्यो । 
दिनभरीजसो त्यत्तिकै बिलखबन्दमा परियो । लाठी गोलीको बलमा सरकारी दमन हुने आशङ्काले स्थानीय नेताभने बिहानैदेखि दुला पसिसकेका थिए । उता समस्या सल्टाउन पोखराबाट पर्याप्त अफिसर र जवानसहित आएका एसएसपी साहेब ढुङ्गो लागेर रगताम्मे पुर्पुरो छाम्दै बेलचौताराको चौकीतिर नाम्सिए । कसले ढुङ्गा प्रहार गरेको भन्ने पत्तै लगाउन सकेन प्रहरीले । बेला बेला उत्तेजित हुँदै चर्का नार लगाउने भीडलाई सम्झाइबुझाइ गरेर तनाव शान्त पार्न थुप्रै इन्स्पेक्टर र जुनीयर अफिसरहरु खटिरहेका थिए । स्थिति अझै गन्जागोल भएपछि भरतपुर तालिम केन्द्रका थप प्रहरी आएर छ्यापछ्याप्ती भए । खैरेनीटारभरी पुलिसैपुलिस । बेला बेला चर्का नारा अनि जुलुश पनि दुरुम पानीको करामत देखाउँदै गर्दथ्यो ।
दिनभरि हजारौ आक्रोशित यात्रु र मजदूरको भीडबाट सकुशल किनारा लाग्न सकेकामा भने आफैलाई भाग्यमानी सम्झिरहेको थिएँ । स्यावासी पनि दिंदै थिएँ ।
 

प्रकाशित : कार्तिक २७, २०७४ १२:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बूढीगण्डकी आयोजना बनाउन चिनियाँ कम्पनीसँग भएको सम्झौता मन्त्रिपरिषदद्वारा खारेज

कान्तिपुर संवाददाता

काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ । बैठकले गत जेठमा भएको उक्त सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सो सम्झौता खारेज भएको जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ ।

बैठकले गत जेठमा भएको उक्त सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सो सम्झौता खारेज भएको जानकारी दिए।

'अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ,' उपप्रधानमन्त्री थापाले भने।

कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना लगानीसमेत जुटाउने शर्तमा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो।

तत्कालीन संसद्को सार्वजनिक लेखा समिति र कृषि तथा जलस्रोत समितिले सम्झौता पारदर्शी नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो। नेपालमा नै असफल भएको र कालोसूचीमा रहेको चिनियाँ कम्पनीलाई बूढीगण्डकी दिइएको भन्दै चर्को आलोचना भएको थियो। आयोजना अगाडि बढाउनका लागि भन्दै चिनियाँ कम्पनीले आयोजनास्थलमा प्राविधिक तयारीको काम गरिरहेको छ।

यस्तै लगानीका विभिन्न ढाँचा र रकम जुटाउने बारेमा समेत छलफल भइरहेको जनाइएको छ। सरकारले सो आयोजना निर्माणका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करमार्फत हालसम्म रु १२ अर्ब रकम जुटाइसकेको छ ।

चालू आवमा सो आयोजनाका लागि सरकारले रु १० अर्ब विनियोजन गरेको छ। तर स्थानीयवासीले भने मुआब्जा वितरणमा ढिलाइ भइरहेको भन्दै आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक २७, २०७४ १२:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT