हाइटेक शिक्षाको कल्पना

Tek Raj Giri

प्रविधिको उच्चतम विकासको प्रचुर उपयोग गर्न सकिने आजको युगमा बालबालिकालाई सदियौँ पुरानो प्रविधिमा तयार पारिएका पाठ्यपुस्तक र प्रभावकारी शिक्षणकला सीप विकासको मौकाबाट विमुख शिक्षकहरुमा केन्द्रित सिकाइ प्रक्रियामा बालबालिकाहरु अडिरहेको देखिँदैन । एकाध जिल्लाका सीमित केही विद्यालयमा OLPC (One laptop per child) को प्रयोग अभ्यास गरिएको सुनिएको हो । यसै सेरोफेरोमा नयाँ शैलिको शिक्षाको कल्पना गर्नु युग सुहाउँदो हुनसक्छ । यसै सन्दर्भलाई सम्झिँदै शिक्षालाई प्रभावकारी बनाउन र विश्वजगतमा विकाउ जनशक्ति उत्पादन गर्ने तर्फ लैजानका लागि शिक्षाक्षेत्रमा सुधार ल्याउन हाइटेक शिक्षालाई वैकल्पिक सम्भावनाको रुपमा यहाँ चर्चा गर्ने धृष्टता यहाँ गरिएको छ ।सूचनाप्रविधि विज्ञहरुको मुख्य प्राविधिक संयोजनसँगै विशिष्ट शिक्षाविद्हरु परिचालन गरी विद्यार्थीहरुलाई सिकाईमुखी विषयवस्तुमा मात्रै एक्सेस भएको टचेवल डिभाइस को व्यवस्था गरी त्यसमा पाठ्यक्रम अनुसारका विषयबस्तु र अन्य शिक्षाप्रद सामग्रीहरु भर्ने र त्यसैबाट नियमित कक्षाहरु चलाउन सक्ने गरी तयार गर्न सकिन्छ । यसरी सिकाइका अत्यधिक सामग्री (तस्विर, चित्र, भिडियो, कथाचित्र, साथमा विषयबस्तुलाई पुष्ट्याई गर्ने परिचयात्मक सामग्री, परिभाषा र शब्दार्थलाई लिङ्कमा जोड्दै शिक्षक र बालबालिकालाई त्यसमा एकाकार गर्नसकेमा प्रभावकारी सिकाई र गुणात्मक शिक्षा प्राप्त हुने देखिन्छ ।

नेपाली शिक्षा जगतका उपलब्धिहरु शिक्षक केन्द्रित भइरहेको परिप्रेक्ष्यमा यही निर्भरतामा प्रभावकारी शिक्षाको रटान व्यवहारिकताकोअधिकतम उचाईमा पुग्ने देखिँदैन ।

प्रविधिको उच्चतम विकासको प्रचुर उपयोग गर्न सकिने आजको युगमा बालबालिकालाई सदियौँ पुरानो प्रविधिमा तयार पारिएका पाठ्यपुस्तक र प्रभावकारी शिक्षणकला सीप विकासको मौकाबाट विमुख शिक्षकहरुमा केन्द्रित सिकाइ प्रक्रियामा बालबालिकाहरु अडिरहेको देखिँदैन । प्रश्नोत्तरमा मात्र आधारित नभइ विद्यार्थीको सर्वाङ्गीण विकासलाई मूल्याङ्कनको दायरामा लाउने सोच अन्धकारभित्रको अप्राविधिक वस्तुस्थितिमा आधुनिकता झल्काउने आवरणीय सरकारी अभ्यासले कागजमा देखिएको विद्यार्थीहरुको सिकाई उपलब्धिलाई यथार्थपरक मान्ने आधार कमजोर देखिन्छ ।

यस प्रवृत्तिलाई सुधारको दायरामा ल्याउन नसकेसम्म नेपाली विद्यार्थीहरु, विशेषगरी सरकारी अनुदानमा सञ्चालन भइरहेका सामुदायिक विद्यालयबाट विकाउ प्रकृतिको जनशक्तिको पूर्वाधार प्राप्त गर्न सहज हुने देखिँदैन ।

एकाध जिल्लाका सीमित केही विद्यालयमा OLPC (One laptop per child) को प्रयोग अभ्यास गरिएको सुनिएको हो । तर त्यसको प्रभावकारी कार्यान्वयन र समग्र विद्यालय शिक्षामा जोड्ने तर्फ मा शिक्षाका सरोकारवाला निकायहरुले गम्भीर दृष्टिगोचर गरी त्यसको सफलता या असफलताका कथा कतै प्रभावकारी माध्यमबाट प्रकाशमा आएनन् । यसै सेरोफेरोमा नयाँ शैलिको शिक्षाको कल्पना गर्नु युग सुहाउँदो हुनसक्छ ।

यसै सन्दर्भलाई सम्झिँदै शिक्षालाई प्रभावकारी बनाउन र विश्वजगतमा विकाउ जनशक्ति उत्पादन गर्ने तर्फ लैजानका लागि शिक्षाक्षेत्रमा सुधार ल्याउन हाइटेक शिक्षालाई वैकल्पिक सम्भावनाको रुपमा यहाँ चर्चा गर्ने धृष्टता यहाँ गरिएको छ । परिकल्पना अनुसारको हाइटेक प्रविधिबाट साधारण र प्राविधिक शिक्षामा सहायक सिद्ध हुने र सरकारी विद्यालयहरुमा सर्वत्र लागु गर्ने गरी अवलम्वन गर्ने साहस सरकारले गर्नसकेमा शिक्षालाई विश्व सुहाउँदो बनाउन त सकिन्छ नै त्यसले शिक्षा क्षेत्रमा नवीनतम आयाम दिनसक्छ ।

सूचनाप्रविधि विज्ञहरुको मुख्य प्राविधिक संयोजनसँगै विशिष्ट शिक्षाविद्हरु परिचालन गरी विद्यार्थीहरुलाई सिकाईमुखी विषयवस्तुमा मात्रै एक्सेस भएको टचेवल डिभाइस (स्मार्ट फोनसँग मिल्दोजुल्दो र मिनिकम्प्युटर वा ट्यावलेट आकारको) को व्यवस्था गरी त्यसमा पाठ्यक्रम अनुसारका विषयबस्तु र अन्य शिक्षाप्रद सामग्रीहरु भर्ने र त्यसैबाट नियमित कक्षाहरु चलाउन सक्ने गरी तयार गर्न सकिन्छ । त्यसमा कक्षागत विषयबस्तु रंगीन र सिकाइमूलक सामग्रीहरु मनोबैज्ञानिकहरु र विषयविज्ञहरुको समूह र आइटी विज्ञहरुसँगको टिमवर्कबाट एकसाथ देशैभरि लागुहुने प्रकारका सफ्टवेयर वा एप्लिकेशन निर्माण गरिनुपर्छ । यसमा शिक्षकका उस्तै डिभाइसमा छुट्टै प्रोग्रामिङ् गरी शिक्षक सहयोगी सामग्री र सिकाई उत्प्रेरित गर्ने प्रकृतिका विषयबस्तुहरुले युक्त गरिएको सामग्री बनाइनुपर्छ । साथै बालबालिकालाई रमाउँदै पढ्न र सिक्न र शिक्षकले प्रभावकारी सहयोगीको रुपमा सफल शिक्षण गर्न सक्ने बनाउन प्रेरित गर्नेछ । समग्रमा यसलाई पाठ्यपुस्तक, कापी र कलमको कक्षाकोठामा विस्थापन गर्दै एकल डिभाइसमुखी बनाउन सकिन्छ । यसरी सिकाइका अत्यधिक सामग्री (तस्विर, चित्र, भिडियो, कथाचित्र, साथमा विषयबस्तुलाई पुष्ट्याई गर्ने परिचयात्मक सामग्री, परिभाषा र शब्दार्थलाई लिङ्कमा जोड्दै शिक्षक र बालबालिकालाई त्यसमा एकाकार गर्नसकेमा प्रभावकारी सिकाई र गुणात्मक शिक्षा प्राप्त हुने देखिन्छ ।

यसरी तयार गरिएको एप्लिकेशनमा कक्षागत विषयबस्तुलाई एकैठाउँमा राखी छुट्टाछुट्टै सवएप्लिकेशन बनाउनु पर्दछ । यसरी गरिने क्रियाकलापमुखी सामग्रीहरु निर्माण, प्रशोधन र र कार्यान्वयनका लागि अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र लगायतले समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्नु आवश्यक हुन्छ ।

शैक्षिक सामग्रीहरु मोबाइल एप्लिकेशन जस्तै हुनुपर्छ । जहाँ प्रत्येक कक्षामा अपडेट हुनेगरी विषयगत सामग्रीको बहुमुखी हव हुन्छ, जहाँ पाठ्यक्रमले तोकेको विषयविज्ञहरुद्वारा विकसित गरिएको पाठ्यबस्तु, त्यससँग सम्बन्धित सन्दर्भ सामग्रीहरुको लिङ्क रङ्गीन तस्विर साथै मोटिभेशनल कार्टुन र भिडियोहरु अपलोडेड हुन्छन् । त्यसले विद्यार्थीहरुलाई सम्बन्धित विषय सहजै बुझ्नका लागि प्रेरित गर्दछ । साथै शिक्षकलाई विनाकुनै कन्फ्युजन बालबालिकालाई सहजीकरण गर्नका लागि शिक्षणमैत्री सामग्रीहरु रहन्छन् ।

लेखन तथा कक्षा क्रियाकलापः

विद्यार्थीलाई पढाइएको कुरा नोट गर्नका लागि पेनटच विधिको लेखनप्याड विकसित गरिएको हुन्छ जुन प्याड यूएसवी पोर्टेवल हुन्छ । त्यसको सहायताले विद्यार्थीहरुले आफूले लेख्ने एक हरफ पुरा भएसँगै कम्प्युटरमा उसका हस्ताक्षर समेत जस्ताको तस्तै देखिने गरी इनपुट भएको हुनेछ । मेटाउन वा सच्याउनका लागि इनपुट गर्नु अगावै मात्रै सकिने गरी व्यवस्था गर्नुपर्छ ।

यस्तो विधिको प्रयोग सँगै विद्यार्थीहरुको जथाभावी जे मनमा लाग्यो त्यो लेख्ने स्वभावमा नियन्त्रण आउनेछ ।

मूल्याङ्कनः

निर्णयात्मक मूल्याङ्कनका लागि विद्यार्थीहरुलाई माथि कल्पना गरिएको प्याडमा नै उत्तर लेख्न लगाउने र त्यसको सफ्टकपि विश्वसनीय माध्यमबाट सङ्कलन गरी जाँचकी कहाँ पुर्याउन व्यवस्था भएको हुनुपर्छ ।

त्यसैगरी निर्माणात्मक मूल्याङ्कनमा पनि शिक्षण सिकाई क्रियाकलाप सम्पन्न भइसकेपछि कम्प्युटरको लर्निङ् हव बन्द गरी नोट प्याड मार्फत आवश्यक प्रश्नोत्तर र अन्य क्रियाकलाप गराउने व्यवस्था गरिनुपर्छ ।

यस प्रकारको शैक्षिक अभ्यासमा बालबालिकाको सिर्जनशीलतामा विकास हुनुका साथै उत्तर परीक्षणका लागि समेत शिक्षकले बनाएको उत्तरकुञ्जिकालाई संस्लेषण गरी कम्प्युटर प्रविधिबाटै परीक्षण गर्दै बैज्ञानिक नतिजा प्राप्त हुनेछ ।

के यस्तो सम्भव छ?

देशको शैक्षिक बजेट अपेक्षाकृत प्रतिशतमा विनियोजन नभइरहेको वर्तमानमा सरकारी प्रयास यस प्रकारको हुनेमा पङ्तिकार विश्वस्त नभएपनि नीति निर्माण र निर्णायक भूमिकामा रहेका व्यक्तिहरुको इच्छाशक्ति भएमा यो कार्य सम्भव देखिन्छ ।

सबै कुरामा आधुनिकीकरण भइरहेको वर्तमान सन्दर्भमा यस प्रकारको अभ्यास शिक्षा क्षेत्रमा भित्रिनु देशको शैक्षिक यात्रामा नवीनतम र दिगो प्रविधि सावित हुन्छ । यसले तत्कालीन आर्थिक भार बढाएपनि दीर्घकालीन रुपमा सहज र सस्तो बनाउने निश्चित छ । किनकि यस प्रकारका डिभाइसहरुको कम्तीमा २० वर्षे आयु कायम गर्नेगरी नीति निर्माण गर्न सकिन्छ । यस कार्यको व्यवस्थापनका लागि विश्वजगतबाट पनि प्रयाप्त सहयोग राज्यले जुटाउन सक्छ जस्तो लाग्छ ।

विद्यालय र शिक्षकहरुको पहुँच सहज हुने कुरा विशेष जटिल कुरा हो यस प्रकारको शिक्षाप्रणाली लागु गर्दा विद्यालयमा विद्युतीकरणको अपरिहार्यता हुन्छ । साथै शिक्षकहरुलाई आधारभूत प्राविधिक ज्ञान आवश्यक हुन्छ । यद्यपि सामान्य मोबाइल चलाउने ज्ञानले मात्रै पनि यस प्रकारको सुविधा सञ्चालन गर्न सघाउने भएकोले यसैलाई चुनौतीपूर्ण मानीहाल्नु शिक्षकको मानमर्दन गर्नु जस्तै हुन्छ । बालबालिकाहरु भने स्वभावत: सजिलै यसप्रकारको डिभाइस कौतुहलतापूर्वक सञ्चालन गर्नेमा कतै शङ्का रहँदैन । मुख्य चुनौती विद्युतीकरणको भएको हुनाले हाललाई विद्युत पहुँच भएका विद्यालयहरुलाई अनिवार्य गर्दै जिल्लाका प्रत्येक स्थानीय तहमा कम्तीमा १० कक्षासम्म सञ्चालन भएको १ विद्यालय पर्ने गरी विद्यालयमा यस प्रकारको व्यवस्था लागु गर्दा अधिक जसो विद्यार्थीहरुलाई समेट्न सकिन्छ । त्यसका लागि आवश्यकता अनुसार सौर्यशक्तिको विद्युत विकल्पको रुपमा लिनसकिन्छ । यस प्रक्रियालाई क्रमशः पूर्वाधार जोड्दै देशैभरि लागु गर्ने प्रक्रियातर्फ उन्मुख हुनुपर्छ ।

के परिवर्तन आउला त यसबाट?

हामी पुरानो शिक्षा पढेर आएका पुरानै शिक्षकहरुलाई नयाँ शैलिमा समायोजन हुन बाध्य पारीरहेकै छौँ । त्यसैमा पनि शिक्षकहरुले जिम्मेवारीलाई ग्रहण गर्नै आफूलाई नयाँ पद्दतीमा ढाल्नु अपरिहार्य हुन्छ । त्यसका लागि शिक्षक शिक्षाबाट सबैजसो शिक्षकलाई समेट्ने जिम्मेवारी पनि राज्यको हुन्छ । बाँकी यसमा उनीहरुलाई सामान्य प्रविधिमा जोड्न मात्र आवश्यक हो । बालबालिकाले कितावको पाना पल्टाएझैँ आवश्यक एप्लिकेशनमा छोएर आवश्यक पानामा प्रवेश गर्न सकिने भएकोले यो न झन्झटिलो हुनेछ न त बोरिङ् । बरु यो त कौतुहलतापूर्ण र व्यवहारिक हुनेछ ।

