कति सुन्नु स्वदेश बस्नेको व्यङ्ग्य ?

नवीन रायमाझी

काठमाडौं — हामी बिदेशमा बस्नेहरुले बिनाकारण स्वदेशमा बस्नेहरुको व्यङ्ग्यबाण किन सुन्नु पर्ने हो मैले बुझ्न सकेको छैन । केहि इष्टमित्रहरुले समय–समयमा भनेको र मैले खासै बुझ्न नसकेको कुराको प्रसंग यहाँ राख्ने प्रयास गरेको छु । यदि मलाई जस्तै अरुले पनि यस्तो प्रश्न झेल्नु परेको भए, म मात्रै होइन रहेछु भन्ने र कसैलाई नपरेको भए यो संसारमा एउटा म मात्र अज्ञानी रहेछु भनेर चित्त बुझाउनु पर्ला ।

कोहि–कोहि व्यक्तिले मलाई नेपालमै अमेरिका छ भनिरहन्छन्, यो मैले बुझ्न नसकेको पहिलो कुरा हो । भौतिक रुपमा अमेरिका नेपालमा हुनै सक्दैन । यताको भौतिक विकासको तुलनामा नेपालको भौतिक बिकाससंग तुलना हुनै सक्दैन । मेरो अनुमानमा नेपाल मै अमेरिका छ भनेको आर्थिक उपार्जनमा म तिमीहरु भन्दा अगाडी छु अथवा मैले तिमि भन्दा बढि पैसा कमाएको छु भनेको होला भनेर बुझ्छु । यदि भनाईको तात्पर्य यही हो भने यो कुरा शतप्रतिशत ठिक हो । अमेरिकामा नेपालमा जस्तो आयको स्रोत नदेखाई वा कर नतिरी बचुँला भनेर नसोचे पनि हुन्छ । देखिने गरी कुनै पेशा वा व्यवसाय केहि नगर्नेहरुको पनि उच्च जीवनस्तर छ, मोटर, घर, गहना किन्न पनि कुनै स्रोत देखाउनु पर्दैन । यदि पैसा छ भने जहिले, जे किन्दा पनि हुन्छ । यस्तो अमेरिकामा सम्भव छैन, आय स्रोत देखाउन नसक्ने हो भने त्यो पैसा र कागजको टुक्रामा केहि फरक हुँदैन । यसको मतलब नेपालमा आफ्नो व्यवसाय गरेर आर्थिक उपार्जन गर्नेहरु सबैले अनुचित तरिका मात्र अपनाएका छन् भने अर्थ नलागोस् । 

मैले बुझ्न नसकेको अर्को कुरा बिना प्रसङ्ग म आफ्नै देशमा बस्छु, मलाई अमेरिका आउने कुनै इच्छा छैन भनेर बारम्बार किन भनि रहन्छन् ? मेरो अल्पबुद्धिले देखेको कुनै इच्छा नै नभएको ठाउँमा आउने र नआउने कुरालाई लिएर किन तनाव लिनु ? कतै अनेकौं प्रयास गर्दा पनि असफल भएर मलाई आउने इच्छा नै छैन भनेर चित्त बुझाएका त होइनन् ? जसले जुन प्रकारले सोचे पनि एउटा सर्वसाधारण नेपालीलाई केवल इच्छा मात्र हुँदैमा अमेरिका आउन सम्भव छैन । त्यसका लागि विभिन्न चरणका प्रक्रियाहरु छन् र मलाई लाग्छ प्रयास गर्नेहरु मध्ये निकै कम व्यक्तिहरु मात्र अमेरिका आउन सफल हुन्छन् । यसको मतलब नेपालमा बस्नेहरु सबै निम्छरो र अमेरिका आउनेहरु सबै बिशेष व्यक्ति हुन् भन्ने अर्थ नलागोस् । यता आएर पनि कुनै क्षमता नभएका र काम गर्न अल्छि गर्नेहरुको जिन्दगि नारक जस्तै छ । चोबिसै घण्टा बत्ति बाल्नु पर्ने र उडुस नै उडुस भएको कोठामा ढलको दुर्गन्ध सुँघेर जीवनयापन गर्नेहरु पनि प्रशस्तै छन् । 

त्यस्तै मैले बुझ्न नसकेको अर्को कुरा, तिमीहरु डलरमा कमाइ गर्छौ भन्ने हो । जुन देशमा रहेर काम गरिन्छ, कमाई पनि त्यही देशकै मुद्रामा हुनु भनेको सामान्य कुरा हो । यदि कसैले यता एक सय डलर कमाई भएको कुरालाई प्रति डलर एक सय तीन रुपियाँको हिसाबले दस हजार तीन सय रुपियाँ सोच्छ भने त्यो जस्तो ठुलो मुर्खतापूर्ण तर्क अर्को कुनै हुनै सक्दैन । यदि कमाई डलरमा हुन्छ भने खर्च पनि त डलरमै हुन्छ, त्यस्तो सानो कुरा पनि सोच्न नसक्नु वा सोचेर पनि बुझ पचाएको होकी त्यो मेरो दिमागले भ्याउन सकेको छैन । यसको साथै यता बस्ने व्यक्तिले पनि कुनै बस्तु र सेवाको शुल्क तिर्दा नेपाली रुपियाँमा विनिमय गरेर अहो यति महँगो भन्नु उचित हो जस्तो लाग्दैन । 

यसको साथै यताका महिलाहरुको बारेमा सोच्ने तरिकालाई लिएर पनि अचम्म लाग्छ । धेरैको सोचाइमा विमानस्थलमा ओर्लिने बितिकै लाइन लागेर महिलाहरुले अंकमाल गर्न आउँछन् भन्ने छ । धेरैले त्यस्तै अंकमाल पनि गरेका होलान् तर अंग्रेजी सिनेमामा देखाएको जस्तो नायक र नायिकाको प्रेमालाप यता बाटो बाटो मै हुन्छ भनेर कसैले विचार गरेको छ भने त्यो मुर्ख प्राणी हो भन्ने मेरो बुझाइ छ । महिलासँगको यौन उत्पिडनको मामिलामा यँहा को कानुन निकै कडा छ, यदी कुनै कारण यस्तो घटनामा परियो भने त्यसको जिन्दगी नर्क हुन्छ । यस्तो मुद्दामा दोषी देखिएर सजाय भोग्नु पर्यो भने दोषीले बरु आफ्नो मृत्यु रोज्ला, उसले जिन्दगीमा त्यति निषेधको सामना गर्नु पर्छ । 

यि माथी लेखिएका सबै मैले बुझ्न नसकेको कुरा मात्र हो, यसमा बुझ्न सकेका महानुभावहरुले रोइ कराई गर्नुपर्ने जरुरी छैन । यदि कसैले मैले जस्तै बुझ्न नसकेको रहेछ भने म आफुलाई पनि त्यही कोटिमा राख्न चाहन्छु । 

@twitter #naviinr

प्रकाशित : मंसिर १४, २०७४ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

ट्रकसँग ठोक्किएर त्रिशुलीमा खसेकाे बसमा सवार ८ महिने शिशु बाँचे, आमा बेपत्ता

फिस्लिङ बस दुर्घटना

भरतपुर — बसमा सवार ८ जनाको मृत्यु भयो । २२ जना घाइते भए । दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन् । अर्घखाँचीको सन्धीखर्क–१ निवासी आमा मनिषा थापा भने त्रिशुलीमा बेपत्ता छिन् । शिशुको आईसियूमा उपचार भइरहको छ । शिशुको छाति र हातमा चोट लागेको छ । उपचारका लागि उद्धार गरी भरतपुर पुर्‍याइए लगत्तै पुरानो मेडिकल कलेजको इमरजेन्सीकक्षबाट शिशुलाई आईसियूमा सारिएको थियो ।

काठमाडौंबाट बुधबार बिहान ५:४० बजे अर्घखाँचीका लागी छुटेको लु२ख २९१ नम्बरको बस बेलुकी ५ बजे गन्तव्यमा पुग्नुपथ्र्यो । तर बिहान झण्डै साढे ९ बज्न लाग्दा चितवनको ईच्छाकामना गाउँपालीका–३, फिस्लिङमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकले ठक्कर दिएपछि त्रिशुलीमा खस्यो ।
बसमा सवार ८ जनाको मृत्यु भयो । २२ जना घाइते भए । दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन् । अर्घखाँचीको सन्धीखर्क–१ निवासी आमा मनिषा थापा भने त्रिशुलीमा बेपत्ता छिन् ।
शिशुको आईसियूमा उपचार भइरहको छ । शिशुको छाति र हातमा चोट लागेको छ । उपचारका लागि उद्धार गरी भरतपुर पुर्‍याइए लगत्तै पुरानो मेडिकल कलेजको इमरजेन्सीकक्षबाट शिशुलाई आईसियूमा सारिएको थियो ।
‘त्रिशुलीमा खसेको बसबाट उछिटिएर शिशु नदीको किनारमा लडिरहेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेका हुन्,’ एसपी थापाले भने, ‘बच्चाको आमा बेपत्ता छिन् । उनको खोजी भइरहेको छ ।’
भयानक दुर्घटनामा परेर पनि नवजात शिशु बाँचेको घटनाले अस्पतालका स्वास्थ्यकमीलाई समेत आश्चर्य चकित पारेको छ ।
शिशुका बाबु साउदी अरबमा रहेको बताइएको छ । शिशुका आफन्त सोभित समालले बस दुर्घटनामा शिशु बाँचेको बुधबार राति मात्र थाहा पाएको बताए । ‘बच्चाको अवस्था ठिक छ,’ उनले भने, ‘अहिले आईसियू कक्षमा उपचार जारी छ ।’ बच्चाको रेखदेख गर्न ठुलोबुवा र ठुलीआमा समेत अस्पताल आएका छन् ।

प्रकाशित : मंसिर १४, २०७४ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्