हीरा म्याडम हीरा नै रहिछिन्

नेपाली श्रमिकहरुको पक्षमा गरेको कामको प्रतिफल थियो, उनको भव्य बिदाई
मेघराज सापकोटा

यूएई — ‘भिजिट भिसामा ल्याएर १९ जना नेपालीहरुलाई अलपत्र पार्ने एजेन्टलाई कारबाही गर्न सफारिस दिनुपर्‍याे म्याडम । कम्तीमा नेपाल गएर पनि ती पीडितहरुले न्यायको ढोका ढक्ढक्याउने आधार बनोस्’ मैले यादवलाई अनुरोध गरेको थिएँ । धेरैदिन पछि पीडितहरु नेपाल पुगिसके पछि यादवले पीडितलाई उक्त पत्र उपलब्ध गराईन् । हामीलाई प्राप्त स्रोतहरुले हामीलाई भनिरहेका थिए, कि त्यो पत्र लेख्न पनि यादवलाई दूतावास भित्रै पापड बेल्नु परेको थियो ।

कुरा गत शुक्रबारको हो । नेपाली दूतावास अबुधावीको सभा हल । दिनको साढे तीन बजेको हुँदो हो । दूतावास परिसर भित्र अरुबेला भन्दा भिन्नै किसिमको कार्यक्रमको आयोजना हुँदै थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ, झापाली समाज, नेपाली समाज, सोसल क्लब, अन्तराष्ट्रिय नेपाली कलाकार समाजलगायत ३० भन्दा बढी नेपाली संघसंस्थाका प्रतिनिधि थिए ।

त्यस दिन नेपाली दूतावास अबुधाबीका एक कर्मचारीलाई युएईबाट बिदाई गरिंदै थियो । कार्यक्रम संचालक भरत शिवाकोटीले आयोजकको नाम पढ्दै गए । ३० वटा भन्दा बढी संस्थाको नाम पढेपछि उनले भने अरु केही संस्थाको प्रतिनिधिहरु पनि आउँदै हुनुहुन्छ ।

दूतावासको भाषामा सधैं 'पीत पत्रकारिता' गर्ने युएईका नेपाली पत्रकारहरु अघिल्लो पंक्तिमा बसेका थिए । एक जना मित्रले खुसुक्क भनिहाले, ‘आज पीत पत्रकारहरु नै अगाडि ?’ मित्रले केही महिना अघि पत्रकारले दूतावासको गलत क्रियाकलापको भण्डाफोर गरेको बिषयमा पत्रकारले पीत पत्रकारिता गरेको भन्दै दूतावासले निकालेको बिज्ञप्तीप्रति ब्यङ्ग्य गरेका थिए । मैले भने, ‘हाम्रो लागि दूतावास कुनै रङको हुन्न, भलै दूतावासको आँखामा हामी पहेलपुरी (पीत) नै किन नहौ ! दूतावासले हामीलाई कुन रङको देख्छ उसैको कुरा हो ।’

यति बिघ्न संस्थाहरु ताछाड मछाड गरेर खादा र प्रशंसा पत्र कसैलाई ओढाउँदै थिए भने तिनी थिईन् श्रम सहचारी हीरा कुमारी यादव । बिदाईका शुभकामना सहित कसैलाई बिदाइ गर्ने यि संस्थाहरु आफ्नो प्रशंसा पत्रमा के कस्ता शब्दहरु लेखिएका छन् भनेर होडबाजी गर्दै पढेर सुनाउँथे । पत्रकार निमेष गिरीलाई सोधें, यसअघि यस्तो कार्यक्रमको आयोजना हुन्थेन ? उनले भने, हुन्थ्यो । तर आफ्नै जिल्लाका संघसंस्थाहरुका दश बीस जना र अन्य आसेपासेहरु आउँथे र बिदाइ गरेर जान्थे । युएईको नेपाली दूतावासको इतिहासमा पहिलो पल्ट होला यसरी ३३ वटा भन्दा बढी संस्थाहरुले बिदाइको कार्यक्रम आयोजना गरेको, उनले भने । किन त ? यादवलाई बिदाइका हात हल्लाउन, उनको उत्तरोत्तर प्रगतिको कामना गर्न युएई भरी छरिएका संघसंस्थाहरु किन आए त ? मेरो मनमा प्रश्न उब्जियो ।

पत्रकार उमाकान्त पाण्डेसंग भिजिट भिसाको नाममा मानव तस्करी गर्ने साजन भनिने प्रेम पाण्डेलाई कारबाही गर्ने बारेमा उनले खेलेको भूमिकाको बिषयमा मेरो कुरा भएको थियो । उनीभन्दा सिनियरहरु हुँदाहुँदै पनि यादवले दूतावासमा बसेर पाण्डेलाई के भनेर थर्काइन् र १९ जना पीडित नेपालीलाई सकुशल नेपाल फर्काउन सफल भईन् भन्ने बारेमा उनको भूमिकाको प्रशंसा गर्दै पत्रकार पाण्डेले मलाई भनेका थिए, ‘हीरा म्याडम नभएको भए शायद यो केस यति सजिलै सल्टिने थिएन ।’ मैले भने, ‘हीरा हुनु र नहुनुले के फरक पार्छ र ? तस्कर हो भन्ने प्रमाण पुगेपछि संस्थाले कारबाही गरिहाल्छ नि ।’ दूतावास त एउटा संस्था हो । पत्रकार पाण्डेले भने, ‘सिस्टमले चलेको देशमा चाहिं हो । तर, हाम्रो जस्तो देशमा हैन रहेछ । ब्यक्तिको भूमिकाले पनि नेपालमा फरक पार्छ । यो केसमा पनि हीरा म्याडमको भूमिकाको जतl प्रशंसा गर्नुस् कम हुन्छ ।’

पत्रकार लक्ष्मण खनालले एक दिन फोन गरे र अजमान आउन भने । म अजमानबाट झण्डै ७० किलोमिटर टाढा भएकोले जान सकिन । नेपाली दूतावासबाट हीरा म्याडमको टोली नेपालबाट भिजिट भिसामा अजमान ल्याएर अलपत्र पारिएका नेपाली चेलीहरुको क्याम्पको निरीक्षणमा थियो । जहाँबाट नेपाली चेलीलाई खाडीका धेरै मुलुकहरुमा सप्लाई गरिन्छ । सिधा अर्थमा उक्त जक्सनबाट नेपाली चेलीहरु बेचिन्छन् । सोही ठाउँको निरीक्षण पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पनि गरेका थिए । नेपालका धेरै उच्च पदस्थ कर्मचारी र प्रहरी प्रशासनका प्रमुखले पनि उक्त क्षेत्र देखेका छन् । तरपनि नेपालबाट नेपाली चेलीहरु ल्याउने र बेच्ने काम जारी नै छ ।

यादवको नेतृत्वमा गएको दूतावासको टोलीले १५ वटा भन्दा बढी पासपोर्ट जफत गर्‍यो, केहीलाई उद्धार गर्‍यो । उनीहरुलाई ल्याउने एजेन्टलाई दूतावास आउन भन्यो । खनाल सम्झिन्छन, ‘हीरा म्याडम नभएको भए त्यो काम पनि सजिलो थिएन ।' किन त ? हीराको के कुरा भयो र ? दूतावासले गर्ने हो नि काम त । खनालले भने, 'एजेन्ट सितिमितl हल्लिने, डराउने र भाग्ने हुँदा रहेनछन् । जब्बर हुँदा रहेछन् । ती एजेन्ट भन्दा पनि जब्बर चाहिं हीरा म्याडम रहिछन् ।'

‘भिजिट भिसामा ल्याएर १९ जना नेपालीहरुलाई अलपत्र पार्ने एजेन्टलाई कारबाही गर्न सफारिस दिनुपर्यो म्याडम । कम्तीमा नेपाल गएर पनि ती पीडितहरुले न्यायको ढोका ढक्ढक्याउने आधार बनोस्’ मैले यादवलाई अनुरोध गरेको थिएँ । धेरैदिन पछि पीडितहरु नेपाल पुगिसके पछि यादवले पीडितलाई उक्त पत्र उपलब्ध गराईन् । हामीलाई प्राप्त स्रोतहरुले हामीलाई भनिरहेका थिए, कि त्यो पत्र लेख्न पनि यादवलाई दूतावास भित्रै पापड पेल्नु परेको थियो ।