शिक्षकले योजनाविनै कक्षा चलाउछन् भन्ने आरोपको पनि यसले अन्त्य गर्नेछ । उच्च विषयगत दक्षता प्राप्त व्यक्तिहरुको संलग्नतामा सिकाईका सबै आवश्यक टुल्सहरु यसैमा रहने भएकोले बाहिरी सामग्रीको खासै आवश्यकता नपर्ने देखिन्छ ।

यस प्रकारको व्यवस्थापनमा बालबालिकाले सानो हातेझोलामा आफूलाई उपलब्ध डिभाइस र त्यससँग सम्बन्धित अन्य सामग्रीहरु लैजानसकिने अवस्था हुन्छ । घरमा शिक्षकहरुको निर्देशन अनुसार र उनीहरुको कौतुहलताको कारण यो प्रभावकारी सिकाइको माध्यम बन्नसक्छ भने कक्षामा प्रवेश गरेसँगै विद्यार्थीले आफ्ना डिभाइसहरुद्वारा निर्देशित हुँदै सिकाइको क्रमलाई निरन्तरता दिनसक्छ । कुनै दिन कुनै कक्षामा शिक्षक उपलब्ध भएनन् भने पनि त्यस समयका लागि उनीहरुको सिर्जनशीलता बढाउनका लागि प्रचुर मात्रामा सहयोगी सन्दर्भ सामग्री उक्त डिभाइसमा हुने भएकोले सिकाई प्रक्रियाबाट विद्यार्थीहरु विमुख हुने अवस्था रहँदैन ।

यस प्रक्रियामा जोडिन विद्यालयमा आवश्यक पूर्वाधारहरु के कस्तो हुनुपर्ला?

हाल देशका अधिकाङ्श ठाउँमा विद्युत जडान भइसकेको छ नभएको ठाउँमा पनि बैकल्पिक स्रोतमार्फत विद्युतीकरण भएको हुनुपर्नेछ । साथमा विद्यार्थीहरुको डिभाइस इलेक्ट्रोनिक हुनेभएकोले चार्जिङ् प्वाइन्ट विद्यार्थीहरुको पहुँचमा भएको हुनुपर्दछ । साथै सकेसम्म प्रधानाध्यापक वा प्रशासकको निगरानीमा प्रत्येक कक्षामा बालबालिकाको सक्रियताको नियमित परीक्षण गर्नेगरी सिसिटिभी क्यामरा जडान गरिनु पर्दछ । हाल सामुदायिक विद्यालय सञ्चालनका लागि ठूलै धनराशि व्यवस्थापन खर्च अनुदानित भइरहेको देखिन्छ । त्यसै रकमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने हो भने यस प्रकारको सुविधा विस्तार गर्न शैक्षिक सुधारको नाममा सरकार थप उदार भने देखिनु आवश्यक पर्नेछ ।

यस प्रकारको प्रक्रिया विकास गरिएमा शिक्षा क्षेत्रमा दुरुपयोग गरिएको भनिएको ठूलो धनराशिको सदुपयोग हुनुका साथै नतिजा आउने र विद्यालयबाट लिनुपर्ने शैक्षिक विवरणहरु सहितका तथ्याङ्कहरुमा मिथ्याको मात्रा ह्वात्तै घटेर शैक्षिक बजेटको सदुपयोग हुनेछ ।

वर्तमानमा नेपाल सरकारले ठूलो धनराशि सामुदायिक विद्यालयहरुका लागि निःशुल्क पाठ्यपुस्तकमा खर्च गर्दै आइरहेको छ । एउटा विद्यार्थीले १० कक्षा सम्म करिव ४ हजार बराबरको पाठ्यपुस्तक निःशुल्क पाउछ । यस सन्दर्भमा वर्षेनी हुने खर्चलाई एकपटकमा गाभी यो प्याकेज लागु गर्न सकिन्छ ।

शिक्षालाई युग सुहाउँदो बनाउनका लागि र सिकाईमैत्री बनाउनका लागि यस प्रकारको अभ्यासमा राज्यले कदम चाल्ने हो भने नेपालको शिक्षामा हुनेगरेको लगानीको प्रतिफल पनि राम्रै प्राप्त गर्ने देखिन्छ । देश नयाँ राजनैतिक संरचना र व्यवस्थापनमा अगाडि बढ्ने यस मोडमा नवीनतम सोचका साथ शिक्षालाई देश विकासको मुख्य हतियार बनाउनका लागि तथा दीर्घकालीन समाज विकासका लागि हिम्मत जुटाउनुपर्छ ।

–लेखकतोली देवलडाँडा माध्यमिक विद्यालय बाजुरा शिक्षक हुन् ।

प्रकाशित : पुस ८, २०७४ ०९:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आज एल क्लासिको

खेल
एल क्लासिको क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनल मेसीको खेल पनि हो । दुवै खेलाडीको शैली र व्यक्तित्व फरक छ । 
बार्सिलोनाले आफ्नो स्वतन्त्रता घोषणा गरेयता पहिलोपल्ट यी दुई पारम्परिक शत्रु क्लब भिड्न लागेका हुन् । 
हिमेश

काठमाडौँ — सबैभन्दा पहिले सन् १९४३ तिर फर्कौ । त्यति बेला जर्नल्सकपको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना ३–० अगाडि थियो । दोस्रो लेगका लागि बार्सिलोनालाई रियल म्याड्रिडको भ्रमण गर्नु थियो । त्यो जर्नल्सकप अहिलेको कोपा डे रे बराबरको थियो । दोस्रो लेगमा बार्सिलोना अविश्वसनीय रूपमा ११–१ ले पराजित रह्यो । रियलले हात पारेको यो नै एल क्लासिकोको सबैभन्दा ठूलो अन्तर हो । एल क्लासिको अर्थात् रियल म्याड्रिड भर्सेस बार्सिलोना ।



त्यो दिन छ र आज । तर पनि स्थिति उस्तै छ । आजभन्दा ७४ वर्षअगाडिको त्यो खेलपछि बार्सिलोनाका खेलाडीले बताएका थिए, खेलअगाडि, खेलुन्जेल र पछि कुनै पनि बेला उनीहरूले सुख पाएनन् । रियल समर्थक दर्शकको लगातार ढुंगामुढा र गाली, स्थानीय प्रहरीको एकपक्षीय व्यवहार । अनि रेफ्रीको खराब निर्णय । अब के चाहियो र, खेल रियलले अविश्वसनीय गोलअन्तरले जित्यो । बार्सिलोनालाई त्यति बेला कतैबाटसहयोग भएन ।
भनिरहनु पर्दैन, त्यति बेला स्पेनमा भर्खर भर्खर तानाशाही जर्नेल फ्रान्सिस्को फ्रान्कोले सत्ता सम्हालेका थिए । त्यति बेला भर्खर स्पेनको डरलाग्दो गृहयुद्ध सकिएको स्थिति थियो । जति जति बेला रियल र बार्सिलोना एक आपसमा भिड्ने गर्छन्, फेरि फेरि दोहोर्‍याएर यिनै इतिहासका प्रसङ्ग अगाडि आउने गर्छन् । यस्तो गर्दिनँ भन्दा पनि पाइन्न । बार्सिलोनाले भर्खरै स्पेनबाट स्वतन्त्रता घोषणा गरेको पनि धेरै भएको छैन । त्यो आन्दोलन कता पुग्यो, त्यसलाई हेर्ने आँखा राजनीतिक होलान् ।
फुटबलको नजरमा आज यिनै दुई क्लब मैदानमा भिड्दै छन् । स्थान बर्नाबाउ, रियलको घरेलु मैदान । त्यसै खेलबारे चर्चा गर्नुअगाडि फेरि एकपल्ट पुरानै घटना सम्झिनुपर्ने हुन्छ । प्राय: बार्सिलोनाका समर्थकले प्रयोग गर्ने शब्द छ, गुरुसेटा । खासमा यो कसैको नाम थियो, पछि रेफ्रीले गर्ने झेल्लीका लागि प्रयोग हुने शब्द बन्यो । सन् १९७० मा रियललाई फेरि एकपटक त्यही जर्नल्सकप जित्नु थियो, युरोपमा खेल्न छनोट हुनका लागि ।
बर्नाबाउमा भएको पहिलो खेलमा रियललाई २–० को अग्रता प्राप्त भयो । दोस्रो लेग बार्सिलोनाको घर नुक्याम्पमा थियो । त्यसमा एक समय बार्सिलोनाले १–० को अग्रता लियो र तय देखियो, अब उसले खेलमा पुनरागमन गर्न सक्छ । तर सकेन, किनभने रेफ्री जोसे इमिलो गुरुसेटाले साँच्चै झेली गरेर रियललाई पेनाल्टीको अवसर दिए । कतै फल भएकै थिएन । फल भए पनि त्यो पेनाल्टी एरियाभित्र थिएन । तर रेफ्रीले निर्णयदिएपछि दियो ।
खासमा यो खेल पूरा समय पनि चलेन । दर्शक मैदानमा ओर्लिए । झगडाको स्थिति बन्यो । तर यही नतिजाले रियललाई फाइदा भने गर्‍यो । त्यसैले अचेल कुनै रेफ्रीले खराब निर्णय दियो भने त्यसका लागि उही शब्द प्रयोग हुने गर्छ, गुरुसेटा । आज रातिको खेलमा यस्तो होला, त्यो सम्भवजस्तै छैन । अचेल फुटबलको मैदानमा यस्तो प्रसङ्ग सुन्न पाइन्न । कम्तीमा ला लिगाजस्तो विश्वकै सर्वाधिक उत्कृष्ट लिगमा यस्तो हावादारी निर्णय हुने छैन ।
तर मैदानबाहिर स्थिति फेरि दोहोर्‍याएर भन्नुपर्छ, उस्तै छ । कम्तीमा यस्तो धारणा त पक्कै पनि बार्सिलोना समर्थकले राख्नेछन् । ‘क्याटलान भाषा र संस्कृति नै फरक, अझ देश नै फरक, किन स्पेनसँग आफ्नो अस्तित्वमेटेर जोडिएर बसिरहनुपर्‍यो ?’ बार्सिलोनाको संसद्ले आफूलाई अलगै देश भनेर घोषणा गर्दा लागेको थियो, अब एल क्लासिको पनि नहुने भयो । तर स्पेनले बार्सिलोनाको निर्णयलाई मानेन । उल्टै दमन गरियो, क्याटलान समर्थकहरूमाथि ।
साँच्चै कुनै दिन त्यस्तो स्थिति आउने छ र, जति बेला बार्सिलोनाको छुट्टै अस्तित्व हुनेछ ? यसको ठ्याक्कै उत्तर कसैसँग नहोला । तर मैदानमा यस्तो भाव पोख्न सकिन्छ नि । क्याटलान समर्थकका लागि हामी फरक छौं, हाम्रो भाषा र संस्कृति पनि फरक छ भनेर देखाउने ठाउँ भने मैदान हुने गरेको छ । धेरै भयो, यस्तो हुन थालेको पनि । त्यसैले एल क्लासिकोमा जत्तिको विवाद, सनसनी, रोमाञ्चकता अरू खेलमा हुन्न भनिन्न ।
हो पनि ।
बार्सिलोनाले आफ्नो स्वतन्त्रता घोषणा गरेयता पहिलोपल्ट यी दुई पारम्परिक शत्रु क्लब भिड्न लागेका हुन् । त्यसैले पनि यसको फरक महत्त्व छ । रियल जितोस् अथवा बार्सिलोना, त्यसको अर्थ फरकफरक ढंगले हुने पनि तय छ । सीधै मैदानको प्रसङ्ग निकाल्ने हो भने हो, अहिले बार्सिलोना धेरै बलियो देखिएको छ । पोहोर सिजनसम्म रियलले चारैतर्फ सबै जितिरहेको थियो, ला लिगा त जित्यो नै, सँगै युरोपेली च्याम्पियन्स लिग पनि ।
तर अहिले रियल लिगमा राम्रो खेल्न संघर्षरत छ । बार्सिलोनाले १६ खेल खेलेको छ र त्यसबाट ४२ अंक बटुलेको छ । रियलले एक खेल त कम खेलेको छ, तर अंक पनि कम छ, त्यो भनेको ३१ । धेरै हो, ११ अंकको दूरी भनेको । जहाँ बार्सिलोना आरामले शीर्ष स्थानमा छ, त्यहीं रियल चौथो स्थानमा खुम्चिएर बसेको छ । यसपल्टको लालिगाको अहिलेसम्मको स्थितिको निचोड हो, बार्सिलोना लयमा रहनु, रियलको भने खस्केको औसत खेल ।
यस्तोमा बार्सिलोनाले खेल्न जित्ने सम्भावना गाढा छ, भलै खेल बर्नाबाउमा भइरहेको छ । फेरि रियलसामु अर्को राम्रो अवसर पनि छ, यो जितेर लिगमा दमदार पुनरागमन रच्ने । रियलले अहिलेको एल क्लासिको जितेर कम खेलको एक खेलबाट पनि तीन अंक बटुल्यो भने अन्तर त पाँच अंकमा झर्न सक्छ । एल क्लासिकोलाई लिएर भन्ने पनि गरिन्छ, यो खेल अगाडि–पछाडि कसले कसरी खेलेको थियो, त्यसको अर्थ हुन्न । खालि अर्थ हुन्छ त, त्यो खास खेलमा कसले गतिलो प्रदर्शन गरेको थियो ।
फेरि यो क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनल मेसीको खेल पनि त हो । दुवै खेलाडीको शैली र व्यक्तित्व पनि नितान्त फरक छ । रोनाल्डो घमण्डी पाराका छन्, मेसी चुपचाप बस्न चाहने । रोनाल्डोको त मुखैमा झुन्डिने गर्छ, उनका जति आलोचक छन्, सबै उनको प्रदर्शन देखेर ईष्र्यालु भएका रे । मेसी उति साह्रो प्याच्च प्रतिक्रिया दिइहाल्ने खालका मान्छे पनि होइनन । तर पनि यिनै दुई खेलाडी विश्व फुटबलले अहिलेको पुस्तामा देखेका सबैभन्दा राम्रा खेलाडी त पक्कै हुन् ।
आजको एल क्लासिकोलाई हेर्ने नजर यसरी पनि तयार हुन्छ । दुवै एकै खेलमा हेर्ने अवसर हुँदा कम्तीमा त्यो खेलमाको राम्रो भनेर विश्लेषण गर्ने अवसर पनि प्राप्त हुन्छ । एल क्लासिकोकै प्रसङ्गमा जब यी दुई क्लब भिड्छन्, प्राय: मेसीको हात माथि हुने गरेको छ । फेरि मेसीसँग रोनाल्डोको तुलनामा स्पेनमा बढी खेलेको तथ्य पनि छ । रोनाल्डोलाई यस्तो होइन भनेर सिद्ध गर्ने अवसर पनि हो, यो । योभन्दा ठूलो अर्को तथ्य के हो भने बार्सिलोनाले यो खेल जित्यो भने ठोकेर भन्न सकिन्छ, यो सिजन त रियलले उसलाई भेटाउन सकिन्न ।
twitter : @himeshratna

प्रकाशित : पुस ८, २०७४ ०९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT