२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पन्चासे उत्कृष्ट गन्तव्य

लालप्रसाद शर्मा

पन्चासे (कास्की) — भूकम्पको त्रास भुलाउन कतै केही दिन घुम्न जाने सोच्नेका लागि यहाँको पन्चासे क्षेत्र पुगे हुन्छ । यहाँ त्रास नभएको भन्दै होमस्टे सञ्चालकहरूले पर्यटकको आतिथ्यका लागि तयार रहेको बताएका छन् ।

पन्चासे उत्कृष्ट गन्तव्य
उनीहरूले ग्रामीण परिवेशसँग साक्षात्कार गर्दै बिथोलिएको मनलाई शान्त र मनोरञ्जनात्मक बनाउने बताएका छन् ।
पोखरा आएकाहरूले फेवातालको किनारैकिनार पामे हुँदै गाडीमा २ घण्टाको यात्रामा यो ठाउँ पुग्न सकिन्छ । पदमार्गबाटै पनि यहाँको यात्रा सम्भव छ । दोस्रो मार्ग पोखरा–बागलुङ राजमार्गको काँडे भएर भदौरे हुँदै पनि जान सकिन्छ । यहाँ पर्वतको डिमुवा, आर्थरडाँडाखर्क र स्याङ्जाको बाँगेफड्के र बाङसिङ देउरालीबाट पन्चासे पुग्न सहज छ ।
भदौरे, चित्रे, आर्थरडाँडाखर्क, भन्ज्याङ र सिधानेलगायत स्थानका होमस्टे सञ्चालन भएका गाउँलेले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिन तयार छन् । ‘कला र संस्कृतिको धनी, जैविक विविधताको खानी पन्चासे क्षेत्रमा ढुक्कसाथ घुम्न आग्रह गर्छु,’ चित्रे ग्रामीण पर्यटन होमस्टे विकास समिति अध्यक्ष सुशीलादेवी गुरुङले भनिन्, ‘भूकम्पले यस क्षेत्रमा कुनै असर गरेको छैन । यहाँ आइपुग्न पनि सजिलो छ ।’ हिमाल हेर्दै गाउँले रहनसहन, अर्गानिक खाना तथा जैविक विविधता लगायतको भरपुर मनोरञ्जन लिन पाउने अवसर रहेको उनले बताइन् ।
प्राकृतिक, भौगोलिक अवस्था, कला र संस्कृति, शान्त र स्वस्थ वातावरणीय हिसाबले राम्रा छन् गाउँ । डाँडाखर्कबासीले त सोरठी र सालैजो गीत संस्कृति पनि पस्किन थालेका छन् । ‘शान्त वातावरण । मनोरम दृश्यावलोकन । मानव र सवारी चाप शून्य । प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँमा सांस्कृतिक कार्यक्रमले पनि स्वागत गर्नेछौं,’ डाँडाखर्कका अगुवा यम गुरुङले भने ।
पन्चासे कास्की, पर्वत र स्याङ्जाको पर्यटकीय तथा धार्मिक संगमस्थल हो । २५ सय १७ मिटरसम्म अग्लो यो पहाडबाट देखिएका सुन्दर दृश्यले उकालो चढ्दाको दु:ख पनि छिनभरमै बिसाइदिन्छ । यहाँबाट चार जिल्लाका सदरमुकाम (पोखरा, स्याङ्जा, कुस्मा र बागलुङ), आसपासका डाँडाकाँडा, हिमाली शृंखलाको दृश्यावलोकन र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, धौलागिरि शृंखला तथा लमजुङ र मनास्लु हिमालसमेत नजिकै देखिन्छन् । ‘सूर्योदय, सूर्यास्त, आसपासका सुन्दर गाउँबेंसी, फाँट खोलानालाको दृश्यले सबैको मन लोभ्याउँछ,’ पन्चासे संरक्षित वन मूल परिषद्का अध्यक्ष गोपाल गुरुङले भने, ‘१ सय १२ थरीका सुनाखरी, भालु, चितुवा, मृग र दर्जनौं चराचुरुंगी पनि देख्न सकिन्छ ।’
पछिल्लो समय यहाँको जैविक विविधता संरक्षण तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित संरक्षण अभियान पनि थालिएको छ । परिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन (ईबीए) कार्यक्रमले हालै सरोकारवालालाई यस क्षेत्रको अवलोकन गराएको थियो ।
उक्त अवसरमा स्थानीयले पन्चासे क्षेत्र सुरक्षित रहेको सन्देश फैलाउन आग्रह गरेको ईबीएका परियोजना सहायक रंघिरकुमार सिंहले बताए ।
होमस्टेहरूको प्रवर्द्धन र पन्चासे क्षेत्रको संरक्षणलाई आधार बनाएर भए गरेका गतिविधिको प्रचारप्रसार गर्ने उद्देश्यले अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरिएको थियो ।
भदौरेका रूपेश गुरुङले होमस्टे प्रवद्र्धनमा अझै सहयोग गर्न सरोकारवालासमक्ष अनुरोध गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७२ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?