कान्तिपुरमा एउटा समाचार छापियो । शारजाहको एउटा सेक्युरिटी कम्पनीमा केही नेपाली कामदारहरु अलपत्र परेका छन् भनेर । केही दिन अघि नै दूतावासले यो खबर पाएको थियो । उद्धार र सहयोगको लागि अनुरोध पुगेको थियो । पीडितहरुले कान्तिपुरमा भिडियो नै पठाएर उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गर्दा पनि दूतावास खासै तातेको थिएन । एनआरएनको सहयोगमा परराष्ट्रले उक्त केसको बारेमा दूतावासमा सोधिखोजी गर्न थालेको थियो । अर्को दिन परराष्ट्रको पत्र आउनुअघि नै दूतावासको टोली बिहानै सोही क्याम्पमा टुप्लुक्क हाजिर भयो । त्यो टोलीमा पनि हीरा यादव नै थिईन् । यादवले पीडित कामदार, एजेन्ट र कम्पनीको मालिकसँग कुरा गरिन् । समयले नपुगेर त्यो दिन दुबईमै बास बसिन् र भोलिपल्ट सहमति गराएर अबुधाबी फर्किन् । शतप्रतिशत न्याय नपाए पनि कामदारले काम गरेको दिनसम्मको तलब भने पाए ।

उनलाई मैले सोधेको थिएँ, ‘यति काम गर्नलाई तपाईंहरु किन ढिला गर्नु हुन्छ ? श्रमिकहरुको सहयोग गर्न किन माथिकै आदेश र निर्देशन कुर्नु पर्ने ?’ उनले धेरै त खोलिनन् तर यति भनिन् कि, ‘मेघराज जी मैले पनि दूतावासमा अनुमति लिनु पर्छ । उक्त दिनदेखि मलाई के लाग्न थालेको छ भने यो देशमा हरेक ठाउँमा युवा पक्तिको खाँचो छ । उनीहरुमा जोश जाँगर छ । ईच्छाशक्ति छ । तर, कुरा ‘तर’ ले नै बिगारेको छ । हाकिमहरु डेड एक्स्पायर भएको औषधी जस्ता छन्, जति खाए पनि कामै नगर्ने । त्यही औषधीलाई सिरानी हालेर सुत्नु पर्ने नयाँ पिंढीहरु !

हाउस मेडको समस्या चाही के हो ? मैले सोधें । नेपाल र युएई बीच दुई पक्षीय श्रम सम्झौताको बिषयमा कुरा भई रहेको छ । तर, बर्षौंदेखि नै कोही युएईमा काम गरिरहेका छन्, उनीहरु खुशी र सुरक्षित छन् भने श्रम स्वीकृति दिन के को आपत्ति र ? उनले भनिन्, ‘बरु तपाईं कलम चलाउनेहरुले अझै झक्झक्याउनु पर्‍यो ।’

खादा र प्रशंसा पत्रले सम्मान गरे पछि कार्यक्रमको अन्त्यमा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याललाई एउटा प्रश्न तेर्स्याएँ, ‘नेपाल सरकारको एउटा कर्मचारीले उसको आफ्नो कर्तब्य पुरा गरेको हो । के ठुलो काम गरिन् र सम्मान गर्नुपर्‍यो ? नेपालको भ्रष्ट कर्मचारीतन्त्रमा उनी चाही दुधले नुहाएकी हुन् भन्ने ग्यारेन्टी के छ ?’ बस्यालले भने, ‘पछिल्ला दिनहरुमा उहाँका कामहरु साँच्ची नै राम्रा थिए । राम्रो कामको प्रशंसा गरेका हौं । हामी अनुमानको भरमा कोही खराब छ भन्दैनौं ।’

यिनै कारणहरुले नै हो यी ३३ वटा संस्थाहरुले यादवलाई खादा ओढाएका । कामको प्रशंसा गरे र नबिर्सने गरी यादवलाई बिदाई गरे । उनको स्थानमा युएई आउने अर्को कर्मचारी पनि अर्को हीरा नै चाहिएको छ । आखिर हीरा म्याडम हीरा नै रहिछिन् ।

प्रकाशित : कार्तिक २७, २०७४ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोरङ ३ मा फरक विशेषताका उम्मेदवार भिड्दै

माधव घिमिरे, विनोद भण्डारी

बेलबारी (मोरङ) — एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका उम्मेदवार बनेका मेडिकल कलेज सञ्चालक सुनील शर्माबीच मोरङ ३ मा चर्को प्रतिस्पर्धा देखिएको छ । तेह्रथुम स्थायी घर भएका ढकाल र ‘नव राजनीतिज्ञ’ शर्मा यस क्षेत्रमा उम्मेदवार भएपछि प्रतिस्पर्धाबारे चर्चा चलेको हो । दुवै आ–आफ्ना चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका उम्मेदवार बनेका मेडिकल कलेज सञ्चालक सुनील शर्माबीच मोरङ ३ मा चर्को प्रतिस्पर्धा देखिएको छ ।

तेह्रथुम स्थायी घर भएका ढकाल र ‘नव राजनीतिज्ञ’ शर्मा यस क्षेत्रमा उम्मेदवार भएपछि प्रतिस्पर्धाबारे चर्चा चलेको हो । दुवै आ–आफ्ना चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

बेग्लाबेग्लै विशेषता भएका दुवै उम्मेदवारका कारण यो क्षेत्रमा राजनीतिक वातावरण तातेको छ । दुवै एकअर्कालाई आफूभन्दा फरक भन्दै मतदातामाझ पुगेर आकर्षित गरिरहेका छन् । ढकालले आफ्ना प्रतिस्पर्धी शर्मालाई ‘गैरराजनीतिक व्यक्तित्व’ भनेर टिप्पणी गर्ने गरेका छन् । यस्तै शर्माले ‘पाहुना’ उम्मेदवार भनेर ढकालप्रति कटाक्ष गर्ने गरेका छन् ।

२०७२ देखि संसदको अवधि सकिंदासम्म एमाले संसदीय दलका प्रमुख सचेतक रहेका ढकाल पार्टीमा पोलिटब्युरो सदस्य, संगठन विभाग उपप्रमुख पनि हुन् । उनी समानुपातिक पूर्व सांसद हुन् ।

दुवै उम्मेदवारका चुनावी मुद्दा पनि फरक छन् । ढकालले संविधान कार्यान्वयन नै आफ्नो र पार्टीको मुख्य मुद्दा भएको बताइरहेका छन् । ‘बहुमत नपुग्दा अस्थिर सरकार बन्ने गरेको र यसैका कारण विकास प्रक्रिया अवरुद्ध हुन पुगेको हाम्रो विगत छ,’ उनले भने, ‘अब वाम गठबन्धनको बहुमतको सरकार बन्ने भएकाले स्थिर र दीगो सरकार बन्छ र विकासका काम निर्वाध रुपमा अघि बढ्छ ।’ दुई तिहाइ ल्याएर ५ वर्षसम्म निरन्तर काम गर्ने दाबी गर्दै उनले यही कारण गठबन्धनको औचित्य मतदातामाझ पुर्‍याइरहेको बताए । यसबाहेक विकासका स्थानीय मुद्दा पनि प्राथमिकतामा रहेको उनको भनाइ छ ।

शर्माले भने क्षेत्रवासीलाई रोजगारी, भरपर्दो निःशुल्क स्वास्थ्य सेवा, विपन्नलाई निःशुल्क चिकित्साशास्त्र अध्ययनको सुविधा दिएको र यसलाई निरन्तरता दिने जस्ता आकर्षक आश्वासन मतदातामाझ पुर्‍याइरहेका छन् । ‘निर्वाचनमा जित हार जे भए पनि यो क्षेत्रको तीन स्थानमा अस्पताल खोलेर भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने योजना छ’ शर्माले भने । उनी नोवेल मेडिकल कलेजका सञ्चालक हुन् ।

