जब छिमेकीले नै नेपाल कहाँ पर्छ भनेर सोध्छन्.....

डोलु आले मगर

कोरिया — म एक अदक्ष विदेशी श्रमिकका रूपमा दक्षिण कोरिया पुगेको सुरु-सुरुमा यहाँका नागरिकहरूले तेरो देशमा टिभी छ? कम्प्युटर छ? भात पाउँछ? गाडी छ?  रेल छ? जस्ता हेपाहा प्रवृत्तिका प्रश्नहरू गर्थे ।

आयातित भए पनि हाम्रो देशमा टिभी छ। कम्प्युटर छ। गाडी पनि छ। कुनै समयमा यहाँका नागरिकहरूले जस्तो खानै नपाउने अवस्था भएर झारपात, किरा फट्याङ्ग्रा, कुकुरदेखि समुन्द्रको लेउसम्म खानुपर्ने अवस्था अहिलेसम्म हामी नेपाल र नेपालीहरूलाई परेको छैन।

Citizen

करिब ६ दशक अगाडी नेपालले पनि दक्षिण कोरियालाई गहुँ (खाद्यान्न) सहयोग गरेको अहिले दन्त्य कथा जस्तो बनी सक्यो। रह्यो रेलको कुरा, रेलको लिग मात्रै देखाउन भए पनि जनकपुर जयनगर रेलमार्ग छँदै थियो। सन् १८३० तिरैबाट बेलायतमा सुरु भएको रेल सेवा एक्काइसौँ शताब्दीमा आइपुग्दासम्म पनि हामी र हाम्रो देशको निम्ति सम्भव र असम्भवको बहसमै सीमित छ।

चाइनिज नयाँ वर्ष तथा कोरियन पर्व सलनालको बिदाको अवसरमा करिब ४ घण्टाको समयमा ३२० किलोमिटर दुरी पार गर्दै हरेक वर्ष जसो कोरियाको राजधानी सोल-तोंदेमुन तिर पुग्ने गर्छु।

कोरियामा मनाउने दुई मुख्य पर्व छुसक र सलनालको बेलामा करिब करिब हप्ता दिनको बिदा हुने गर्छ। नेपालीहरू एकआपसमा भेटघाट, विभिन्न सङ्घसंस्थाद्वारा आयोजना गरिने विभिन्न साङ्गीतिक, साहित्यिक तथा राजनीतिक कार्यक्रम, भेला, बैठक यसै समय तिर हुने गर्छ।

यसै कारण कोरियाको राजधानी सोल तोंदेमुन क्षेत्रमा नेपालीहरूको ठुलै भेला हुने गर्छ। नेपाली युवाहरूको मेला लाग्छ। यस समयमा नेपाली रेस्टुरेन्ट, कोरियन रेस्टुरेन्टमा मात्रै नभएर सडकको पेटी, खाली चौर र ट्रेन स्टेसन भित्र नेपाली युवाहरूको उपस्थिति अरू यात्रुलाई बाटो छिचोल्न हम्मे हम्मे पर्ने गरी हुन्छ।

दक्षिण कोरियामा इपीएसमार्फत कामदारको रूपमा आउने नेपालहीहरुको सङ्ख्या बढे सँगै उक्त स्थानमा नेपाली युवाहरूको सङ्ख्या पनि बढ्दै गएको देख्न सकिन्छ। तर कतिपय पुराना व्यक्ति तथा व्यवसायीहरूले भने कोरियाको अन्य सहर सुवन, आन्सान र बुसान तिर पनि नेपाली रेस्टुरेन्ट खोल्ने र विभिन्न सांगीतकलगायत अन्य कार्यक्रमहरू ती स्थान तिर पनि गर्ने क्रम बढे सँगै सोल तोंदेमुनमा नेपालीहरू आउने क्रम घटेको छ।

एउटा अदक्ष कामदारको रूपमा दक्षिण कोरिया प्रवेश गरेको करिब सात वर्ष हुनै लाग्यो। पहिलो कार्यकाल सक्काएर दोस्रो कार्यकाल कमिटेड कामदारको रूपमा आएको दुई वर्ष पुरा हुन लागेको छ। गत वर्ष जस्तै यो वर्ष पनि सलनाल पर्वको बिदामा साथीहरूसँगको भेटघाटको निम्ति सोल तोंदेमुन गएको थिएँ।

भेटघाटको पहिलो साँझ नेपाली रेस्टुरेन्टमा खाना खायौँ र मोटेलमा बस्यौँ। भोलिपल्ट बिहानको खाना खानको लागि एक कोरियन रेस्टुरेन्टमा प्रवेश गरेका थियौँ। कोरियामा अक्सर नेपालीहरूको रोजाइमा पर्ने कोरियन खान उही प्ये:हेजाङखुग अर्थात् बङ्गुरको ढाडको हड्डीसहित बनेको परिकार अर्डर गर्‍यौँ।

त्यसै क्रममा त्यस रेस्टुरेन्टमा काम गर्ने एक अधबैँसे चिनियाँ महिलाले सोधिन्- अनु नारायस ओसस्सयो? (कुन देशबाट आएका हौ? अर्थात् कुन देशको नागरिक हौ? )

साथीले जवाफ दियो- नेपाल!

ती महिलाले नबुझे पछि लवज बिगार्दै फेरि अर्को साथीले भने ने-फाल (आफू र आफ्नो हात देखाउँदै) भने।

बुझे जस्तो गर्दै ती महिलाले जवाफ दिइन् आ... नेफाल! नेफाल? र फेरि प्रश्न गरिन्- नेफाल अदिया? (अर्थात् नेपाल कहाँ पर्छ? )

त्यति बेला कटक्क! मन दुख्यो।

लाग्छ हामी सामान्य शिक्षा हासिल गरेका हरेक नागरिकलाई थाहा छ कि हाम्रो छिमेकी देश उत्तरमा चीन र दक्षिणमा भारत पर्छ। तर यत्तिको शिक्षित जो कोरियन भाषा सिकेर, कोरियामा आएर काम गर्न सक्ने चिनियाँ नागरिकलाई नेपाल कहाँ पर्छ साँच्चै अवगत छैन होला? नेपाल आफ्नो देशको छिमेकी देश हो भन्ने साँच्चै थाहा हुन्न होला? उनको देशमा कस्तो शिक्षा पढाइने गर्छ होला? चीनको छिमेकी देश, त्यो पनि सगरमाथाको देश, बुद्धको देश, वीर बहादुरहरूको देश ! तर पनि हामी र हाम्रो देश कहाँ छ? कहाँ पर्छ भन्ने कुरा छिमेकी देशका नागरिकलाई थाहा नहुनु हाम्रो कमजोरी हो या तिनको? प्रश्नहरू एकपछि अर्को गर्दै मन भित्र उब्जिदैं गयो।

हामी विस्मित ! हाँसो हाँस्दै भन्यौँ हाम्रो छिमेकी देशको चिनियाँ नागरिकलाई नेपाल कहाँ पर्छ थाहा छैन?
हैट!! बिजोग छ।

विश्वमा अहिले रहेका १९५ देश मध्ये कुन देश कुन कुनामा उभिएको छ? कुनै पनि देशको नागरिकलाई यसबारे जानकारी नहुनु अन्यथा होइन। यति धेरै देशहरू कुन ध्रुवमा? कुन महादेशमा? कुन किनारमा वा कुन रेखामा आफ्नो सिमाना र अस्तित्व जोगाउँदै बसेका छन्? ती विषयबारे सबै नागरिक अवगत हुन्छन् भन्ने छैन। तर सामान्यतः सामान्य शिक्षा हासिल गरेका देशका नागरिकहरू आफ्नो देशको छिमेकी देश को-कहाँ पर्छ भन्ने बारेमा जानकारी हुन्छन् भन्ने लाग्छ।

बुद्धको देश, संसारकै अग्लो शिखर सगरमाथाको देश र बहादुरहरूको देश भन्नु मात्रै संसारले नेपाललाई चिन्ने सही मानक हो भन्ने हैन रहेछ। तर हामीलाई भ्रम छ हाम्रो देश विश्वमा परिचित छ। नेपाल र नेपाली भनेपछि विश्वकै जनताले चिन्नेछन् किनकि हाम्रो देशको आफ्नै पहिचान छ। त्यो पहिचानको मानक हो, बुद्धको देश, माउन्ट एभरेस्टको देश, हिमालयको देश र बहादुरहरूको देश। तर यी मानकहरूलाई पन्छाएर हेर्दा हामीले नेपाललाई चिनाउने अरू माध्यम केही छैन। कसैले चिन्छन् भने त्यो अर्को माध्यम हुनसक्छ संसारको गरिब मध्येको एक गरिब देश। संसारमै धेरै भ्रष्टाचार हुने मध्येको एक भ्रष्ट देश। युवाहरूलाई विदेश पठाएर देशमा समृद्धिको रटान लगाउने देश।

आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारतको एक अङ्ग ठान्नु नेपाल एक स्वतन्त्र देश हो भन्ने नबुझेर हैन। गरिब देश भनेर हेपेका हुन्। नेपालीहरूले पसिना बगाएको देश खाडी देशहरूको मरुभूमि फुल्दै गयो तर आफ्नो सुन्दर देशको भूमि उजाड बन्दै गएको छ। आज कुनै पनि युवाले आफ्नै देशमा सुन्दर भविष्यको कल्पना सजिलै गर्न सक्दैनन्। हामी राजनीतिक वैचारिक आधारमा अमेरिकाको पक्ष र विपक्षमा लागे पनि, भारतको पक्ष र विपक्षमा लागे पनि, चीनको पक्ष र विपक्षमा लागे पनि हाम्रो आन्तरिक राष्ट्रियता, आर्थिक समृद्धि र विकास नभएसम्म हामी यसरी नै हेपिँदै बस्नु पर्ने हुन्छ। छिमेकी देशको नागरिकले नेपाल कहाँ पर्छ? भन्ने जस्ता प्रश्नहरूको सामना गरिरहनु पर्ने हुन्छ।

स्याङ्गजा, हाल दक्षिण कोरिया।
alexdolu@gmail.com

प्रकाशित : फाल्गुन ९, २०७५ १६:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बैंकको ब्याज विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित

आनन्द गौतम

ताप्लेजुङ — बैंकको ब्याजदर विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले व्यवसायीहरूलाई बैंकले नाङ्गो बनाएकाले आन्दोलन गर्न बाध्य भएको बताए । ८ प्रतिशतमा सम्झौता गरेको ऋणको ब्याज १८ प्रतिशतसम्म पुर्‍याएको उनको दाबी छ । 

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका प्रतिनिधिहरू बैंकको ब्याज विरुद्धको आन्दोलनको घोषणा गर्दै । बैंकले टाट पल्टाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका छन् । तस्बिर: आनन्द गौतम / कान्तिपुर 

‘पहिला नेपाल बैंक मात्रै थियो पछि वाणिज्य बैंकहरु धमाधम थपिए, उनीहरू घरघरमा आएर ऋण लिइदिन अनुरोध गरे,’ घिमिरेले थपे,‘उनीहरूको प्रतिस्पर्धाले सात र आठ प्रतिशत ब्याजमा सम्झौता गरे अहिले दोब्बर भन्दा बढी बढाएर व्यवसाय नै टाट पल्टाइदिएका छन् ।’ ऋण अनुसार मूल्याङ्कन गरेको व्यावसायिक योजनाले फेल खाएपछि धेरै व्यवसायी समस्यामा परेको उनले सुनाए । बैंकले बिना जानकारी ब्याज बढाउने र त्यही अनुसार असुल्ने गरेको व्यवसायीको गुनासो छ ।

धेरै व्यवसायी निजी बैंकसँग आबद्ध भएकाले ब्याजदर घटाएर एकरुपता गर्न माग गरेका छन् । ‘वार्षिक १० लाख रुपैयाँ तिर्ने योजनाका आधारमा ऋण लिएकाले २० लाखसम्म ब्याज तिर्नुपरेपछि कसरी कारोबार गर्न सकिन्छ,’ उपाध्यक्ष नारान थापाले भने, ‘आवाज त पहिलापनि उठाएका थियौँ, तर अब सङ्गठित आवाज सुरु गरेका हौँ ।’ ब्याजदर नघटाए थप आन्दोलित हुने व्यवसायीको अडान छ ।

सदरमुकाम फुङलिङमा नेपाल बैंक, एनएमबी, जनता, सिद्धार्थ, सेन्चुरी, ग्लोबल आईएमई, लक्ष्मी र प्राइम बैंक रहेका छन् । थप बैंक आउने तयारीमा छन् । नौ वटा स्थानीय तह रहेको जिल्लाका ६ वटा गाउँपालिकामा पनि बैंकहरु पुगेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १५:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT