किन भइरहेको छ अमेरिकामा नेपालीमाथि शृङखलाबद्ध आक्रमण ?

दधिराम खतिवडा

काठमाडौँ — अलिकति आशा र उत्सुकता, अलिकति निराशा, अलिकति भ्रम अनि अलिकति यथार्थताको समिश्रण बोकेर अमेरिका प्रवेश गरेका थुप्रै नेपालीहरूले विगत केही वर्षयता अनाहकमा मृत्युवरण गर्नुपरेको कारूणिक र अप्रिय घटनाहरू चरणबद्द रूपमा बढिरहेका छन् ।

हालसालै केन्टकी राज्यको एलिजावेथ टाउनमा लमजुङ गिलुङग स्थायी घर भएका सुभाष घलेको गोलि हानी हत्या गरिएको छ भने सोही घटनामा परी अर्का प्रयास बानियाँ सख्त घाइते भएका छन् । यो अमेरिकामा भएको पहिलो घटना भने होइन । २०१९ को जनवरीमा टेक्सस, डालसको गारल्याण्ड ब्रोडवे एभेन्यूमा रहेको ग्यास स्टेशनमा लुटपाट र आतंकका क्रममा ३५ वर्षीय मनिष पाण्डेको ज्यान गयो ।

Citizen

त्यसैगरी गत २०१८ नोभेम्बरमा धनगढीका ३१ वर्षीय विनोद जेठारा टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेसनमा काम गरिरहेका बेला अश्वेत बन्दुकधारीहरूले हत्या गरे । दुई वर्षअघि टेक्ससकै डेन्टनमा ग्यास स्टेशनमा कार्यरत समिरा शिवाकोटीको हत्या भएको थियो । नेपालीहरूको बसोबासको बाहुल्यता मानिने ड्यालस र वरपर नेपालीहरूद्वारा सन्चालित ग्यास स्टोरमा लुटपाट र मानवीय हिंसाका घटना अस्वभाविक तीब्र बढ्दै गएका छन् ।

जुलाइ २०१८ मा भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित सुनाको ग्यास स्टेसनमा एकाबिहानै भएको आक्रमणमा गोरखाका ४० वर्षीय रेशम बजगाईंको मृत्यु भएको थियो । त्यसलगत्तै ओक्लोहोमा राज्यको बडिज ह्यान्डी मार्ट ग्यास स्टेसनमा दिउँसै काला जातिका एक लुटेराले अन्धाधुन्ध बन्दुक चलाउदा रचना श्रेष्ठमाथि आठ गोली लाग्यो । पिठ्यूँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेर अल्पिल्ठो भएकी उनी उपचारपछि नयाँ जीवन पाएकी छन् ।

पाँच महिनाअघि मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा ४१ वर्षीया बृन्दा गिरीको मत्यु भयो । घटनामा गिरीसहित अन्य तीन जनाको ज्यान गएको थियो । परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका आउनेहरूको जीवन हिंसाका घटनाले डरमर्दो बनाएको छ । ग्यास स्टेसनमै ज्यान गुमाउने र घाइते हुने नेपालीहरूको एकिन तथ्यांक नभएता पनि कहालीलाग्दो स्थिति छ ।

गत जनवरीमै टेक्ससको अर्बिनमा बन्दुकधारीहरूले प्रहरी अधिकारीहरूमाथि नै आक्रमण गरी ज्यान लिइएका थिए । यहाँको प्रशासनलाइ नै प्रमुख चुनौती दिने अश्वेत आतंककारीहरूबाट जोगिन जोकोहिलाइ निकै मुस्किल छ ।

विशेषगरी वैधानिक कागजात नहुनेहरू, अध्यनरत नेपाली विद्यार्थीहरू, नवप्रवेशी र अन्य सीप एवंम् भाषामा दख्खल नभएकाहरू ग्यास स्टेसन र स्टोरहरूमै काम गर्न बाध्य हुन्छन् । तुलनात्मक रूपमा बढी जोखिम पनि यही क्षेत्रमा छ । अमेरिकामा ग्यास स्टेसनमा पेट्रोल, डिजेलसहित चिया, कफी, चिसो पेयपदार्थ, चुरोट, सामान्य खाजा एवं एटीएम मेसिनलगायत उपलब्ध हुन्छ ।

प्रायः नगदमा कारोबार संकलन गर्ने स्टोर, पसल र ग्यास स्टेसनहरूमा यस्ता घटना निरन्तर दोहोरिरहेका छन्् । अमेरिकामा आएर नेपालीहरूले रोजगारीको सुरूवात गर्ने ग्यास स्टेसन हो । तर त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । केही यस्ता घटनामा एसियाली मुलुकका आप्रवासी हिन्दू धर्मावलम्बीहरूलाई देख्नै नसक्ने जातिवादी आपराधिक समूहहरू संलग्न भएका छन् । विभिन्न राज्यमा भएका हिन्दू मन्दिरहरूमा आक्रमण र तोडफोड गर्ने अर्काथरी क्रिश्चियन सम्प्रदाय पनि अस्थिस्त्वमा छन् । केही समययता आप्रवासीमाथिको जातीय विभेद पनि बढ्दो छ ।

आक्रमणको निसाना

अमेरिकामा बन्दुकधारी अपराधीहरूको संख्या दिनानुदिन बढ्दो छ । लुट्नु एक प्रकारको व्यवसायिक पेशा नै भएको पाइन्छ । ग्यास स्टेसन लक्षित घटना प्राय रातिको समयमा अश्वेत लुटेराहरूबाटै भएका छन्् । नेपालीहरूले रातिको समयमा एकान्तमा एक्लै काम गर्नुपर्ने बाध्यता, सञ्चालक/मालिक स्टोरमा नबस्ने, आत्मसुरक्षाबारे नबाताइदिने, राति सुरक्षाको बलियो व्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढ्नु, सुरक्षा उपायहरू अपनाउनेभन्दा पनि प्रतिवाद गर्ने क्षमता नहुनु र पैसा जोगाउने नाममा ज्यान माया मार्ने खालको गतिविधि नै यस्ता अप्रिय घटनाका मुख्य कारण देखिएका छन्् ।

यस्तो अवस्थामा होसियारीपूर्वक सावधानी उपायहरू अपनाउनु नै उत्तम हुने देखिन्छ । त्यसका लागि ग्यास स्टेसन साहुहरूले कामदारलाई सबैभन्दा ठूलो कुरा ज्यान हो, पैसा हैन भन्ने सिकाउन जरूरी छ । सकेसम्म पैसा जोगाउने तर त्यस्तो अवस्था नआए ज्यानको जोखिम नलिने भन्ने सुरक्षा मुलमन्त्र कामदारहरूलाई दिनु नै अहिलेका लागि पहिलो सुरक्षा मन्त्र हुन सक्छ । मालिकले जे भने पनि कामदारले एउटा नेपाली उखान सधैभरी सम्झनुपर्ने हुन्छ । त्यो के भने अनिकालमा बीउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु । रिसाउने, परिस्थितिको आकलन नगर्ने, सुरक्षामा लापरवाही गर्नेलगायतका ज्यान जोखिम बढाउने काम गर्नु हुँदैन ।

ग्यास स्टेशनमा काम गर्नु वा ब्यावसाय गर्न निकै चुनौतिपूर्ण छ । अपराधजन्य घटना यही हुन्छन् । यस्ता घटना घट्न नदिन के गर्ने भन्ने नै यसको चुरो उपाय हो । यस्ता घटनाहरू लुटेराबाटै हुने भएकाले लुटेराहरू किन आउँछन् भन्ने नै मूल प्रश्न हो । अधिकांश घटनाको प्रकृति धेरैमा व्यावसायिक लुटेराहरू नै संलग्न छन् । कोही लागू पदार्थ दुर्व्यसनी र सेवनका लागि लुट्ने टापटिपे लुटेराहरू पनि संलग्न भएको पाइन्छ ।

परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका आउनेहरूको जीवन हिंसाका घटनाले उजाड बनाइदिने क्रम बढ्नुलाई यहाको प्रशासनले प्रमुख चुनौती मानेको छ। विशेषगरी साना नानी लिएर आएका दम्पतीमध्ये एकको मृत्यु भए त्यो परिवारको दुःख बयान गरिनसक्नु भएको छ ।

आपराधिक गिरोहको उदय

हामीलाई लाग्छ, अमेरिका निकै सम्पन्न छ । तर, सत्य त्यो होइन । अमेरिकामा पनि थुप्रै विपन्न छन् । सधैं अभावमा बाँच्नुपर्ने समुदाय यहाँ ठूलो छ । उनीहरु सधैं र सबैतिरबाट हेपिन्छन् । अशिक्षा, गरिबी र बेरोजगारीबाट आक्रान्त त्यस्तो समूहका युवाहरूले सजिलै काम पाउँदैनन्। जब चारैतिरका ढोका बन्द हुन्छन्, मान्छे मर्नुभन्दा बौलाउनु निकोको स्थितिमा पुग्छ, अनि दुई-चार डलरमा कसैको ज्यान लिन पनि पछि पर्दैनन्। उनीहरुको साथी भनेकै लागु पदार्थ हो । उनीहरु आफ्नो जीवनको बारेमा कमै सोच्ने गर्छन् । लागुपदार्थको व्यापार र लुट्नु नै उनीहरुको मुख्य धन्दा हो ।

अमेरिकामा १८ वर्ष उमेर पुगेको व्यक्तिले सहजै बन्दुक किन्न सक्छन् । त्यसैले त्यसको दुरुपयोगका घटना दोहोरिने गरेका छन् । लुटेरा एवं हिंसाविरुद्धको कारबाहीलाई अमेरिकी प्रहरीले प्राथमिकतामा राखेको छ । तर, तिनको जोखिम घटेको छैन। अमेरिकामा प्रहरी कारबाहीमा लुटेरा पक्राउ पर्ने र सर्वसाधारण मारिने घटना निरन्तर भइरहन्छन् । यस्ता घटना बढी हुने राज्यमा शान्तिसुरक्षाको प्रत्याभूति प्रमुख राजनीतिक एजेन्डाकै रूपमा स्थापित छ ।

अमेरिकामा लुटेराहरु पेस्तोल साथमा बोकेर हिँड्छन् । विगतका वर्षहरुमा अमेरिकामा भएका नेपालीहरुको हत्यामा गोली प्रहार प्रमुख देखिएको छ । लुटेराहरुले भनेको नमान्दा, उनीहरुसित बाझ्दा धेरैको ज्यान गएको देखिएको छ । त्यसो त कुनै-कुनै लुटेरा सुरुमै गोली हानेर लुट्ने पनि हुन्छन् । उनीहरु स्टोरमा छिर्छन्, बोल्दै नबोली गोली हान्छन् र लुट्छन् ।

व्यवसाय र रोजगारी

अमेरिकाका अधिकांश राज्यमा नेपालीका सयौको संख्यामा ग्यास स्टेसन छन् र सोही संख्यामा नेपालीहरू ग्यास स्टेसनका मालिक भएर अर्थोपार्जन गरिरहेका छन् । प्रारम्भिक अनुमान अनुसार कतिपयले नेपालमा स्रोत नखुलेको अकुत सम्पति कालो धन कमाएकाहरूले अमेरिकामा ग्यास स्टेसनमा लगानी गरेका छन् । राजनीतिक दलका नेता र कमाउ उपल्लो तहका कर्मचारीहरूले आफन्तमार्फत् यस्तो लगानी गरिरहेको बताइन्छ ।

अलिकति पूँजी, ज्ञान र अनुभव हासिल गरेपछि निजि ग्यास स्टेसन खोल्न पुग्छन् । एउटा स्टोर भएपछि केही समयमा अरू थप्ने क्रम सुरू हुन्छ । यसो गरेर धेर नेपालीहरू एक हैन, दर्जनौ ग्यास स्टेसनका मालिक हुन पुगेका थुप्रै व्यवसायिक उदाहरण पनि छन् ।