ढकाल मोरङ ३ वाम गठबन्धनको सबैभन्दा बढी सुरक्षित स्थल भएकाले आफु जित्नेमा ढुक्क भएको बताउँछन् । यो क्षेत्रका स्थानीय निर्वाचनको मतलाई केलाउँदा कांग्रेसभन्दा वाम गठबन्धन करिब २१ हजारले अघि छ । शर्मा आपूmले यसक्षेत्रमा एक दशकदेखि पुर्‍याएको सामाजिक योगदानका कारण मतदाताले आफुलाई माया गर्नेमा ढुक्क रहेको बताउँछन् ।

यसक्षेत्रका हजारौं बासिन्दालाई सहज र निःशुल्क स्वास्थ्य सेवा, करिब ५ सयलाई रोजगारी र २ सय विपन्न, अल्पसंख्यक र दलितलाई निःशुल्क चिकित्साशास्त्र अध्ययन गर्दै आएकाले मतदाताले आफूलाई साथ र सहयोग गर्ने शर्माको दाबी छ । ‘मैले आफ्नो क्षेत्रका मतदाताको सेवामात्र होइन, सडकजस्ता पूर्वाधारमा पनि काम गर्दै आएको छु,’ उनले भने, ‘त्यसैले भाषणमात्र गर्नेलाई भन्दा बढी सहयोग पक्कै पाउनेछु ।’

रैथाने नेता योग्य र आकांक्षी हुँदाहुँदै ‘पाहुना’ उम्मेदवार ल्याएको भनेर असन्तुष्ट बनेका एमालेका स्थानीय नेता–कार्यकर्ताले विरोध पनि गरेका थिए । यही कारण एमालेका भेषराज रिजालले प्रतिनिधिसभा र डिबी राईले प्रदेशसभामा बागी उम्मेदवारी दिएका थिए । पछि उनीहरुले उम्मेदवारी फिर्ता लिए । ‘केही आन्तरिक समस्या थियो,’ ढकालले भने, ‘तर गहन छलफलपछि सबै समस्या समाधान भएको छ, अब हामी एक ढिक्का भएका छौं ।’

साविकको क्षेत्र नम्बर २, ३ र ८ लाई मिलाएर अहिले बनेको यो क्षेत्र २०४८ सालदेखि दोस्रो संविधानसभा निर्वाचनसम्म एमालेले जित्दै आएको क्षेत्र हो । यसअघि भरतमोहन अधिकारी, लालबाबु पण्डित र गोपी अछामीले संसद र संविधानसभामा प्रतिनिधित्व गरिसकेका छन् । यसैगरी पहिलो संविधानसभा निर्वाचनमा माओवादीका लालबहादुर मगरले एमालेका अधिकारीलाई हराउँदै बिजयी बनेका थिए ।

पूर्वपश्चिम राजमार्गसमेत पर्ने यो क्षेत्र विकासमा भने पछि नै छ । ‘धेरै बिरालाले मुसा मार्दैन भनेझै भयो विगतमा यो क्षेत्र’ बयरवन रमाइलोका एमाले अगुवा कार्यकर्ता विष्णु पौडेलले भने, ‘अबचाहिँ विकासका काम नगरे झन् पछि पर्ने अवस्था छ, त्यसैले अबका प्रतिनिधिले यसमा गम्भीर हुनैपर्छ ।’

उनका अनुसार भित्री क्षेत्रमा सडक, सिंचाई, खानेपानीको सहज सुविधा छैन । चिसाङ र डाँस खोलाको कटान अनि डुबानबाट गाउँले बर्सेनि पीडित बन्नुपरेको उनले बताए । यसैगरी अव्यवस्थित सुकुम्बासी समस्या र जग्गामा द्वैध स्वामित्वको समस्या पनि यहाँको पुरानै हो ।

प्रकाशित : कार्तिक २७, २०७४ १४:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT