नयाँ कार्यकारी नियुक्तिसँगै दोहोरो ग्यास मूल्य अन्योलमा

राजु चौधरी

काठमाडौ — नेपाल आयल निगममा नयाँ कार्यकारी निर्देशक गोपालबहादुर खड्काको नियुक्तिसँगै घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा दोहोरो मूल्य कार्यान्वयन सरेको छ । यसअघिका कार्यकारी निर्देशक चण्डिका भट्टले माघ १५ गतेदेखि दोहोरो सिलिन्डर लागू गर्ने योजना बनाएका थिए ।

नयाँ कार्यकारी नियुक्तिसँगै दोहोरो ग्यास मूल्य अन्योलमा

निगमका निर्देशक वीरेन्द्र गोइतले नयाँ कार्यकारी निर्देशकको नयाँ एजेन्डाअनुसार थप प्रक्रिया अघि बढ्ने बताए । 'निगममा नयाँ कार्यकारी आउनुभएको छ,' गोइतले भने, 'उहाँको एजेन्डाअनुसार अघि बढ्छांै ।' दोहोरो मूल्यका लागि बाधक बनेको 'वितरण आदेश संशोधन' कार्यान्वयन भएपछि दोहोरो मूल्य लागू गर्न बाटो खुला भएको थियो । मंसिर २५ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेस गरेको आदेश मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएकाले मूल्य निर्धारणको बाटो खुलेको थियो । एलपी ग्याास आदेश २०७१ राजपत्रमा प्रकाशित भइसकेको छ । आदेश प्रकाशित भइसकेकाले माघ १५ गतेदेखि नीलो रङको सिलिन्डर परल मूल्यमा १ सय रुपैयाँ नाफा राखेर बिक्री गरिने निगमले जनाएको थियो । रातो सिलिन्डरमा केही अनुदान दिएर १ हजार ४ सय ७० रुपैयाँमा बेच्ने निगमको तयारी थियो ।
निगम स्रोतका अनुसार दोहोरो मूल्य कार्यान्वयन गर्ने योजना बिफल बनाउन कार्यान्वयनको अन्तिम समयमा भट्टलाई हटाइएको थियो । इन्धनको स्वचालित मूल्य, इन्धनको मूल्य घटेअनुसार
ट्यांकरको ढुवानी भाडा समायोजन गर्दै जाने, ग्यासको कोटा वृद्धि नगर्ने लगायत सुधारका कार्य थालनी गरेपछि भट्टसग व्यवसायी रुष्ट थिए । यस्तै पाइपलाइन निमार्ण र बजारमा इन्धनको अभाव हटाउन २ सय ट्यांकरमार्फत सेना र प्रहरीलाई ढुवानी गर्न दिने प्रक्रिया अघि बढाएपछि व्यवसायीहरू थप आक्रोशित भएको स्रोतको दाबी छ । ढुवानीको जिम्मा सेना प्रहरीलाई दिने गरी तयार पारिएको प्रतिवेदन मुख्य सचिव लीलामणि पौडेलकहाँ पुगेको छ ।
'कार्यान्वयनको अन्तिम क्षणमा कार्यकारी हटाउनुमा ठूलो रहस्य छ । लागू हुन नदिन व्यवसायी, मन्त्रीको संलग्नता छ,' स्रोतले भन्यो । नेकपा माओवादीका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि समाजिक टि्वटरमा टि्वट गर्दै लेखेका छन्, 'तेल चोरहरूलाई बचाउन आयल निगमका प्रमुखको बलि चढाउनु पनि 'लोकतान्त्रिक सुशासन' नै हो ? नेका/एमाले/राप्रपालाई ०४७ देखिको 'सुशासन' को अनुभव जो छ ।'
दुई रङको सिलिन्डर लागू हुँदा मुलुकभित्र रहेको सिलिन्डर संख्या र उपभोग गर्ने उपभोक्ताको संख्या एकिन हुन्छ । संख्या थाहा भएपछि ग्यासमा कालोबजारी रोक्न सकिन्छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले बजारमा देखिएको अभाव केही सहज भएपछि दुई रङको सिलिन्डर लागू हुने बताए । निगमको बोर्ड बैठक पनि बस्न नसकेकाले केही ढिलाइ हुने उनले बताए ।
'बोड बैठक बस्न नसक्दा आन्तरिक कार्यविधि पास हुन सकेका छैन,' घिमिरेले भने, 'बजारमा देखिएको अभाव केही सहज भएपछि दुई रङगको सिलिन्डर लागू गर्छौं ।' घिमिरेले दुई रङको सिलिन्डर लागू हुने बताए पनि कुन मितिमा जारी गर्ने जानकारी नभएको बताए । निगमका अनुसार मुलुकमा ५३ हजारभन्दा बढी सिलिन्डर छन् ।तीमध्ये ३० प्रतिशत व्यापारिक प्रयोजनका लागि उपयोग भएका छन् । सरकारले साढे दुई वर्षदेखि दुई रङको सिलिन्डर लागू गर्ने बताउँदै आएको छ । दोहोरो मूल्य कार्यान्वयन नहुँदा ग्यासमा स्वचालित मूल्यसमेत लागू हुन सकेको छैन । पेट्रोल, डिजेल र मटितेलमा भने सरकारले स्वचालित मूल्य लागू गरिसकेको छ ।
अहिले ग्यासमा मात्रै घाटा छ । निगमका अनुसार अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ११ रुपैयाँ ६३ पैसा घाटा छ ।
उपभोक्ता र व्यावसायिक रूपमा प्रयोग हुने ग्यासको मूल्य एकै भएकाले निगमले घाटा सहनुपरेको हो । दुई रङको सिलिन्डर लागू गरे सर्वसाधारणले सस्तोमा ग्यास पाउनेछन्् । व्यापारिक प्रयोजनका सिलिन्डको मूल्य केही बढी हुनेछ ।
यस्तै बजारमा ग्यासको बढेपछि अखिल क्रान्तिकारीको पहलमा केही बुधबार उपभोक्ताले निगममा धर्ना गरेका थिए । उनीहरूले कालोबजारीलाई नियन्त्रण गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने, सर्वसाधरणलाई ग्यास उपलब्ध गराउनुपर्ने, दोहोरो सिलिन्डर तत्काल लागू गर्नुपर्ने माग गरेका थिए । 'हाम्रो मुख्य माग दोहोरो रङको सिलिन्डर तत्काल लागू गर्नुपर्ने, उपभोक्तालाई सहज रूपमा ग्यास दिनुपर्ने हो,' केन्द्रीय सदस्य डीबी साउदले भने, 'माग पूरा नभए थप कार्यक्रम अगाडि बढाउँछौ ।' यस्तै व्यवस्थापिका ससदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मंगलबारको बैठकले पनि घरायसी प्रयोजन र व्यावसायिक प्रयोजन छुट्याई तुरुन्त लागू पनि निर्देशन दिएको थियो ।
बिहीबारदेखि क्षेत्रगत रूपमा ग्यास बाँड्ने
बजारमा ग्यासको कृत्रिम अभाव हटाउन सरकारले क्ष्ाेत्रगत रूपमा ग्यास वितरण गर्ने भएको छ । यसअघि नेसनल ट्रेडिङको कम्पाउन्डबाट ग्यास वितरण गरे पनि कालोबजारी बढेपछि क्षेत्रगत (डिपोबाटै) रूपमा ग्यास वितरण गर्ने आयल निगमले जनाएको छ । यसका लागि विभिन्न स्थान तोकिएको छ ।
निगमका अनुसार बिहीबार नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्रबाट वितरण गरिनेछ । माघ १७ गते पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चाबहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल, नयाँबस्ती क्ष्ाेत्रमा वितरण हुने जनाएको छ । माघ १९ गते महाराजगन्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी, धुम्बाराही क्ष्ाेत्रमा वितरण हुने निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ १५, २०७१ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?