कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलैंची मूल्य लाख नाघ्यो

लवदेव ढुंगाना

पाँचथर — अलैंचीको मूल्य प्रतिमन (४० केजी) १ लाख १० हजार रुपैयाँ पुगेको छ । एक महिनादेखि निरन्तर मूल्य बढिरहेको अलैंचीले इतिहासमै धेरै मूल्य पाएको हो ।


अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार मंगलबार बिर्तामोडको बजारमा जेजे गुणस्तरको सबैभन्दा राम्रो अलैंची यत्तिको मूल्यमा बिक्री वितरण भएको हो । 'एक महिनादेखि अलैंचीको भाउ घटेको छैन,' उनले कान्तिपुरसित भने, 'दिनदिनै अलैंचीले १/२ हजार रुपैयाँभन्दा बढीले कीर्तिमान तोडिरहेको छ ।' कात्तिक १५ गते ९० हजारमा चलेको अलैंचीले निरन्तर मूल्य बढी पाइरहँदा २० हजार बढेको हो ।
बिर्तामोडको बजारमा दोस्रो एसडी गुणस्तरको अलैंची १ लाख आठ हजारमा बिक्री भइरहेको छ । त्यस्तै चल्तीको माल -चालू) को मूल्य १ लाख ६ हजार छ । मूल्य आकासिँदै गएको अलैंचीले केही दिनमै अर्काे कीर्तिमान बनाउने व्यवसायीहरूको विश्वास छ ।
अलैंचीले दैनिकजसो कीर्तिमानी मूल्य कायम गर्दै गए पनि किसानसित भने 'स्टक' छैन । अलैंचीको सरदर मूल्य ९० हजार हुँदै अधिकांश किसानले बेचिसकेका छन् । संकलक र व्यापारीले स्टक राखेका हुन् । 'किसानसित थोरै मात्र अलैंची बचेको होला,' लुङरुपाका अलैंची किसान तथा संकलक पर्वलाल दंगालले भने, 'यसपालि भाउ बढे पनि किसानले फाइदा उठाउन पाएनन् ।'
अलैंची व्यावसायी नरेन्द्र अधिकारीले निरन्तर भाउ उकालो लागे पनि किसानले बिक्रीका लागि ल्याउन छोडेको बताए । 'भाउ अझै बढ्ने आशामा किसानले पर्खिएका पनि हुन सक्छन्,' उनले भने, 'तर उत्पादन घटेकाले किसानसित छैन ।' अलैंचीमा केही वर्षयता देखिएको छिर्केफुर्के तथा गानो कुहिने रोगबाट बर्सेनि उत्पादन घटिरहेको छ ।
मुलुकमा वाषिर्क ५ हजार ७ सय ५३ टन अलैंची उत्पादन हुने गरेको छ । कृषि गणना २०१३ का अनुसार देशभरको १४ हजार ६ सय ८७ हेक्टरमा अलैंची हुने गर्छ । त्यसमध्ये पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेहथुम, भोजपुर, संखुवासभा र धनकुटा जिल्ला अलैंचीको धेरै उत्पादन हुने क्षेत्रमा चिनिन्छन् । यो जिल्लामा गत वर्ष करिब ६ सय टन अलैंची उत्पादन भएको थियो ।
महासंघको अनुमानमा देशभर उत्पादितमध्ये ७० प्रतिशत अलैंची बिक्री भइसकेको छ । बाँकी अलैंचीमध्ये केही किसानले भाउ अझै बढ्ने आशामा राखेको हुन सक्ने औंल्याउँदै अरू संकलक र व्यापारीसित रहेको अनुमान धेरैको छ । 'उत्पादनै घटेपछि भाउ बढ्नु स्वाभाविक पनि हो,' नेपालले भने, 'भाउ बढ्यो भनेर हर्षबढाइँ गर्नुभन्दा उत्पादन घटिरहेकोतर्फ गम्भीर हुनु आवश्यक छ ।'
वरिष्ठ कृषि अधिकृत बेनुप्रसाद प्रसाइर्ंले ६ वटा ढुसीजन्य जीवाणु (भाइरस) ले अलैंची सखाप पारिरहेको भन्दै नयाँ बिरुवा उत्पादन गरेर पुरानालाई प्रतिस्थापन गर्नु यसबाट जोगिने उपाय भएको दाबी गरे । जिल्लामा यो वर्ष प्रतिगोटा पाँच रुपैयाँमा तीन लाख बीउबाट उत्पादित बिरुवा बिक्रीको योजना रहेको जनाउँदै उनले पहिलेभन्दा उत्पादन घटे पनि यो वर्ष गत वर्षभन्दा उत्पादनमा खासै कमी नआएको दाबी गरे ।

 

प्रकाशित : पुस १६, २०७१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?