१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अस्तव्यस्त अर्थतन्त्र

भरतपुर ब्युरो

चितवन — प्रदेश सीमांकनमा असतुष्ट मधेसी मोर्चा र थरुहटले मध्य तथा पश्चिम तराईका जिल्लामा तीन सातादेखि गरेको बन्द र प्रदर्शनले उद्योग/व्यापार प्रभावित भएको छ । ठूला र बहुराष्ट्रिय कम्पनीको उत्पादन ठप्प छ । भएको उत्पादन पनि सम्बन्धित क्षेत्रमा पुर्‍याउन नसकिएकाले खेर गइरहेको छ ।

 अस्तव्यस्त अर्थतन्त्र

अधिकांश जिल्ला सदरमुकामलाई निषेधित र दंगाग्रस्त क्षेत्र घोषणा गरिएका छन् । बजारमा खरिद बिक्री छैन । उत्पादन रोकिएको छ । सर्वसाधारण अत्यावश्यक वस्तु खरिद गर्नबाट वञ्चित छन् ।

बल्लतल्ल रोपाइँ गरेका किसान मल अभावले पिरोलिएका छन् । आपूर्तिका लागि गोदाममा राखिएको मल गाउँगाउँमा पुर्‍याउन सकिएको छैन । कर्फ्यु र निषेधाज्ञाले किसान सदरमुकाम आउन सकेका छैनन् ।

तराई ठप्प भएपछि मध्य र पश्चिम पहाडी जिल्लामा खाद्यान्न सामग्री आपूर्ति रोकिएको छ । चितवन र मकवानपुरमा भने आंशिक प्रभाव परेकाले यहाँबाट पहाडी जिल्लामा आपूर्ति भइरहेको छ । तर रुपन्देहीको भैरहवाबाट खाद्यान्न आपूर्ति गर्न नसकिएकाले लुम्बिनी अञ्चलका पहाडी जिल्लामा अभाव सुरु भएको छ ।

उद्योगी र व्यापारी विस्थापित हुने खतरा बढेको छ । ठाउँठाउँमा खाद्यान्न र ग्यास अभाव भएको छ । सर्वसाधारणले २४ सै घण्टा घरभित्र खुम्चिएर बस्नुपरेको छ । सधै चहलपहल हुने बजार सुनसान छन् । प्रदर्शनकारी र प्रहरी भिडन्तले बजार क्षेत्र तनावग्रस्त भइरहेका छन् ।

६१ करोड घाटा
तीन साता देखिको बन्द र ३ दिन यताको कर्फ्युले पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले दैनिक ६० करोड रुपैयाँ बराबरको नोक्सान बेहोरिरहेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियाले दैनिक सरदर ६० करोड रुपैयाँको नोक्सानी उद्योग व्यवसाय क्षेत्रले बेहोरिरहेको बताए । ‘बैंक ब्याज, भन्सार डिमान्ड शुल्क, मजदुर खर्च, बिजुली बिल आदि जोड्दा कम्तीमा दैनिक यति रकम घाटा भइरहेको हो,’ उनले भने, ‘बैंक ब्याज तिर्न नसकेका कतिपय उद्योगले दैनिक २० लाखसम्म घाटा बेहोरिरहेका छन् ।’

उनले करिडोरका गण्डकदेखि जितपुर क्षेत्रका उद्योग बन्द रहेको बताए । ‘कर्फ्यु लाग्नु अघिसम्म कच्चा पदार्थ बाँकी रहेका केही उद्योग चलेका थिए,’ उनले भने, ‘सोमबार साँझबाट कर्फ्यु लागेपछि मजदुरलाई आवागमनमा समस्या र सञ्चालन गर्ने वातावरण नभएपछि अधिकांश बन्द भइसकेका छन् ।’

 करिडोरका उद्योगमा ५० हजारभन्दा बढी मजदुर कार्यरत रहेको अनुमान संघको छ । उद्योग बन्द हुँदा मजदुर कामविहीन हुने र उद्योगलाई काम नभएको समयमा पनि मजदुरलाई तलब दिनुपर्ने अतिरिक्त भार बढछ । बन्दले रुपन्देहीको लुम्बिनी करिडोरका सबै र भैरहवा–परासी खण्डमा सञ्चालित उद्योग प्रभावित भएका छन् ।

लुम्बिनी करिडोरमा १ दर्जन सिमेन्ट उद्योग र त्यति नै संख्यामा रहेको अन्य ठूला उद्योग सञ्चालित छन् । ‘उत्पादित मालवस्तु सहज रूपमा बजारसम्म पठाउन सकिएको छैन,’ अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले भने, ‘बन्दले उद्योग सञ्चालन हुन नसके पनि बैंकको ब्याज, कर्मचारी मजदुरको तलबलगायत खर्च भने उद्योगीले बेहोर्न बाध्य छन् ।’

लुम्बिनी ओद्योगिक करिडोरमा सञ्चालित उद्योगले दैनिक १ करोड रुपैयाँको नोक्सानी बेहोर्नुपरेको उनले बताए ।

खाद्यान्न आपूर्ति ठप्प
रुपन्देहीको भैरहवास्थित पुरानो गल्लामन्डी बजार २१ दिनदेखि बन्द छ । खाद्य भण्डारका रूपमा चिनिने बजारबाट पश्चिम नेपालका रोल्पा, रुकुम, सल्यान, प्यूठान, म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, तनहुँ, पाल्पालगायत जिल्लामा नुनदेखि खाद्य वस्तु आपूर्ति हुने गर्छ । पोखरा, नारायणगढ, काठमाडौंका लागि पनि यहाँबाट दैनिक खाद्यान्न आपूर्ति हुने गर्छ ।

‘बन्द सुरु भएपछि गल्लामन्डीका सबै पसलका गोदाममा सामान थन्किएका छन् । अन्य जिल्लामा पठाउन सकिएको छैन,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघ महासचिव नेत्र आचार्यले भने, ‘बन्दले गल्लामन्डी बजारलाई विस्थापित बनाउने खतरा छ ।’ यस बजारबाट मात्रै दैनिक २५ करोड रुपैयाँको खाद्यान्न कारोबार हुने गरेकामा अहिले ठप्प भएको उनले दाबी गरे ।
 
मल थन्कियो
धानले गाँज हाल्ने बेलामा रासायनिक मल छर्नुपर्ने भए पनि पश्चिम तराईका किसानले पाउन सकेका छैनन् ।

उत्पादन घट्ने चिन्ताले पिरोलिएका छन् । नवलपरासीदेखि महेन्द्रनगरसम्मका जिल्लामा मल ढुवानी हुन सकेको छैन । आपूर्ति जिम्मा पाएको रुपन्देहीको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयले बन्दले गर्दा पठाउन नसकेको प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए ।

‘पहाडी जिल्ला पाल्पा, स्याङ्जा र नजिकका कपिलवस्तु र नवलपरासीमा स्कर्टिङबाट केही पठाए पनि दाङ पश्चिमका जिल्लामा ढुवानी गर्न सकेका छैनौं,’ उनले भने । उनका अनुसार कार्यालयमा अहिले युरिया ७ सय १०, डीएपी ७ सय ९४ र पोटास १ हजार ८ सय टन मल मौज्दात रहेको छ ।

त्यत्तिकै परिमाणमा मल वीरगन्ज नाका हुँदै आयात क्रममा अलपत्र परेको छ । ‘एकातिर किसान मल नपाएर छट्पटिएका छन्,’ उनले भने, ‘अर्कोतिर कम्पनीलाई मल राख्न समस्या भएको छ ।’

त्यसैगरी मध्य तराईमा पनि छर्ने बेलामा रासायनिक मल आपूर्ति हुन सकेको छैन । कृषि सामग्री कम्पनीले आयात गरेको मल जिल्लामा आपूर्ति सम्भव भएको छैन । किसान भौंतारिन बाध्य छन् । मध्य तराईका बारा, पर्सा, रौतहट र सर्लाहीमा चर्को अभाव सिर्जना भएको छ । कृषक दिनहुँ जिल्लास्थित कृषि सामग्रीको कार्यालय धाउने गरेका छन् ।

भदैया, सावित्री धान फुट्ने बेला मल आवश्यक हुन्छ । भारतबाट आयातित मल क्षेत्रीय कार्यालय वीरगन्जमा थन्किएको कम्पनीका शाखा अधिकृत शिव बुढाथोकीले जनाए ।

‘बन्दले गाडी नचल्दा आपूर्ति गर्न सकिएको छैन,’ उनले भने ।’ रौतहटका लागि २० हजार बोरा छुट्याइएको भए पनि थन्किएको बुढाथोकीले जनाए । मौका छोपेर तस्करले भारतबाट ल्याएको गुणस्तरहीन मल चर्को मूल्यमा बिक्री भइरहेको छ । ‘प्रतिबोरा १ हजार ६ सयका दरले किनेर ल्यायौं,’ चन्द्रनिगाहपुरका किसान रामप्रसाद तिमल्सिनाले भने, ‘नभएपछि काम चलाउनैपर्‍यो ।’

राजस्व असुली शून्य
शनिबार र सार्वजनिक बिदाका दिनमा समेत आधा दिन काम गर्ने वीरगन्ज भन्सार कार्यालयका कर्मचारी मंगलबारदेखि फुर्सदिला भएका छन् ।

त्यतिन्जेल बन्दमा पनि काम गरेका कर्मचारी सोमबार साँझदेखि वीरगन्जमा जारी अनिश्चितकालीन कर्फ्युका कारण फुर्सदिला बनेका हुन् । कार्यालयमा सेवाग्राही आउन नसकेपछि कामविहीन भएका हुन् ।

‘हामी कार्यालय आएकै छौं,’ कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्मा भन्छन्, ‘तर सेवाग्राही नआएपछि हामी आउनुको पनि अर्थ भएन ।’ लामो बन्द, निषेधित क्षेत्र, कर्फ्यु र दंगाग्रस्त क्षेत्र घोषणा लगायतले मुलुकमै धेरै राजस्व संकलन गर्ने व्यस्त भन्सार सुनसान बनेको छ ।

‘बन्द हडतालबीच पनि हामीले काम गरी आएका थियौं,’ शर्माले भने, ‘मंगलबार यता भने काम ठप्प भएको छ ।’ मंगलबार यता राजस्व असुली शून्य भएको छ । सोमबार भन्सारले ११ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । सोमबारसम्म कुल १ अर्ब ८० करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।

त्यो कुल लक्ष्यको २० दशमलव ४७ प्रतिशत मात्र हो । भदौ महिनामा यो भन्सारले ८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । यो भन्सारले सामान्य दिनमा २५ देखि ३५ करोड रुपैयाँसम्म पनि राजस्व संकलन गर्छ ।

सुख्खा बन्दरगाह सुनसान
कडा बन्द र कर्फ्युका कारण सुख्खा बन्दरगाहमा पनि रौनक छैन । मंगलबारयता भन्सार राजस्व संकलन शून्यमा झरेको सुख्खा बन्दरगाहका सूचना अधिकृत हरिहर पौडेलले बताए ।
 
सोमबारसम्म भन्सारले ३३ करोड ४ लाख रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । यो मासिक राजस्व असुली लक्ष्यको जम्मा २१ दशमलव ७४ प्रतिशत मात्र हो ।

भदौमा भन्सारले १ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । बिहीबार मध्याह्नसम्म गरी बन्दरगाहमा तेस्रो मुलुकबाट मालवस्तु बोकेर आएका ४ सय २५ कन्टेनर थन्किएका छन् ।

गोदाममा रासायनिक मल, पिना, भटमास, स्पन्ज आइरन आदि समेत गरी २० हजार टन यी वस्तु भण्डारण रहेका छन् । त्यसैगरी विभिन्न स्टिल तथा छड उद्योगले भारतबाट आयात गरेको ४० हजार टन फलामसमेत थन्किएको छ ।

आयातमा कमी
बन्दका कारण पछिल्ला दिनमा भैरहवा भन्सार हुँदै आयातमा कमी आएको छ । भन्सार प्रमुख लावण्य ढकालले भन्सारमा दिनभर सामानको क्लियरिङ हुने र साँझमा सुरक्षाकर्मीको एस्कर्टिङमा ढुवानी गर्ने कार्य भइरहेको छ ।


 

प्रकाशित : भाद्र १८, २०७२ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?