'यूएईमा जालीहरु पनि छन्'

मेघराज सापकोटा

यूएई — 'एक जना नेपालीलाई अजमान प्रहरीले पक्राउ गरेको छ, कहाँ राखेको छ थाहा छैन । दूतावासमार्फत सहयोग गरिदिनु पर्‍यो सर !', सुशीलजीले फोनमार्फत सहयोगको लागि अनुरोध गर्नुभयो । मैले घटनाबारे तुरुन्त नेपाली दूतावासमा जानकारी गराएँ । दूतावासमार्फत उनको बारेमा खोजी गरियो । अहिले पनि रिहाईको लागि आवश्यक सहयोग र पहल जारी छ ।  

पक्राउ पर्ने नेपाली थिए, मोरङका चन्द्रमान । चन्द्रमान विगत ७ वर्षदेखि यूएईमा सेल्समेन पदमा कार्यरत थिए । यूएई बस्दै जाँदा धेरै नेपालीहरुसँग चिनजान र भेटघाट भयो । पूर्व झापाको केचनाकबलदेखि पश्चिमको दोधारा-चाँदनीसम्म र पूर्व-उत्तरको ओलाङ्चुङगोलादेखि पश्चिमको धार्चुलासम्मका नेपालीहरु यूएईमा भेटिन्छन् । तराईका मधेसी दाजुभाइदेखि लिएर हिमाल तथा पहाडका बाहुन क्षेत्री तथा जनजाति साथीभाइहरु पनि यूएईमा प्रशस्तै छन् । सबै क्षेत्र, भूगोल र जातजातिका खालखालका नेपालीहरु यहीं भेटिन्छन् ।

Citizen


नेपालीहरुले क्षेत्र, वर्ण, जात, पहिचान, धर्म, कला साहित्य र राजनीतिक आस्थाका आधारमा फरक फरक 'कम्युनिटी समूह' निर्माण गरेका छन् । उनीहरु संगठित भएका छन् । उनीहरु संगठनको उद्देश्यअनुरुप सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । विश्वकै ठूलो प्रवासी सञ्जाल भएको एनआरएनएदेखि गल्याङकोट र पथरी समाजजस्ता गाउँ नगरस्तरीय समाज पनि यहीं छन् । समस्यामा परेका नेपालीहरुको उद्दार सहयोगदेखि आफू जन्मेको ठाउँको विकासमा थप टेवा पनि पुर्‍याइरहेका छन् । राज्यले गर्नुपर्ने स्वास्थ्य जनचेतना कार्यक्रमदेखि लिएर नेपाली कला, सांस्कृतिको विकासमा इँट्टा थप्ने कार्य गरिनै रहेका छन् । यसको अर्थ के हो भने यूएईमा ईमान्दार, असल, सहयोगी र देशलाई माया गर्ने नेपालीहरु प्रशस्त भेटिन्छन् ।

यही नेपालीहरुको बीचमा हुण्डी गर्ने गराउनेहरु पनि प्रशस्तै छन् । अवैध सुन ओसारपसार गर्नेहरु र कालो धनलाई सेतो बनाउनेहरु पनि तपाईंले भेट्न सक्नुहुनेछ । बैंकले दिने रेटभन्दा १ रुपैयाँ बढी दिने लोभमा तपाईंलाई गलत कार्य गर्न उक्साउने नेपालीहरु तपाईं हामी बीचमै भेट्न सकिन्छ । नेपालमा फटाइँ गरेर भागेका टोले गुण्डादेखि नेपाल सरकारलाई ठग्ने ठूला भ्रस्टाचारीहरु पनि बेला बेला यहीं भेट्न सकिन्छ । अर्थात् जस्तो नेपाल छ उस्तै डाईभर्सिटी यहाँको नेपाली समुदायमा देख्न सकिन्छ । यहाँको समाजमा पनि सबै अशलमात्र नभेटिन सक्छन् र सबै खराबमात्र पनि नहुन सक्छन् । जनसंख्या वृद्धि भएसँगै सबै खाले प्रवृत्ति भएका नेपालीहरु यहाँ हुनु स्वाभाविक हो । अपराधिक क्रियाकलापमा वृद्धि हुनु सामान्य भएको छ ।

समाजको यस्तो आमचरित्रलाई सबैले होसियारीपूर्वक बुझ्न आवश्यक छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुले आफू गएको मुलुकमा पनि यस किसिमको क्रियाकलापबाट आफू कसरी बच्ने भन्ने ज्ञान कुराको लिन आवश्यक देखिएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व नै यस किसिमको मनोसामाजिक जनचेतना दिन पनि उत्तिकै जरुरी छ ।

