४७ वर्षमा २३ हजार सिलिन्डर नष्ट

राजु चौधरी

काठमाडौं — मुलुकभर ६५ लाख ग्यास सिलिन्डर प्रयोगमा छन् । ग्यास प्रयोग हुन थालेको ४७ वर्ष भइसक्यो । तर, जोखिममा रहेका सिलिन्डर नष्ट नगरिएको नेपाल आयल निगमकै तथ्यांकले देखाउँछ । ४७ वर्षको अवधिमा जम्मा २३ हजार ३ सय १९ वटा सिलिन्डर नष्ट भएका छन् ।

 ४७ वर्षमा २३ हजार सिलिन्डर नष्ट

नेपालमा पहिलो पटक २०२६ मा नेपाल ग्यास उद्योग सञ्चालनमा आएको थियो । अहिले ग्यास उद्योगको संख्या ५३ पुगिसकेको छ । तर, यी उद्योगले समयमै ‘हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट’ गर्दैनन् ।

यस्तो परीक्षण गरेर समयमै ग्यास सिलिन्डर नष्ट नगर्दा जोखिम बढ्दो छ । ‘हाइड्रोलिङ/हाइड्रो स्टाटिक’ परीक्षण हावा र पानीको चापबाट गर्नुपर्छ । ग्यास भरिएको सिलिन्डर पानीमा ढुवाइन्छ । त्यसलाई ‘डिप टेस्ट’ पनि भनिन्छ ।

‘डिप टेस्ट’ गर्दा ‘लिकेज’ भएको अवस्थामा पानीको फोका निस्कन्छ । यस्ता सिलिन्डर प्रयोग गरे पड्किने भएकाले प्रयोग गर्न मिल्दैन । नियमअनुसार ग्यास उद्योगले यस्तो सबै सिलिन्डर नष्ट गर्नुपर्छ ।

निगमको तथ्यांकअनुसार २०७१ फागुन मसान्तसम्म सबै उद्योग गरी २२ हजार ४ सय १९ सिलिन्डर नष्ट गरेका छन् । २०७३ वैशाखमा नेपाल ग्यासले परीक्षण गरी ९ सय १० वटा सिलिन्डर नष्ट गरेको थियो । नियमअनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक पाँच/पाँच वर्षमा टेस्ट गर्नुपर्छ ।

गुणस्तर तथा नापतौल विभाग रोहवरमा टेस्ट गर्नुपर्छ । निगमले ग्यासको प्रमाणित गर्छ । तर, अधिकांश उद्योगले त्यसो नगरेको जानकारहरू बताउँछन् । ‘ग्यास सिलिन्डर टुटेफुटे, हाइड्रोलिक टेस्ट फेल भए सिलिन्डर नष्ट गरेर निगमलाई जानकारी गराउनु पर्छ,’ निगमका एक अधिकारीले भने, ‘तर, अधिकांश कम्पनीले डेढ वर्षदेखि गराएका छैनन् ।’

नेपाल ग्यासले भने वैशाखमा सिलिन्डर नष्ट गरी जानकारी गराएको ती अधिकारीले बताए । हाइड्रोलिक परीक्षण गर्ने मेसिन सबै उद्योगमा भए पनि समय/समयमा परीक्षण हुने गरेको छैन ।

हाइड्रोलिक परीक्षण गरी नष्ट गरिएको सिलिन्डर कवाडीको भाउमा बिक्री हुन्छ । पुन: सिलिन्डर बनाउन मिल्दैन । निगमका एलपी ग्यास विभाग प्रबन्धक प्रलयकर आचार्यका अनुसार सिलिन्डरको आयु हुँदैन । मापदण्ड पनि हुँदैन । ‘पुरानो, कुच्चिएको लिक भएको अनुमान भए तुरुन्तै परीक्षण गर्नुपर्छ । परीक्षणमा कैफियत फेला परे नष्ट गर्नुपर्छ,’
उनले भने ।

अहिले बजारमा रङ खुइलिएका र कुच्चिएका पुराना सिलिन्डर प्रसस्त भेटिन्छन् । कुच्चिएको, चुहिने सिलिन्डर प्रयोगमा ल्याए जोखिमको सम्भावना उच्च हुने ग्यास बिक्रेता संघ काठमाडौंका महासचिव राजेश दाहालले बताए ।

‘ट्रकबाट भुइँमा झार्दा, सिलिन्डर माथि सिलिन्डर राख्दा कुच्चिएर पुरानो हुन्छ, कम्पनीबाट डिप टेस्ट पनि हुँदैन,’ उनले भने, ‘परीक्षण नगरिएका सिलिन्डर बजारमा छ्यापछ्याप्ती छन् । सानो तिनो कुराको ख्याल नगर्दा उपभोक्ता जोखिममा छन् ।’

गुणस्तरहीन रेगुलेटर/पाइप र समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट नहुँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने गरेको छ । नेपालमा धेरै पुराना सिलिन्डर प्रयोगमा छन् । ग्यास उद्योगीहरूले पुराना सिलिन्डर नष्ट नगरी बजारमा पठाउने गरेका छन् ।

पुराना सिलिन्डरमा ग्यास वितरण हुँदा नेपालमा सिलिन्डर ग्यास लिक हुने, पड्किने गरेको हो । ग्यासमा सेफ्टी क्याप अनिवार्य लगाउनुपर्छ तर अधिकांश कम्पनीहरूले बिना सेफ्टी क्याप ग्यास बिक्री गर्छन् ।

महासचिव दाहालका अनुसार मुख्यत: ग्यास भल्बका कारण जोखिम हुन्छ । ग्यासको भल्ब पुन: प्रयोगले जोखिम बढ्दै जान्छ । सामान्यत: ग्यासको भल्ब एक पटक प्रयोग गरेपछि पुन: प्रयोग गर्न हुँदैन । तर, बजारमा सफा गरेर पुन: प्रयोग गरेको पाइन्छ । भल्ब मर्मत गर्दा जोखिम बढी हुन्छ । ग्यास लिक भएर आगो लाग्ने, पड्किने सम्भावना हुन्छ ।

यी विषयमा पटकपटक कुरा उठे पनि उद्योगी, नापतौल तथा गुणस्तर विभाग, निगम, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग लगायतका निकायले दायित्व पूरा नगरेको उपभोक्तावादीहरू आरोप लगाउँछन् । ‘आपूर्ति विभागले निगम, निगमले गुणस्तरलाई जिम्मेवार निकाय देखाउँदै आफू चोखिन खोजेका छन् ।

समस्या परेको बेला विषय उठाइए पनि घटना सेलाउँदै जाँदा विषय पनि सेलाउँछ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘उपभोक्ताहरू उद्योगीसँगै सरकारी निकायको चेपुवामा छन् ।’ अनुगमन तथा नियमन गर्ने निकाय प्रस्ट हुनुपर्ने उनले बताए ।

एलपी ग्यास उद्योग संघका अनुसार ५३ वटा उद्योगमध्ये अधिकांश उद्योग उपत्यका लक्षित गरी सञ्चालन गर्दै आएका छन् ।

धादिङमा मात्रै १५ वटा ग्यास उद्योग छन् । ती सुगम, सिद्धार्थ, एचपी, एसटीसी, श्री, बाबा, श्रीराम, ओम, गीता, श्रीमाया, तारा, नमस्ते, भानु, त्रिवेणी र श्रीकृष्ण ग्यास हुन् ।

काभ्रेमा हिमाल, सौर्य, उग्रचण्डी र सागर ग्यास उद्योग छन् । उपत्यकालाई लक्षित गरी गैंडाकोट (नवलपरासी) मा लुम्बिनी, कोसी, जानकी, एचपी, र राजधानी ग्यास उद्योग छन् । यस्तै चितवनमा बाबा, साई बाबा, नारायणी, उग्रचण्डी, लोकप्रिय ग्यास उद्योग छन् । हेटौंडामा सहारा र मारुती, वीरगन्जमा मनोज, पोखरामा गृहलक्ष्मी ग्यास उद्योग छन् ।

प्रकाशित : असार ४, २०७३ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?