विषादी मिसिएको तरकारी भित्रिँदै

माधव ढुंगाना

भैरहवा — मानव स्वास्थ्यलाई हानि पुग्ने खालका विषादी प्रयोग गरिएको भारतीय तरकारी खुलेआम नेपाल भित्रिने गरेको छ । विषादी प्रयोग भएका तरकारीलाई परीक्षण गरी सीमा क्षेत्रबाटै नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान गएको छैन ।

विषादी मिसिएको तरकारी भित्रिँदै

सुनौली–बेलहिया भारतबाट सर्वाधिक तरकारी नेपाल भित्रिने गरेको नाका हो । यस नाकाबाट भित्रिने भारतीय तरकारी विशेषगरी भैरहवा, बुटवल, चितवन, पोखरा र काठमाडौंलगायत स्थानमा पुग्ने गर्छ । बेलहियास्थित क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयलाई विषादी प्रयोग भएका तरकारीको परीक्षण गरी आयातमा रोक लगाउने गरी प्रयोगमा ल्याइएको छैन ।

‘यस कार्यालयलाई विषादी मिश्रण हेर्ने अधिकार पनि छैन र परीक्षण गर्ने प्रयोगशाला पनि छैन,’ क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख बृजकिशोर उपाध्यायले भने, ‘यस नाकाबाट अत्यधिक र जथाभावी तरिकाले विषादी प्रयोग गरिएका तरकारी नेपाल आइरहेको छ ।’ यस्ता तरकारीको आयात बढ्न थालेपछि नियन्त्रणका लागि सीमा क्षेत्रमै परीक्षण गरी आयात रोक्ने प्रस्ताव गरिए पनि केन्द्रबाट स्विकृत नभएको उनले बताए ।

उनका अनुसार यस नाकाबाट भित्रिने प्रायजसो सबै खालका तरकारीमा विषादीको ज्यादा प्रयोग गर्ने पाइएको छ । धेरै पटक कार्यालयका कर्मचारीले फिर्ता पनि पठाइदिने गरेका छन् । अत्यधिक विषादी प्रयोग गरिएको तरकारीको बास्नाबाटै थाहा हुने कर्मचारी बताउँछन् । तर, विषादी प्रयोगको परीक्षण गर्ने अधिकार नभएकाले कार्यालयमा ल्याब पनि छैन । विषादी प्रयोग भएको आधिकारिक पुष्टि गर्न नमिल्ने भएकाले समस्या भएको छ ।  उक्त कार्यालयका अनुसार सुनौली–बेलहिया नाकाबाट गत आव ०७१/०७२ मा १ अर्ब ७५ करोडभन्दा धेरै मूल्यको तरकारी आयात भएको थियो । यस वर्षको फागुन सम्ममा ९१ करोड ७३ लाखभन्दा धेरै मूल्यको तरकारी नेपाल आयात भएको छ । यो मूल्य बजारमा भन्दा तीन गुणा कम भैरहवा भन्सार कार्यालयमा कायम गरिएको मूल्यलाई आधार मानिएको तथ्यांक हो । बजार भाउ अनुरूपको मूल्यमा गणना गर्ने हो भने ६ अर्ब रुपैयाँभन्दा धेरै मूल्यको तरकारी बेलहिया नाकाबाट मात्रै आयात हुने गरेको देखिन्छ ।

‘अत्यधिक विषादी भएको तरकारी देखेपछि धेरै पटक फिर्ता पठाइदिने गरेका छौं,’ उपाध्यायले भने, ‘परीक्षणका लागि काठमाडौंस्थित बाली संरक्षण निर्देशनालयमा पठाउने गरेका छौं ।’ निर्देशनालयमा परीक्षण गरेर रिपोर्ट आउँदा कम्तीमा तिन दिन लाग्ने र तीन दिनसम्म तरकारी बिग्रिने गरेको उनले बताए ।

प्रकाशित : वैशाख २०, २०७३ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?