यस्तै कुराको चेतनाको कमी देखियो मोरङका चन्द्रमानलाई । एक दिन उनलाई आफ्नै नजिकैको साथी बर्दियाका किरणले फोन गरेर एउटा सहयोग मागे । आफ्नो बैंक खातामा समस्या आएको भन्दै किरणले चन्द्रमानको बैंक खाता नम्बर मागे । र, चन्द्रमानको खातामा १ लाख दिर्हाम अनलाइन ट्रान्सफर गरे । चन्द्रमानले साथीको पैसा भएकोले ईमान्दारपूर्वक आफ्नो खाताबाट निकालेर किरणलाई दिए ।

भोलिपल्ट चन्द्रमानलाई बैंकबाट फोन आयो । उक्त १ लाख फिर्ता गर्न भनियो । यता किरण भने १ लाख दिर्हाम लिएर गायब भइसकेका थिए । कयौं प्रयास गरे पनि उनलाई भेट्टाउन सकिएन । केही दिनपछि अजमान प्रहरीले फ्रड गरेको भन्दै चन्द्रमानलाई पक्राउ गर्‍यो । जानकारीमा आएअनुसार किरणले अर्को पाकिस्तानी नागरिकसँग मिलेर एक स्थानीय नागरिकको बैंक खाताबाट उक्त पैसा ट्रान्सफर गरेका थिए ।

भन्छन् नि, मानिस ईमान्दार हुनु तर सोझो नहुनु । यही ईमान्दारिता र सोझोपनको फाइदा उठाउँदै उनीहरुले चन्द्रमानलाई फँसाए । कानुनले त चन्द्रमानलाई जान्ने भो किनकि पैसा चन्द्रमानकै खातामा जम्मा भएको छ । अब कानुनअनुसार उक्त पैसा तिर्नु पर्ने पनि चन्द्रमानले नै हो । फ्रड गरेबापतको सजाय पनि उनैले भोग्नु पर्ने हुन सक्छ । तथापि स्थानीय अदालतमा केस चलिरहेको छ । फैसला हुन भने बाँकी छ ।

यूएईमै रहेकी उनकी श्रीमती सहयोगको याचना लिएर कहिले दूतावास पुग्छिन् त कहिले वकिलको खोजीमा । चन्द्रमान यो समस्याबाट कहिले मुक्त हुने र कहिले बाहिर आउने हुन् यसै भन्न सकिने स्थिति छैन । यो त एउटा प्रतिनिधि घटनामात्र हो । वैदेशिक रोजगारीमा जाँदा गएको मुलुकमा आईपर्ने समस्याहरु विभिन्न प्रकृतिका हुन सक्छन् । विभिन्न प्रकृतिका घटनाक्रमलाई आधार मानेर होसियारी अपनाउने हो भने जो कोही पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

जनवरी ६ तारिखमा नेपाली दूतावासले सार्वजनिक गरेको विवरणहरुमा १८८ जना पुरुष र १२ जना महिला गरी २०० जना नेपालीहरु यूएईका विभिन्न जेलमा रहेका छन् । क्रेडिट कार्डको पैसा नतिरेको, बैंकबाट ऋण लिएर नतिरेको, चोरी गरेको, चेक बाउन्स गरेको, यौनजन्य क्रियाकलाप तथा दूव्यवहार गरेको, मदिरा सेवन गरी एक आपसमा झगडा गरेको, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको, मदिरा सेवन गरी गाडी कुदाएको र दुर्घटना गराएको, नक्कली सटिफिकेट तथा कागजात पेस गरेको, लागूऔषध पदार्थ सेवन तथा कारोबार गरेको, हत्या अभियोग र अवैध यौन सम्बन्ध राखेको जस्ता आरोपमा यूएईमा नेपालीहरु जेल पर्ने गरेका छन् ।

५० डिग्री गर्मीको कारण हुन सक्ने स्वास्थ्य समस्याहरुको बारेमा मात्र जनचेतना जगाएर नपुग्ने भयो । गन्तव्य मुलुकमा गर्न हुने र गर्न नहुने कुराहरुको जानकारी प्रदान गर्न पनि उत्तिकै आवश्यक छ । सार्वजनिकस्थल तथा व्यापारिक मलहरुमा जाँदा छोटो कपडा लगाउन बर्जित रहेको छ । कसैको अनुमतिबिना फोटो खिच्न र सामाजिक साजालमा प्रकाशित गर्न पाइन्न । धार्मिक सहिष्णुता कायम गर्नु पर्दछ । मुस्लिम धर्मको मानहानी गर्न हुँदैन । सार्वजनिक स्थानहरुमा मदिरा सेवन गर्न निषेध छ । होहल्ला गरी अरुलाई डिस्टर्ब गर्न पाइन्न । महिला पुरुषहरुलाई सामान्य रुपमा हात समातेर हिँड्न अनुमति भए पनि सार्वजनिक स्थानमा चुम्मन गर्न र 'हग' गर्न अनुमति छैन । रामदान महिनाको बेला दिनमा बाहिर खुला रुपमा केही खान पाइँदैन । विवाह नगरी यौन सम्बन्ध राख्न र बच्चा जन्माउनु गैरकानुनी हुन्छ ।

कसैलाई गाली गर्न, दुर्व्यवहार गर्न, औंला बनाएर देखाउन र खुट्टा देखाएर अपमानित गर्नसमेत पाइन्न । सामाजिक सञ्जाल फेसबुक र वट्स अप आदिमा कसैलाई गाली गरेर म्यासेज पठाउन पाइन्न । रक्सी पिएर मातेर सार्वजनिक रुपमा हिँड्न पाइन्न । सम्बन्धित मुलुकको राज्य व्यवस्थाबारेमा र कानुनको खिलापमा लेख्न, बोल्न वा आलोचना गर्न बर्जित छ ।

त्यसैले वैदेशिक रोजगारीमा जानेहरुलाई प्रदान गरिने अभिमुखीकरण तालिमको दायरा बढाई गन्तव्य मुलुकको कानुनको सामान्य जानकारी प्रदान गर्न जरुरी छ । गन्तव्य मुलुकको कानुनअनुसार कस्तो किसिमको अपराध गरे के सजाय हुनसक्छ भन्ने कुराको समेत जानकारी प्रदान गरेमा जान अन्जानमा हुने यस्ता गल्तीहरुप्रति नेपालीहरुले होसियारी अपनाउन सक्छन् । उनीहरुलाई भविष्यमा आईपर्न सक्ने विविध समस्याको बारेमा उनीहरु सचेत हुन सक्छन् । कामदारहरु पठाउँदा सरकारले अब यस्ता कुरामा पनि ध्यान पुर्‍याउन जरुरी छ ।

प्रकाशित : चैत्र १७, २०७५ १८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेसको टिप्पणी- 'प्रश्नपत्र आउट हुनु सरकारको नालायकी'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको घटनालाई सरकारको गैरजिम्मेवार र नालायकपन भनी टिप्पणी गरेको छ । प्रदेश नम्बर २ मा प्रश्नपत्र ‘आउट’ भएर परीक्षा स्थगित भएको दुई दिनपछि कांग्रेस संसदीय दलले आइतबार विज्ञप्ति निकाली घटनाको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने जनाएको छ ।

‘प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको पराकाष्ठा हो’ दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा छ, ‘प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरूको ज्यादै गैरजिम्मेवारी कार्य भएकाले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ।’

कांग्रेसले विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्नुपर्नेमा जोड दिएको छ। ‘माफी माग्दै दोषी उपर कारबाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गरी परीक्षा सम्पन्न गरी’ कांग्रेसले भनेको छ,‘सयममै परीक्षाफल प्रकाशन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।’

कांग्रेसले शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरूमा शिक्षकहरू रिक्त हुने अवस्था सरकारले खडा गरेको भन्दै अवकाश हुने शिक्षकहरूको माग सम्बोधन गर्न जोड दिएको छ। शिक्षा सेवामा अनुत्तीर्ण हुने र परीक्षामा सहभागी हुन नपाएका शिक्षकहरूलाई अवकाश दिने सरकारको निर्णयले सामुदायिक विद्यालयमा ठुलो सङ्ख्यामा शिक्षकहरू रिक्त हुने र त्यसले शैक्षिक गुणस्तरमा असर गर्ने काँग्रेसले जनाएको छ।

‘अवकाश हुने शिक्षकहरूको मागको बेवास्ता गर्दै रिक्त हुने शिक्षकहरूको सङ्ख्या व्यवस्थापन नगरी मावि तह : ११०८, निमावि तह : १६३५, प्रावि तह : ९९९६ गरी कुल १२७३९ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र एवं निर्देशन अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य हो’कांग्रेस दलबाट जारी विज्ञप्तिमा उल्लेख छ,‘सरकारको यस्तो गैरजिम्मेवार कार्यले गर्दा विद्यालयहरूको वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्ने र सँगैसँगै नयाँ शैक्षिकसत्र प्रारम्भको समयमा विद्यालयहरूमा शिक्षकहरू रिक्त रहने अवस्था सिर्जना भएको छ।’

प्रकाशित : चैत्र १७, २०७५ १८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT