जसले मलाई प्रेमको अर्थ सम्झाए 

सन्दर्भ: प्रेम दिवस
दिवाकर बागचन्द

न्यूयोर्क — मैले काम चलाऊ परिवार धेरै देखेको छु । हेर्दा गजबको देखिन्छ, श्रीमान् राजा,  श्रीमती रानी । बच्चाहरू राजकुमार, राजकुमारी । श्रीमान् र श्रीमती राती ओछ्यानमा सँगै  हुन्छन् तर दुईबीच दुरी कहिल्यै कम गर्न नसकिने हुन्छ ।

यसलाई "फङ्सनल फ्यामिली” (कार्यात्मक परिवार) भन्निन्छ । प्रेमको यहाँ ब्रान्ड हुन्छ । मेनुफ्यक्चरिङ डेट हुन्छ। एक्स्पाइरी हुँदैन । यो चली रहन्छ । यसैमा खानदान, परम्परा र पुर्खाको विरासत जोडिएको हुन्छ ।

अर्को भयो “डिस फङ्सनल फ्यामिली” (अव्यवस्थित परिवार) । जो असमझदारी, अवस्था यानि कि हालतका कारण बिखन्डित हुन्छ तर एक अर्काका भावना बिचार र भिन्नताको कदर गर्छ । दु:खाका बेला एक भई हाल्छ । यो परिवारको एउटै विशेषता के भने यो ढोङ गर्दैन । यसको आवरण हुँदैन ।

कुन परिवार ठिक या गलत म भन्न चाहन्न । तर यो भने भन्न चाहन्छु, प्रेम बिनाको परिवार कैद खाना हो । अफसोस, करोडौँ मानिस यस कैदखानामै अन्तिम सास लिन्छन् ।

आज “भ्यालेन्टाइन डे'' यानि प्रेम दिवस कयौँले प्रेम साट्ने छन् । कयौँले प्रेम प्रस्ताव राख्नेछन् । कयौँ मन जोडिने छन्, कयौँ तोडिने पनि छन् ।

म दिवस त्यति मनाउँदिन । यद्यपि कसैले मनाउँछ भने यसमा मलाई कुनै आपत्ति छैन । कुनै दिन विशेषलाई प्रेम दिवस मनाउनुले “प्रेम एक दिने महोत्सव'' हो कि भन्ने सवाल उठ्छ । म यसलाई प्रेमको व्यापारीकरण/बस्तुकरण ठान्छु । खैर जुन कुरामा पनि विवाद गरेर आफूलाई भिन्न देखाउन खोज्नु अहम् या इगो कै एउटा रूप हो । म यसबाट टाढा रहन चाहन्छु ।

आजको प्रेम दिवसमा मैले देखेको एउटा प्रेम कथा स्मरण गर्न चाहन्छु ।

म महाकाली नदीको नहर छेउमा केही दृश्य क्यामेरामा कैद गरिरहेको थिएँ । मेरो नजर नहरको पेटीमा बसेका एक जोडीमा पर्‍यो । उनीहरूमा एक अद्भभुत चमक थियो । पेटीमा बसेका ती जोडीबीच निकै दुरी थियो । तर उनीहरूको हेराइको पवित्रताले लाग्थ्यो, दुरी नै छैन । म उनीहरू नजिक गएँ । मलाई नजिकै देखेर उनीहरू असमन्जस्यमा परे । मैले परिचय खुलाए पछि विनम्रता साथ नमस्कार गरे दुवैले । युवतीले मेरो रिपोर्टिङले गरिब, दीनदुखीका कुरा उजागर गर्ने हुँदा आफूलाई खुब मन पर्ने बताइन् । युवक भने अलि लजालु स्वभावका केही बोलेनन् । हाम्रो वार्तालापको क्रम अगाडि बढ्यो ।

स्मृति मेरो गाउँ, मेरै गृह जिल्ला कैलालीसँग जोडिएको कञ्चनपुरकी 'कथित' ठकुरी परिवारकी एक सुन्दर युवती । समर एक कथित दलित परिवारको सुन्दर युवक । स्मृति आइ. ए. पास समर मुस्किलले आठ पास । स्मृतिले समरलाई मन पराउँदी रहिछन् । ठकुरीकी छोरीसँग प्रेम गर्नुको परिणाम समरलाई राम्रै ज्ञात थियो, त्यसैले टाढिन खोज्थे । एक दिन नहरको किनारमा स्मृतिले समर लाई रोकेर एउटा पत्र दिएकी थिइन् । पत्रमा लेखिएको थियो । “प्रिय समर मलाई थाहा छ तिमी पनि मलाई माया गर्छौ । म तिमीलाई कति माया गर्छु शायद तिमीले आजसम्म त पक्कै बुझिसक्यौ होला । अब म दोहोर्‍याउन चाहन्न । तर, एउटा कुरा के भन्न चाहन्छु भने जो प्रेम गर्छन् तिनी हरू परिणामको पर्बाह गर्दैनन् । हिम्मत प्रेमको जग हो । हिम्मत गर र मलाई यहाँबाट लिएर जाऊ ।''

त्यो पत्र समरसँग थियो मैले हेरेँ । पत्र लामो थियो । गगन, चन्द्रमा, तारा, नदी, हिमालको बहुत सुन्दरता वर्णन थियो, त्यसमा । एक ग्रामीण युवतीको भाषिक अभिव्यक्ति देखेर म चकित परेँ । बरु मनमा प्रश्न उठ्यो समरले के बुझे होला त स्मृतिको मनको भावनामा ? मैले सोधेँ अब तपाईँहरू के गर्नु हुन्छ? यस पटक समर बोले, गाउँमा ज्यानको खतरा हुन्छ अब हामी दुवै भारत जान्छौँ । म हेरी रहेँ । म केही बोलिन, आसिर्बाद दिएँ । सदैव खुसी रहनु !

करिब पाँच वर्ष पछि, फेब्रुअरी १४ तारिखको दिन । म धनगढी सेती अञ्चल अस्पताल नजिक पान पसलमा पान अर्डर गर्दै थिएँ । एक दुब्ली पातली युवती काखमा बच्चा लिएर साझा औषधी पसलमा उभिइरहेको देखेँ । म पान हातमा लिएर उनीतर्फ लागेँ । बैनी तिमी स्मृति होइनौ? उनले पनि मलाई बिर्सेकी कि रहिन छिन् । हो, दाजु जवाफ आयो । के भो तिमीलाई दुब्लाइछ्यौ ? सन्चो त छ? आफ्नो दोस्रो बच्चा भएपछि रक्तस्राब अत्यधिक हुने गरेको र पाठेघरमा समस्या देखिएको उनले बताइन् । तिमीहरू भारत गएका होइनौ र ? हो हामी भारत बसेऊ तर एक वर्ष पुग्न नपाउँदै मेरा माइतीले मलाई जबरजस्ती एक जना अर्कैसँग विवाह गरिदिए । समर मलाई खोज्दा खोज्दा थाकेर नेपाल फर्केछन् । म एक दिन त्यो मेरो 'कथित' पति, जसले मलाई शारीरिक र मानसिक यातना दिन्थ्यो, उसको आँखा छल्दै नेपाल फर्केँ । नेपाल फर्केर समरको खोजी गरेँ । उनलाई भेटे पछि बल्ल मेरो शरीरमा प्राण आयो । हामी दुवै महेन्द्रनगर छोडेर धनगढी आएका हौँ । समर ग्रिल सटरको पसलमा काम गर्छन् । म दुई बच्चा हुर्काउँदछु ।

दाजु मेरो डेरा नजिकै छ समर पनि आए होलान् एक छिन् जाउन् । म पनि उनी सँगै हिँड । केही छिनमा एउटा टाइलको छाना भएको घर नजिक पुगेर उनले भनिन यही घर हो । कोठा भित्र लगिन्, समर चारपाइमा पल्टेर छोरी खेलाउँदै थिए । मलाई देखेर जुरुक्क उठेर नमस्कार गरे । मैले भने चिनेऊ? पहिले झैँ उनको लजालु स्वभाव गएको रहेनछ, टाउको मात्र हल्लाए । कोठामा नजर दौडाएँ, एउटा चार पाइ, डसना सिरक केही झोला झाम्टा, भाँडा कुँडा र डोरीमा झुन्ड्याइएका लत्ताकपडाबाहेक केही थिएन ।

दाजु चिया बनाउँछु है, स्मृतिले भनिन् । मैले टाल्न सकिन । कुरै कुरामा सोधेँ बहिनी तिमीलाई समरसँग विवाह गरेकोमा कुनै पश्चात्ताप छैन? तिमीले गरिबी, अभाव र यातना भन्दा के पायौँ? त्यसो नभन्नुस् दाजु, यो समरको अपमान हुन्छ । म जब बहुतै सुन्दर थिएँ, त्यस भन्दा पनि बढी माया अहिले जब म रुग्ण छु, तब दिएको छ । मसँग कहिल्यै रिसाउँदैन । रिसाओस् भनेर कहिले नुन नै नहालेको खाना दिन्छु । कस्तो लाग्यो भन्दा अति स्वादिष्ट भन्छ । आफैँलाई अपराध बोध हुन्छ । समर अनमोल रतन हो । म उनको जवाफ सुनेर अवाक् भएँ ।

मैले यो पटक समरलाई सोधे, समर तिमी अहिले पनि के साँच्ची कै स्मृतिलाई उत्तिकै माया गर्छौ ? आर्थिक रूपमा गरिब समर जसलाई म शाब्दिक अभिव्यक्तिमा पनि स्मृति भन्दा कमजोर पाउँछु । उसले बेजोड जवाफ दियो ।

“हजुर म जस्तो गरिबलाई माया गर्ने र मेरा दु:खाका दिनमा मेरो मेरुदण्ड बनेर खडा रहने स्मृति कोही चानचुने महिला होइन, एक योद्धा हो । मेरो सारथि हो । मेरी आमा पनि हो । कुनै जन्ममा राम्रो कर्म गरेको थिएँ होला, स्मृतिलाई अर्धांगिनीका रूपमा पाएँ ।"

समरले मलाई पराजित गरिदियो । प्रेमको यति सुन्दर संसार हुन्छ भन्ने मैले सोचेको पनि थिएन । एक छिन है भन्दै म “टप इन टाउन” भन्ने रेस्टुरण्टतिर लागेँ । चिकेन फ्राइडलगायत थुप्रै परिकार अर्डर गरेँ । लिएर स्मृति र समरको घरतर्फ लागेँ । मैले स्मृतिलाई प्याक गरेको खाने परिकार दिएँ । उनी लिन अनकनाइन । उनले दाइ चिया लिनुस् भनेर स्टिलको ग्लासमा चिया दिइन् । मलाई लाग्दैन, उनीहरूलाई थाहा थियो आज 'भ्यालेन्टाइन डे' हो । मैले पनि भनिन । जसको जीवन नै प्रेम दिवस होस्, उसलाई कुनै दिनको के आवश्यकता? चिया पिउँदै जाँदा मन भकानिएर आयो । म जुरुक्क उठेँ । मैले अनुमति मागिन । सिधै घरतर्फ लागेँ ।

मेरा आँखाबाट आँसु झरिरहे । मेरा आशुले आँखालाई सोधेनन् । गरिबी, अभाव वेदना, यातना, बहिस्करणका बाबजुद एक अर्काप्रतिको समर्पण, भक्ति भाव र त्याग देखे पछि बुझ्ने बुझाउने र सोध्ने केही बाँकी थिएन। प्रेमको यस्तो अलौकिक स्वरूप अविस्मरणीय थियो ।

त्यही थियो, मेरो वास्तविक प्रेम दिवस मेरो भ्यालेन्टाइन डे, जसले मलाई प्रेम को अर्थ सम्झाएको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

त्यो सुकी, यो सुकी 

दिवाकर बागचन्द

न्यूयोर्क — मैले कुनै नाम चलेको अभिजात्य वर्गका छोराछोरी पढ्ने स्कूल पढ्ने मौका पाइन । प्रतिष्ठित कलेज या विश्वविद्यालयमा पढ्ने कुरा त कल्पना भन्दा बाहिरकै कुरा भयो । ठुला ठुला शिक्षण संस्थाबाट शिक्षा हाँसिल गरेका व्यक्तिहरुप्रति मेरो सदैव आदरभाव रह्यो ।

Photo: storypick.com

उनीहरु जस्तो शिक्षा लिन पाएको भए समाज र देशलाई केहि योगदान गर्न सक्थे कि भन्ने मलाई सधै लागि रहन्थ्यो। अहिले बिस्तारै बोध हुन थालेको छ. मलाई जिन्दगीले जे दियो त्यसैमा खुशी हुन थालेको छु।

अहिले फर्केर हेर्दा के पनि बोध हुन थालेको छ, संसारमा जति बितण्डा मचिएको छ, त्यो पढालेखा र विश्वले सम्मानित गरेकाबाट नै भएको छ। यसको अर्थ कदापि यो होइन कि पढाइ लेखाइका कारण बिश्व समस्या ग्रस्त छ। शिक्षा भन्दा महानतम् कर्म के हुन् सक्छ? तर प्रश्न के हो भने पठनपाठनको औचित्य के? यसको उत्तर गान्धीलगायत थुप्रैले दिएका छन्, त्यसैले म दिन चाहन्न किनभने म जस्तो साधरण मनुस्यको सानो बुझाईले थुप्रैको भावनालाई आहत पार्न सक्छ, यस्तो कर्म गर्न चाहन्न।

आज फेरी म यस्तो बिषय बिषयमा लेख्न गइ रहेछु, जुन मेरो देशको होइन। तर यसको प्रभावबाट मेरो देश मात्र होइन संसारका कुनै देश मुक्त छैन र हुन सक्दैन पनि। मलाई कतिपयले भन्ने गर्छन्, आफ्नो देशको बारेमा लेख न, के अरुको बारेमा लेखेको? म उनीहरुलाई गान्धीको अमर बाणी याद दिलाउन चहान्छु, 'मेरा लागि देश प्रेम र मानव प्रेममा कुनै भेद छैन।'

सामाजिक सञ्जालमा म्यान्मार र रोहिंग्याको बारेमा नलेखिएको कुनै दिन हुदैन। यसै क्रममा दिल्लीको लेडी श्रीराम कलेजमा आङ सान सुकीले बृक्ष रोपण गरेको तस्बिर भेटें। उनी त्यहि पढेकी रहिछन्, त्यसपछि बेलायतको अक्सफोर्डबाट स्नातकोत्तर गरेकी रहेछन्। म तस्बिर हेरी रहें। गान्धीको देशमा पढेकी, शान्तिका लागि नोवेल पुरस्कार पाएकी सुकी लाई कुनै समय टाइम पत्रिकाले 'गान्धीको बालक' गान्धीको अहिंसाको सिद्धान्तको उतराधिकारी भनेर लेखेको थियो।

२१ वर्ष जेल बसेकी सुकीको जीवन यात्रा त्याग र साहसको गाथा हो। यो यात्रा सहज होइन, यो यात्रामा सबै हिड्न सक्दैनन्। सुकी त्यो कोही नहिड्ने कठिन बाटोमा हिडिन्। संसारले सम्मान र माया दियो। तर जुन गन्तब्यका लागि यात्रामा हिडेकी थिइन् त्यहाँ पुगेपछि उनी बिचलित भइन्। यात्राको कुनै निशान थिएन, केवल थियो त एउटा स्थान जो शक्ति, महत्वकांक्षको धम्भले लतपत देखियो। मैले उनको प्रभावशाली शिक्षामा गान्धीबादी जीवन पद्धतीको कुनै अंश पनि देखिन।

उनी एक पछि अर्को गरि मानवीय मूल्य बिपरित अभिव्यक्ति दिन थालिन्। उनका यिनै ब्यबहारले उनको लोकतान्त्रिक चरित्र धोका हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक थियो। २०१३ मा बीबीसीका मिशाल हुसेनलाई दिएको अन्तर्वार्तामा रोहिन्ग्यामाथि भएको दमनको उनले भर्त्सना गरिनन् बरु अत्यन्त आपत्तिजनक टिप्पणी गरिन्। 'म्यानमारमा देखिएको तनाव' बिश्वब्यापी रुपमा 'बढ्दो मुस्लिम शक्ति' को कारणसमेत भन्न भ्याइन्। राजनीतिक खेलाडीका रुपमा यसो भन्ने स्वन्त्रता उनलाई थियो, यो उनको बाध्यता पनि हुन सक्थ्यो।

तर, उनलाई बिश्वले लोकतन्त्र र मानव अधिकारको प्रतिमूर्ति ठान्थ्यो। उनी शान्तिका लागि नोबेल पुरस्कार बिजेता थिइन्। एउटा मानवको जीवन मात्र पनि अमुल्य हुन्छ, यहाँ एउटा ठुलो समुदायको नरसंहार गरिंदै थियो। नोवेल पुरस्कार बिजेता सुकी लाई बिश्व प्रश्न नगरी बस्न सक्दैनथ्यो। प्रश्न गर्नुपर्थ्यो र उनले जवाफ दिनु पर्थ्यो। गान्धीको देश दिल्लीमा बस्दा उनले के साँच्चै गान्धीको सिद्धान्तलाई आत्मसात गरेकी थिइन्? या 'डिग्री' मात्र लिएकी थिइन्? यदि आत्मसात गरेकी थिइन् भने कसरी बिर्सिइन्? गान्धीका यि महान बिचार 'अहिंसामा आधारित स्वराजमा' कोहि कसैको शत्रु हुदैन। सारा जनताको भलाईको सामान्य उदेश्य पुरा गर्नका लागि हरेकले आ-आफ्नो योगदान दिन्छन्।

'लोकतन्त्र र हिँसाको बीच मेलमिलाप हुन सक्दैन। जो राज्य आज नाम मात्रको लोकतन्त्रात्मक छ त्यसले या त स्पस्ट रुपले तानाशाही बन्नु पर्दछ या लोकतन्त्रात्मक बन्नु पर्दछ। अहिंसाको पालना व्यक्तिले मात्र गर्न सक्दछ। व्यक्तिबाट बनेको राष्ट्रले सक्दैन भन्नु बिल्कुल अविवेकी कुरा हो' मधुसुधन पाण्डेयले अनुवाद गरेको गान्धीको 'मेरो सपनाको भारत' पुस्तकमा उल्लेख छ।

सुकीले धेरै पहिले आफ्नो निबन्ध संग्रह 'फ्रिडम फ्रम फियर' मा भनेकी थिइन्, 'शक्तिले होइन, शक्ति गुमाउने डरले मान्छे भ्रष्ट हुन्छ।' २१ वर्ष जेल जीवन बिताएकी र पति गुमाएकी आङ सान सुकी लाई के को भय होला? तपाई आफु जस्तै मानवको हत्या रोक्न सक्नु हुन्न भने लोकतन्त्रको नैतिक धरातलमा खडा भएर पुरा बिश्वलाई सत्य त बताउन सक्नु हुन्छ। आज सुकी लाई बिश्वले सोधी रहेको छ।

सुकीसंग अझ पनि अहिंसाको बाटोमा हिड्ने ऐतिहासिक अवसर छ। लोकतन्त्रलाई 'फ्रिडम फ्रम फियर' नामक निबन्ध संग्रहमा सिमित राख्ने कि जीवन्ट्ट बनाउने भन्ने रोजाई उनीसंगै छ, जसले कुनै दिन शान्तिका लागि नोवेल पुरस्कार पाएकी थिइन्।

प्रकाशित : मंसिर ६, २०७५ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्