कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपालको पर्यटन : लाइफटाइम एक्सपेरियन्स

सुधन सुवेदी

साँघुरो बाटो । लामो जाम । बग्रेल्ती गाडी । मान्छे नि उत्तिकै । बल्लबल्ल अगाडि पुग्यो, हेर्दा ढसमस्स परेर बसेको साँढे । सवार, बटुवा सबैलाई सास्ती खेपाएको जामको एकमात्र कारक साँढे । अनि त्यसलाई आसनबाट हटाउन तल्लीन ट्राफिक प्रहरी । यो दृश्यमा आफू पात्र हुँदा कुरो अर्कै भयो, नमिठो अनुभवको पाटोलाई बिर्सने हो भने यस्तो दृश्य प्रत्यक्ष सहभागी हुनेका लागि कहिले नबिर्सने अनुभव हुनसक्छ जुन हाम्रा गल्लीहरुमा तिनमा समाहित सडकहरुमा हरेक दिनको किस्सा हो । 

नेपालको पर्यटन : लाइफटाइम एक्सपेरियन्स

देशले भ्रमण वर्ष २०२० अभियानका लागि लाइफटाइम एक्सपेरियन्सलाई प्राथमिकतामा राखेको छ । यसको अर्थ कुनै गन्तव्य, क्रियाकलापमा मात्र सिमित नभई तीसँग जोडिएको अनुभवलाई प्रवर्द्धन गर्नु हो जुन सधैं ताजा भएर सम्झनामा आइरहनेछ ।


प्रि-मनसुनको समय । पानीले बाटालाई पखालेका मात्र छैनन् सडकलाई पोखरीमा परिणत पनि गरेका छन् । अनि बाटोमा जमेको पानीबाट बच्न पर्खालबाट हिँड्दै गरेका छन् बटुवाहरु । यो फोटो पनि सामाजिक सञ्जालमा छाएको छ । यसले पनि अनुभवको त्यस्तै अर्को किस्सालाई इङ्गित गर्छ, जुन रैथाने छ ।


पर्यटनको पांग्रोमा अहिले यस्तै कुरा चल्तीमा छ । असनका गल्लीमा बिहान पाक्ने ग्वारामरी, झापाबाट फैलिएर काठमाडौंका सडक अनि रैथाने खाना पाइने रेष्टुरेन्टमा पाइने भक्का, कृष्णमन्दिरको ठीक पछाडिको बाराका लागि प्रसिद्ध होनाचा । खाना यात्राका लागि मुख्य कारक भएको संकेत पनि हो यो । इन्स्टाग्राममा पोष्ट भएका असंख्य फोटोहरुमा खानाको फोटोहरुमा भएको उल्लेखनीय वृद्धिले अनुभव पर्यटनमा नयाँ खेलाडीहरु मैदानमा आएको प्रमाणित गर्दछ ।


सगरमाथा र लुम्बिनी भनेर नथाक्ने र पर्यटनको दायरा यी दुईबाट माथि नदेख्ने धेरैलाई सामाजिक सञ्जालमा अहिले अनुभव पर्यटन धेरै चर्चाको विषय भएको जान्न जरुरी छ ।

बहसमा खर्च गर्नसक्ने पर्यटकलाई प्राथमिकतामा राख्नुपर्ने विषय पनि छन् । भुटानले जस्तै दैनिक कम्तिमा २५० डलर खर्च गर्नसक्ने पर्यटकलाई मात्र देशको ढोका खोल्नपर्ने विषय सान्दर्भिक छ । धेरै खर्च गर्ने पर्यटकबाट समाजले पाउने हिस्सामा वृद्धि हुने, वातावरणमैत्री हुने, दिगो पर्यटनले स्थान पाउने निश्चित छ ।


यी सबै परिस्थितिसँग जोडिएको पाटो भनेको नेपाली पर्यटनको मुख्य आधार हो । नेपाली पर्यटनको भिन्नै मान्यता छ, बुझाइ छ । यसले कुनै वर्ण, भेष वा पर्यटकको खल्तीमा भएको पैसाका आधारमा कहिले विभेद गरेको छैन । यो नै हाम्रो पर्यटनको उत्कृष्ट पाटो हो । हो, यसले समयसमयमा अप्ठ्यारो स्थिति ननिम्त्याएको हैन ।


हिप्पीको समय नेपाली पर्यटन इतिहासमा विशेष तरिकाले समेटिएको छ । सन् १९७०/८० को दशकमा जगल्टे कपाल पाल्ने, बेफिक्री हिँड्ने, अनौठो पहिरन गर्नेलाई मात्र हिप्पी भनेर बुझियो भने हिप्पी पर्यटनलाई न्याय गरेको ठहरने छैन । उनीहरु समाजका स्थापित मूल्य मान्यता नमान्ने, त्यो समयमा अचाक्ली महँगो हवाइटिकटमा पैसा खर्च नगरी गाडीमा लामो दूरी यात्रा गर्न रुचाउनेका समूह थियो जसले लण्डनबाट नेपालसम्मको यात्रा तय गरेका थिए ।


खर्च कम गर्ने पर्यटक दूरदूर गर्ने हो भने हिप्पी पनि अटाउन गाह्रो थियो । अहिले खर्च कम गर्नेले भोलि यात्रा अनुभव प्रकाशन गरेर नेपालको प्रचारप्रसार गर्न सक्छन् जुन नेपालले गरिरहेको प्रवर्द्धन भन्दा पनि बढी प्रभावकारी हुनेछ । उदाहरणका लागि सुप्रसिद्ध लेखक पाउलो कोहेलो पनि सो समयमा हिप्पीका रुपमा नेपाल आएका थिए र उनको अनुभव करिब एक वर्ष अघि बल्ल पुस्तकको रुपमा आएको छ, जुनमा नेपालको धेरै प्रसंगहरु उल्लेखित छ ।

सेतो हिमाल, कञ्चन बग्ने नदी, झरना, फेवातालमा देखिने माछापुच्छ्रे को छाँया हामीले पर्यटन प्रवर्द्धनमा प्रयोग गर्दै आएको फोटोहरु यी वरिपरि हुनेगर्छ । चिटिक्क परेको अनुहार देखाउने इच्छा भए जसरी नै पर्यटन प्रवर्द्धनमा रंगको संयोजन मिलेका, सफाचट भएका, नभए पनि फोटोशप गरिएका फोटोहरुको जगजगी छ । परिवर्तनशील समयमा स्थापित मान्यतामा पनि ट्वीस्ट आउँछ । रियल मी अर्थात वास्तविक म जस्ता अभियान हालका दिनमा स्थापित भइरहेका छन् । कुनै फिल्टर प्रयोग नभएका वास्तविकतामा जस्तो देखिने उस्तै फोटोहरु धेरैले रुचाउन थालेका छन् ।


सुरुमा उल्लेख गरेको जस्तो सडक बीचमा साँढे, पर्खालबाट हिँडिरहेका बटुवाहरु, दारी पालेका जोगीहरु सञ्जालहरुमा बढेका छन् र यिनले धेरै अर्थमा लाइफ टाइम एक्सपेरियन्सलाई बढावा दिएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?