नेपाली ग्यास स्टेसन सञ्चाकहरूको आधिकारिक तथ्यांक नभएको बेला काम गर्ने नेपालीको एकिन संख्या भन्न सकिने अवस्था छैन । अर्को राम्रो काम नपाउन्जेल गरिने कामका रूपमा समेत लिइने भएकाले ग्यास स्टेसनबाट अन्य जब स्टेसनतिर हिड्नेहरूको तरल संख्या पनि ठुलो छ । नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सासमा मात्र पनि ठूलो संख्यामा नेपालीहरू ग्यास स्टेसनमा काम गरिरहेका छन् ।

भारतीय पाकिस्तानी तथा नेपालीद्वारा सञ्चालित सटोरहरूमा विद्यार्थी र नवप्रबेसीलाइ तालिम भनेर महिनौ बिना पारिश्रमिक भुँइ र सिसा सफा गराउँछन् । आफूलाई समाजसेवी भएको दाबी गर्दै नेपालतिर फेस्बुक्याउँछन् । तितो यथार्थता हामी माझ छर्लङ छ । समाजसेवाको लाभ कसले कति पायो त्यो भुक्तभोगीहरूलाई थाहा होला । अन्तिममा तिनै अबोध युवा विद्यार्थी नरसंहारकारी हिंसाको सिकार बनेका छन् ।

अमेरिकामा रहेका नेपालीमध्ये धेरैले आफ्नो अमेरिकी जीवन ग्यास स्टेसनबाटै सुरू गर्छन् । जोखिमका लागि तयार रहने चरित्र, स्टोरमा क्यासियर भएर काम गर्न सक्ने पढाइ, आफुले भने जस्तो समयमा सहजै काम पाइने भएकाले पनि नेपालीका लागि सुरूवाती दिनमा ग्यास स्टेसन रोजगारीको केन्द्र भएको छ ।

दर्जनौं नेपालीको मृत्यु

अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, कष्ट र पीडाको पहाड पनि तेर्सिएको छ । सुरक्षा जटिलता अहम छ । यसै क्रममा कयौ नेपालीले ग्यास स्टेसनमै असामयिक मृत्यु पनि वरण गरिसकेका छन् । एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेको बेला ज्यान गुमाएका छन् ।

ग्यास स्टेशनमा काम गर्दा लुटेराको कुटाईबाट घाईते हुने, कुटाई खाने या लुटिनेहरूको संख्या ठुलै छ । अमेरिकामा ग्यास स्टेसनमा दिनानुदिन सुरक्षा चिन्ता बढ्दो छ । व्यवसायको वीमा हुने भएकाले मालिकहरूलाई केही राहत हुने देखिन्छ । तर, अधिकांश कामदारको बीमा पनि नुहने भएकाले उनीहरूको जीवन र परिवारमा ठूलो ज्वारभाटा नै आउने गरेको छ ।

जोखिम

अमेरिकामा गोली चल्नु नौलो घटना होइन । बेलबेला विद्यालय र सार्वजनिक स्थानहरुमा मास सुटिङ भई नै रहन्छ । सन् २०१८ मा मात्र मास सुटिङका क्रममा ४० जनाको ज्यान गइसकेको छ । वासिङ्टन पोस्टका अनुसार १९६६ अगस्ट १ देखि सन् २०१८ सम्ममा अमेरिकामा १ सय ५८ वटा मास सुटिङका घटना भइसकेका छन् । यस्ता घटनामा १ हजार १ सय २ जनाको ज्यान गएको छ । जसमा गर्भावस्थाकादेखि ९८ वर्षका वृद्धासम्म छन् ।

आत्मसुरक्षा

अमेरिकाका यस्ता ग्यास स्टेसन या स-साना स्टोरमा काम गर्ने नेपालीहरूले थाहा पाउनुपर्ने कुरा के हो भने ग्राहकको रुपमा आएका शंकास्पद व्यक्तिसँग प्रतिवाद नगर्नु । यदि ऊ लुट्न खोज्दैछ भने चुपचाप उसले खोजेको दिनु । तुरुन्तै प्रहरीलाई पनि फोन नगर्नु । लुटेर गइसकेपछि या आफू सुरक्षित छु भन्ने महसुस भइसकेपछि मात्र फोन गर्नुपर्छ । प्रहरीले अनुसन्धान गरेर लुटेरालाई पक्रिन सक्छ । तर, आफ्नो ज्यान फर्काउन सकिँदैन ! त्यसकारण, विशेषगरी रातिको समय या एकान्त ठाउँका स्टोरमा काम गर्नेहरुले यस्ता कुरा ख्याल गर्नैपर्छ।

स्टोरमा बुलेटप्रुफ काउन्टरको व्यवस्था गर्ने, मध्यरातमा कन्भिनियन्स पसल बन्द गर्ने र ग्यास स्टेसन मात्र चलाउने, नजिकको प्रहरीसँग राम्रो सम्बन्ध बिस्तार गर्ने, सीसीटीभीलगायतका सुरक्षा सन्यन्त्रको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

एनआरएनए निन्द्रामा

अमेरिकामा रहेका ३ लाख नेपालीहरूको छाता संस्था दाबी गरिएको गैरआवासीय नेपाली संघ अघिपछि मस्त निन्द्रामा हुन्छ । चुनाव नजिकिँदै गर्दा आगामी कार्यकालका लागि नेतृत्वका आकांक्षीहरू बाक्लो नेपाली डायस्पोरा रहेका सहरमा ठूला होटलतिर बसेर मेम्बरसिप ड्राइभ अभियान चलाएका छन् ।

बल्लतल्ल ८ हजारले सदस्यता ग्रहण गरेको तथ्याङक हेर्दा नेपालीहरूबीचको सम्पर्कमा निस्क्रियता प्रस्टै देखिन्छ । ग्यास स्टेसन, रेस्टुराहरूमा संलग्न विद्यार्थी श्रमिकहरू गैरआवासीय हुन भन्ने जानकारी छ कि छैन ॽ उर्जावान युवाहरूको अनाहकमा ज्यान जाँदा एनआरएनएले एउटा विज्ञप्तिको चिर्कटो निकालेर मात्र पुग्छ ॽ कयौं श्रम शोषणको सिकार भइरहेका छन् । उच्च शिक्षा प्राप्त गरेर कागजी उल्झनका कारण रोजगार पाउन सकेका छैनन् । नेपालीबाटै ठगिएका उदाहरण छन् । यावत विषयबस्तु उपर एनआरएले समीक्षा गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।

हामी दुःख र पीडामा गुज्रिएका नेपाली एउटा मीठो सपनाका लागि देश-विदेश धाउछौँ । दु:खको कुरा भन्नैपर्छ, संसारको चाकरी नगरी राम्रोसँग खान-बस्न सजिलो छैन । हामी नेपाली संसारको हरेक कुनामा भेटिन्छौँ । संसारका थुप्रै देशमा नेपालीहरुले आफ्नो संघसंस्था खोलेका छन् । त्यस्ता संघ-संस्थाले नेपालबाट आउने नव-आगन्तुकहरुलाई जनचेतना नयाँ भूमिको सुरक्षा प्रणाली, नीति, नियम परिबेश र वातावरण जानकारी गराउने कार्यक्रम सन्चालन गर्नु आवश्यक छ ।

हाल टेक्सस, अमेरिका

प्रकाशित : फाल्गुन १४, २०७५ ११:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुढा बनाएर परिवार पाल्दै

उद्यमी दम्पती
भवानी भट्ट

कञ्चनपुर — कृष्णपुर नगरपालिका २, वाणीका रामबहादुर चौधरीका दुवै खुट्टा चल्दैनन् । ४० वर्षीय उनी ह्वीलचियरको सहायतामा यताउता जान्छन् । उनकी पत्नी मुन्नीको पनि एउटा खुट्टा चल्दैन । उ नी लट्ठीको सहारामा हिंड्डुल गर्छिन् ।

महेन्द्रनगरको एक लघु उद्योगमा मुढा बनाइरहेका चौधरी दम्पती । तस्बिर :  भवानी : कान्तिपुर 

खुट्टाको अपांगता भएका यी चौधरी दम्पती कसैको बोझ बनेका छैनन् । बरु सीप सिकेर स्वरोजगार भएका छन् । अन्य अपांगता भएकाहरूको प्रेरणाको स्रोत बनेका छन् ।

चौधरी दम्पती बाँस र प्लास्टिक धागोबाट आकर्षक मुढा बनाउने काम गर्छन् । त्यसैको आम्दानीले परिवारको खर्च चलाएका छन् । विगतमा उनीहरू वाणीमा आफ्नै घरमा मुढा बनाउने गरेका थिए । दैनिक १/१ मुढा बनाएर बेच्थे ।

एउटाको मूल्य ३/साढे ३ सय पाउँथे । एक महिनादेखि उनीहरू दुवै महेन्द्रनगरमा हालै सञ्चालनमा आएको लघु उद्योगमा काम गर्न थालेका छन् । मासिक तलब लिने गरी उनीहरू विन्ध्यावासीनी बेत तथा बाँस लघु उद्योगमा मुढा बनाउने काममा जुटेका छन् । ‘दिनभरि काम गरी खाने गुजारा भएको छ,’ रामबहादुरले भने, ‘गाउँमा पनि मुढा बनाउँथ्यौं तर बिक्री हुँदैनथे ।’

लघु उद्योगले दुवैलाई मासिक साढे ७ हजार तलब दिनेगरी मुढा बनाउने काममा लगाएको छ । बस्ने व्यवस्था पनि उद्योगमै गरिएको छ । खाना खर्च मात्रै लाग्ने रामबहादुर बताउँछन् । ‘बिहानदेखि साँझसम्म यसमै लागेका हुन्छौं,’ उनले भने ।

रामबहादुर पहिले घरमा त्यत्तिकै बसेर दिन काट्थे । हिंड्डुल गर्न नसक्ने भएकाले यताउता पनि जाँदैनथे । २ वर्षअघि घरछेउकै हरियाली सामुदायिक वनले महिलाहरूका लागि मुढा बनाउने तालिम सञ्चालन गरेको थियो । मुन्नीले पनि तालिम लिइन् । तालिम पाएपछि मुन्नीले घरमा मुढा बनाउन सुरु गरिन् । रामबहादुर पनि उनलाई सघाउन थाले । हेर्दाहेर्दै उनले पनि काम सिके ।
‘दुवै मिलेर २ वर्ष गाउँमै मुढा बनाएर बेच्यौं,’ मुन्नीले भनिन्, ‘तर गाउँमा बिक्री नहुने, भए पनि राम्रो मूल्य नपाउने भएकाले राम्रो आम्दानी हुँदैनथ्यो ।’

मुक्त कमैया शिविरमा बसोबास गर्ने उनलाई ४ छोरीको पालनपोषण गर्नसमेत समस्या थियो । कमैया पुन:स्थापना कार्यक्रमअन्तर्गत नदी किनारमा पाएको ५ कट्ठा जमिन पनि खोलाले बगाएर बगर बनाएको छ । उक्त जमिनमा उब्जाउ नभएकाले बाँझो छाडेको उनले सुनाइन् ।

चौधरी दम्पतीका जेठी १२ वर्षीया छोरी पनि उनीहरूसँगै लघु उद्योगमा अम्रिसोको कुचो बनाउने काम सिकिरहेकी छन् । अन्य ३ छोरी सानै भएकाले मुन्नीले मुढा बनाउने कामसँगै उनीहरूको रेखदेखको बोझ पनि छ । रामबहादुरको एउटा खुट्टा जन्मेदेखि नै चल्दैनथ्यो । एक वर्षको हुँदा दिदीको हातबाट लडेपछि उनको अर्काे खुट्टामा पनि चोट लाग्यो । विस्तारै अर्काे खुट्टा पनि चल्न छाडेको उनले बताए ।

अपांग भएका कारण उनको विवाह पनि हुन सकेको थिएन । जब शिविरमा मुन्नीका बुवासँग रामबहादुरको भेट भयो त्यसपछि उनको विवाहको कुरा अघि बढेको हो । दुवै शारीरिक अपांगता भएकाले एकअर्काेको दु:ख जानेको र सँगै दु:ख काट्न तयार भएको मुन्नीले बताइन् । उनको पनि बायाँ खुट्टा जन्मेदेखि नै कमजोरभएर चल्दैन ।

प्रकाशित : फाल्गुन १४, २०७५ १०:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT