सत्य सुन्ने सहास खै ?

रोएको मन, डराएको आत्मा र बदलाको भावना साँचेर राखेको मनले साँचो अर्थमा मेलमिलाप भएको मान्ला ? ढिलो चाँडो संक्रणकालीन न्याय र सत्यनिरूपणबारे बोल्नु पर्छ ।
गजेन कटुवाल

काठमाडौँ — अहिलेको नेपाली संक्रमणकालीन द्वन्द्वको बहस तथा न्यायको सन्दर्भ बुझ्न यसको ऐतिहासिक पृष्ठभूमि र सत्यनिरूपण तथा बेपत्ता पारिएकाहरुको खोजीको सन्दर्भ पर्गेल्नु पर्छ । संक्रणकालीन न्यायले दिने के हो त ? सत्यनिरूपण तथा बेपत्ता आयोग किन ?

के सत्यनिरूपण तथा बेपत्ता आयोगले द्वन्द्वोत्तर समाजको सामाजिजक मर्मत संभव छ ? बहस भइरहेको छ ।

संक्रणकालीन न्याय दिगो शान्ति प्रक्रियाको यस्तो संरचना हो जसले अन्तर्राष्ट्रिय रुपमा स्थापित सिद्धान्तका आधारमा द्वन्द्वकालीन अवस्थामा भएका, गरेका मानवअधिकार हननका घटनालाई सम्बोधन गर्छ । जसमा दोषीले द्वन्द्वकालमा भएका खराब घटनाको आत्मसात, पीडितलाई क्षतिपूर्तिसहित ससम्मान सामाजिक रुपमा स्थापति गराउँदै सामाजिक मेलमिलाप तथा न्याय स्थापित हुन्छ भन्ने मान्यता राख्छ । पीडितलाई क्षतिपूर्तिसहितको न्यायको ग्यारेन्टी नै संक्रणकालीन न्यायभित्र पर्छ । यसको यस्तै मोडालिटी हुनु पर्छ भन्ने छैन । यद्यपि, संक्रणकालीन न्याय नै एउटा यस्तो संरचना हो जसले सत्यको खोजी, बेपत्ताहरुको पहिचान तथा न्याय निरूपणका लागि काम गर्छ । यही संक्रणकालीन न्यायको खुट्किलोको रुपमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र जबरजस्त बेपत्ता पारिएकाहरुको खोजीको लागि बेपत्ता आयोग गठन भएका हुन् । यसको सफल प्रयोग दक्षिण अफ्रिकाको द्वन्द्वदोत्तर समाजमा भएको पाइन्छ । जहाँ हिंसाले तहसनहस बनाएको र टुटाएको सामाजिजक संरचनालाई मर्मत गर्दै समाजलाई निको पार्नु नै सत्यनिरूपण तथा मेलमिलाप आयोगको उद्देश्य थियो । यस सन्दर्भमा देसमण्ड टूटू जो उक्त आयोगका अध्यक्ष थिए उनको भनाइ छ– ‘पुराना घाउ कोट्याउनु कस्टप्रद हुन्छ तर सधैका लागि निको पार्न, दु:खे पनि कोट्याएर सफा गरेर मलम लगाउनु पर्छ ताकि फेरि नबल्झियोस् । सधैका लागि निको होस् र यो विगत कोट्याको नभई भविष्यमा नदोहोरियोस् भन्नका लागि हो ।’

हिंसाले भौतिक, आर्थिक र मानवीय क्षति त पुऱ्याउँछ नै अन्ततोगत्वा सामाजिक क्षति व्यापक रुपमा गर्छ जसको पुरताल गर्न धेरै समय लाग्छ । यो यथार्थ नेपाली समाजले व्यहोरीरहेको छ । त्यतिमात्र होइन राम्रोसँग सम्बोधन भएन भने यसले अर्को डरलाग्दो प्रतिहिंसा जन्माउन सक्छ । त्यसैले घाउमा खाटामात्र बसेको हो पूर्ण निदान भएको छैन भन्ने यथार्थलाई जति छिटो मनन गऱ्यो त्यतिनै राम्रो हुन्छ ।

आयोग बनेको अको ४ वर्ष पछि साँच्चै संक्रणकालीन न्याय र सत्यनिरूपण तथा मेलमिलापबारे के गऱ्यो त ? २ वटा आयोगमा करिब ६१,००० उजुरी परेका छन । हिजो एकआपसमा भीडन्त गर्ने (सरकारी र विद्रोही) दुवै पक्ष सत्ता र शक्तिमा छन्, कोही विपक्षमा । हराएका, अंगभंग भएका, अनमिनले अयोग्य भनेका, बाल सैन्यकोरुपमा काम गरेका, भीडन्तको बीचमा परेका र अनाहकमा मारिएका र मरेकाहरुको आवाज कस्ले उठाउने र कस्ले सुन्ने ? ससस्त्र द्वन्द्वका बेला अन्तर्राष्ट्रिय मान्यता अनुसार भएन, मानवअधिकार हनन भयो भनी अन्तर्राष्ट्रिय समुदायले बोल्दा चुप लाग्नेहरु अहिले बेपत्ता पारिएका र संक्रणकालीन बेलाका पीडितलाई न्याय दिन्छु भनी तिमीले ग्यारेन्टी गरेको के भयो भनेर तिनै समुदायले सोध्दा किन झस्कनुपर्ने ? हिजोका पीडा जबसम्म सुनिदैन, हराएका आफन्तको अवस्था थाहा पाउने नैसर्गिक अधिकार छिन्न खोजिन्छ भने कसरी दिगो न्याय र शान्ति स्थापना हुनसक्छ ?

मेलमिलाप र दिगो शान्तिका लागि सत्य सुन्नु पर्दैन ? सत्य उद्घाटित नभई मनभित्रको पीडा ननिकाली कसरी क्षमाशीलता आउला ? विना क्षमाशीलता कसरी मेलमिलाप संभव होला ? विना मेलमिलाप कसरी सामाजिजक सद्भाव होला ? सामाजिक सद्भावका लागि सत्य सुन्ने सहास र धैर्य चाहियो । यसका लागि प्रतिवद्धता र सहास चाहिन्छ । सत्य सुन्ने सहास नभए कसरी सत्यनिरूपण र न्याय प्राप्त होला ? के अहिले देखिएको शान्ति नै अन्तिम शान्ति हो ? यो दिगो होला ? रोएको मन, डराएको आत्मा र बदलाको भावना साँचेर राखेको मनले साँचो अर्थमा मेलमिलाप भएको मान्ला ? ढिलो चाँडो संक्रणकालीन न्याय र सत्यनिरूपणबारे बोल्नु पर्छ । यसलाई टुंग्याउनु पर्छ । अनि मात्र समाजले गति लिन्छ । अन्यथा हामी शान्ति र सम्बृद्धिका नाममा उफ्रन्छौं । उर्जा खर्च गर्छौ तर गति लिन सक्दैनौ ।

संक्रणकालीन न्याय र सत्यनिरूपण तथा मेलसमलाप आयोगले पूर्ण रुपमा काम र्गन नसकि प्रश्न उठ्नुमा, द्वन्दपश्चात नेपाली अनुसन्धानकर्ताको नजर यसक्षेत्रमा कम पर्नु हो । यसलेगर्दा जति सशक्तरुपमा यो मुद्दा सार्वजनिक बहसको विषय बन्नु पथ्र्यो त्यसो हुन सकेन । सामाजिक अभियन्ता र नागरिक समाजले यसको आयतनलाई ग्रहण गरेको पनि पाइएन । राजनीतिक प्रतिबध्दताको कमी संक्रमणकालीन अवस्थाको न्याय निरूपण गर्दा आफु हिजोको द्वन्द्वको कारक भइन्छ कि भन्ने डरले बढी काम गरेको देखिन्छ । जे भए पनि संक्रणकालीन न्यायको लागि सत्यनिरूपण तथा मेलमिलाप महत्वपूर्ण हो र र यो नै फाटेको समाज मर्मतको सहज उपाय हो ।

लेखक बेलायतस्थित युनिभर्सिटी अफ इस्ट याङ्लियामा इन्टरनेशनल सोसल डेभलपमेन्टमा पोस्ट ग्रेजुएट गर्दैछन् ।

प्रकाशित : माघ २६, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

करेन्ट लागेर शिक्षकको मृत्यु, दुई विद्यार्थी घाइते

गणेश चौधरी

टीकापुर — घोडाघोडी नगरपालिका–२ मा रहेको दशरथ माध्यमिक विद्यालयका शिक्षक २३ वर्षीय हुकुम जैसीको करेन्ट लागेर मृत्यु भएको छ । सरस्वती पूजाको तयारीका लागि हरियो बाँस काटेर तान्ने क्रममा हाइटेन्सन लाइनको नांगो तारमा छोइएपछि करेन्ट लागेको स्थानीयले जनाएका छन् ।

जैसीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । मृतक जैसीको घर बाजुरा कुलमाण्डौ रहेको जनाइएको छ ।

करेन्ट लागेर २ विद्यार्थी पनि घाइते भएका जनाइएको छ । घाइते हुनेमा खमवीर जोशी र सुशील विष्ट रहेका छन् । उनीहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।

प्रकाशित : माघ २६, २०७५ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्