कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जसले मलाई प्रेमको अर्थ सम्झाए 

सन्दर्भ: प्रेम दिवस
दिवाकर बागचन्द

न्यूयोर्क — मैले काम चलाऊ परिवार धेरै देखेको छु । हेर्दा गजबको देखिन्छ, श्रीमान् राजा,  श्रीमती रानी । बच्चाहरू राजकुमार, राजकुमारी । श्रीमान् र श्रीमती राती ओछ्यानमा सँगै  हुन्छन् तर दुईबीच दुरी कहिल्यै कम गर्न नसकिने हुन्छ ।

जसले मलाई प्रेमको अर्थ सम्झाए 

यसलाई "फङ्सनल फ्यामिली” (कार्यात्मक परिवार) भन्निन्छ । प्रेमको यहाँ ब्रान्ड हुन्छ । मेनुफ्यक्चरिङ डेट हुन्छ। एक्स्पाइरी हुँदैन । यो चली रहन्छ । यसैमा खानदान, परम्परा र पुर्खाको विरासत जोडिएको हुन्छ ।


अर्को भयो “डिस फङ्सनल फ्यामिली” (अव्यवस्थित परिवार) । जो असमझदारी, अवस्था यानि कि हालतका कारण बिखन्डित हुन्छ तर एक अर्काका भावना बिचार र भिन्नताको कदर गर्छ । दु:खाका बेला एक भई हाल्छ । यो परिवारको एउटै विशेषता के भने यो ढोङ गर्दैन । यसको आवरण हुँदैन ।


कुन परिवार ठिक या गलत म भन्न चाहन्न । तर यो भने भन्न चाहन्छु, प्रेम बिनाको परिवार कैद खाना हो । अफसोस, करोडौँ मानिस यस कैदखानामै अन्तिम सास लिन्छन् ।


आज “भ्यालेन्टाइन डे'' यानि प्रेम दिवस कयौँले प्रेम साट्ने छन् । कयौँले प्रेम प्रस्ताव राख्नेछन् । कयौँ मन जोडिने छन्, कयौँ तोडिने पनि छन् ।


म दिवस त्यति मनाउँदिन । यद्यपि कसैले मनाउँछ भने यसमा मलाई कुनै आपत्ति छैन । कुनै दिन विशेषलाई प्रेम दिवस मनाउनुले “प्रेम एक दिने महोत्सव'' हो कि भन्ने सवाल उठ्छ । म यसलाई प्रेमको व्यापारीकरण/बस्तुकरण ठान्छु । खैर जुन कुरामा पनि विवाद गरेर आफूलाई भिन्न देखाउन खोज्नु अहम् या इगो कै एउटा रूप हो । म यसबाट टाढा रहन चाहन्छु ।


आजको प्रेम दिवसमा मैले देखेको एउटा प्रेम कथा स्मरण गर्न चाहन्छु ।


म महाकाली नदीको नहर छेउमा केही दृश्य क्यामेरामा कैद गरिरहेको थिएँ । मेरो नजर नहरको पेटीमा बसेका एक जोडीमा पर्‍यो । उनीहरूमा एक अद्भभुत चमक थियो । पेटीमा बसेका ती जोडीबीच निकै दुरी थियो । तर उनीहरूको हेराइको पवित्रताले लाग्थ्यो, दुरी नै छैन । म उनीहरू नजिक गएँ । मलाई नजिकै देखेर उनीहरू असमन्जस्यमा परे । मैले परिचय खुलाए पछि विनम्रता साथ नमस्कार गरे दुवैले । युवतीले मेरो रिपोर्टिङले गरिब, दीनदुखीका कुरा उजागर गर्ने हुँदा आफूलाई खुब मन पर्ने बताइन् । युवक भने अलि लजालु स्वभावका केही बोलेनन् । हाम्रो वार्तालापको क्रम अगाडि बढ्यो ।


स्मृति मेरो गाउँ, मेरै गृह जिल्ला कैलालीसँग जोडिएको कञ्चनपुरकी 'कथित' ठकुरी परिवारकी एक सुन्दर युवती । समर एक कथित दलित परिवारको सुन्दर युवक । स्मृति आइ. ए. पास समर मुस्किलले आठ पास । स्मृतिले समरलाई मन पराउँदी रहिछन् । ठकुरीकी छोरीसँग प्रेम गर्नुको परिणाम समरलाई राम्रै ज्ञात थियो, त्यसैले टाढिन खोज्थे । एक दिन नहरको किनारमा स्मृतिले समर लाई रोकेर एउटा पत्र दिएकी थिइन् । पत्रमा लेखिएको थियो । “प्रिय समर मलाई थाहा छ तिमी पनि मलाई माया गर्छौ । म तिमीलाई कति माया गर्छु शायद तिमीले आजसम्म त पक्कै बुझिसक्यौ होला । अब म दोहोर्‍याउन चाहन्न । तर, एउटा कुरा के भन्न चाहन्छु भने जो प्रेम गर्छन् तिनी हरू परिणामको पर्बाह गर्दैनन् । हिम्मत प्रेमको जग हो । हिम्मत गर र मलाई यहाँबाट लिएर जाऊ ।''


त्यो पत्र समरसँग थियो मैले हेरेँ । पत्र लामो थियो । गगन, चन्द्रमा, तारा, नदी, हिमालको बहुत सुन्दरता वर्णन थियो, त्यसमा । एक ग्रामीण युवतीको भाषिक अभिव्यक्ति देखेर म चकित परेँ । बरु मनमा प्रश्न उठ्यो समरले के बुझे होला त स्मृतिको मनको भावनामा ? मैले सोधेँ अब तपाईँहरू के गर्नु हुन्छ? यस पटक समर बोले, गाउँमा ज्यानको खतरा हुन्छ अब हामी दुवै भारत जान्छौँ । म हेरी रहेँ । म केही बोलिन, आसिर्बाद दिएँ । सदैव खुसी रहनु !


करिब पाँच वर्ष पछि, फेब्रुअरी १४ तारिखको दिन । म धनगढी सेती अञ्चल अस्पताल नजिक पान पसलमा पान अर्डर गर्दै थिएँ । एक दुब्ली पातली युवती काखमा बच्चा लिएर साझा औषधी पसलमा उभिइरहेको देखेँ । म पान हातमा लिएर उनीतर्फ लागेँ । बैनी तिमी स्मृति होइनौ? उनले पनि मलाई बिर्सेकी कि रहिन छिन् । हो, दाजु जवाफ आयो । के भो तिमीलाई दुब्लाइछ्यौ ? सन्चो त छ? आफ्नो दोस्रो बच्चा भएपछि रक्तस्राब अत्यधिक हुने गरेको र पाठेघरमा समस्या देखिएको उनले बताइन् । तिमीहरू भारत गएका होइनौ र ? हो हामी भारत बसेऊ तर एक वर्ष पुग्न नपाउँदै मेरा माइतीले मलाई जबरजस्ती एक जना अर्कैसँग विवाह गरिदिए । समर मलाई खोज्दा खोज्दा थाकेर नेपाल फर्केछन् । म एक दिन त्यो मेरो 'कथित' पति, जसले मलाई शारीरिक र मानसिक यातना दिन्थ्यो, उसको आँखा छल्दै नेपाल फर्केँ । नेपाल फर्केर समरको खोजी गरेँ । उनलाई भेटे पछि बल्ल मेरो शरीरमा प्राण आयो । हामी दुवै महेन्द्रनगर छोडेर धनगढी आएका हौँ । समर ग्रिल सटरको पसलमा काम गर्छन् । म दुई बच्चा हुर्काउँदछु ।


दाजु मेरो डेरा नजिकै छ समर पनि आए होलान् एक छिन् जाउन् । म पनि उनी सँगै हिँड । केही छिनमा एउटा टाइलको छाना भएको घर नजिक पुगेर उनले भनिन यही घर हो । कोठा भित्र लगिन्, समर चारपाइमा पल्टेर छोरी खेलाउँदै थिए । मलाई देखेर जुरुक्क उठेर नमस्कार गरे । मैले भने चिनेऊ? पहिले झैँ उनको लजालु स्वभाव गएको रहेनछ, टाउको मात्र हल्लाए । कोठामा नजर दौडाएँ, एउटा चार पाइ, डसना सिरक केही झोला झाम्टा, भाँडा कुँडा र डोरीमा झुन्ड्याइएका लत्ताकपडाबाहेक केही थिएन ।


दाजु चिया बनाउँछु है, स्मृतिले भनिन् । मैले टाल्न सकिन । कुरै कुरामा सोधेँ बहिनी तिमीलाई समरसँग विवाह गरेकोमा कुनै पश्चात्ताप छैन? तिमीले गरिबी, अभाव र यातना भन्दा के पायौँ? त्यसो नभन्नुस् दाजु, यो समरको अपमान हुन्छ । म जब बहुतै सुन्दर थिएँ, त्यस भन्दा पनि बढी माया अहिले जब म रुग्ण छु, तब दिएको छ । मसँग कहिल्यै रिसाउँदैन । रिसाओस् भनेर कहिले नुन नै नहालेको खाना दिन्छु । कस्तो लाग्यो भन्दा अति स्वादिष्ट भन्छ । आफैँलाई अपराध बोध हुन्छ । समर अनमोल रतन हो । म उनको जवाफ सुनेर अवाक् भएँ ।


मैले यो पटक समरलाई सोधे, समर तिमी अहिले पनि के साँच्ची कै स्मृतिलाई उत्तिकै माया गर्छौ ? आर्थिक रूपमा गरिब समर जसलाई म शाब्दिक अभिव्यक्तिमा पनि स्मृति भन्दा कमजोर पाउँछु । उसले बेजोड जवाफ दियो ।


“हजुर म जस्तो गरिबलाई माया गर्ने र मेरा दु:खाका दिनमा मेरो मेरुदण्ड बनेर खडा रहने स्मृति कोही चानचुने महिला होइन, एक योद्धा हो । मेरो सारथि हो । मेरी आमा पनि हो । कुनै जन्ममा राम्रो कर्म गरेको थिएँ होला, स्मृतिलाई अर्धांगिनीका रूपमा पाएँ ।"


समरले मलाई पराजित गरिदियो । प्रेमको यति सुन्दर संसार हुन्छ भन्ने मैले सोचेको पनि थिएन । एक छिन है भन्दै म “टप इन टाउन” भन्ने रेस्टुरण्टतिर लागेँ । चिकेन फ्राइडलगायत थुप्रै परिकार अर्डर गरेँ । लिएर स्मृति र समरको घरतर्फ लागेँ । मैले स्मृतिलाई प्याक गरेको खाने परिकार दिएँ । उनी लिन अनकनाइन । उनले दाइ चिया लिनुस् भनेर स्टिलको ग्लासमा चिया दिइन् । मलाई लाग्दैन, उनीहरूलाई थाहा थियो आज 'भ्यालेन्टाइन डे' हो । मैले पनि भनिन । जसको जीवन नै प्रेम दिवस होस्, उसलाई कुनै दिनको के आवश्यकता? चिया पिउँदै जाँदा मन भकानिएर आयो । म जुरुक्क उठेँ । मैले अनुमति मागिन । सिधै घरतर्फ लागेँ ।


मेरा आँखाबाट आँसु झरिरहे । मेरा आशुले आँखालाई सोधेनन् । गरिबी, अभाव वेदना, यातना, बहिस्करणका बाबजुद एक अर्काप्रतिको समर्पण, भक्ति भाव र त्याग देखे पछि बुझ्ने बुझाउने र सोध्ने केही बाँकी थिएन। प्रेमको यस्तो अलौकिक स्वरूप अविस्मरणीय थियो ।


त्यही थियो, मेरो वास्तविक प्रेम दिवस मेरो भ्यालेन्टाइन डे, जसले मलाई प्रेम को अर्थ सम्झाएको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?