कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उखुको मूल्य निर्धारणमा जोड

सर्लाही — किसानले चिनी मिल सञ्चालनअघि उखुको मूल्य निर्धारण गर्न जोड दिएका छन् । चिनी मिल सञ्चालनको तयारीतिर लागेपछि उनीहरूले उखुको मूल्य तोक्न दबाब दिएका हुन् ।

चिनी उत्पादक र किसानबीच उखुको मूल्यमा सहमति भएको छैन । उनीहरूबीचको दोस्रो वार्ता शुक्रबार हुने भएको छ । उद्यमीले बढीमा क्विन्टलको ५ सय रुपैयाँसम्म दिन सक्ने संकेत गरेका छन् । किसानले भने ६ सय रुपैयाँभन्दा बढी माग गरेका छन् । चिनीको भाउ वृद्धि भएकाले सोही अनुपातमा उखुको मूल्य बढाउनुपर्ने किसानको माग छ । सञ्चालकहरू भने यसरी मूल्य बढाउन आनाकानी गर्दै आएका छन् ।

उखुको मूल्य निर्धारण नभए पनि चिनी मिलले सञ्चालनको तयारी पूरा गरेका छन् । धनकौलस्थित अन्नपूर्ण सुगर मिलले सञ्चालनअघि गर्नुपर्ने डोगा पूजा सकेको छ । मिलका सञ्चालक ज्ञानप्रसाद भट्टराईले क्रसिङका लागि मिल पूर्णरूपमा तयार रहेको बताए । ‘उखुको मूल्य तय हुने प्रतीक्षा गरिरहेका छौं,’ उनले भने, ‘मिल सञ्चालनका लागि तयार भइसक्यो । किसान र हामी छिटो क्रसिङ होस् भन्नेमा छौं ।’ गत वर्ष उखुको मूल्य ४ सय ४८ रुपैयाँ रहेकामा यो वर्ष बढ्ने निश्चित भए पनि किसानको माग र उद्यमीले दिने मूल्यमा धेरै अन्तर भएपछि सहमति हुन सकेको छैन ।

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु काट्ने बेला भइसकेकाले छिटो मूल्यमा सहमति हुनुपर्ने बताए । उनले चिनीको भाउ वृद्धिको अनुपातमा उखुको मूल्य बढाउनुपर्ने वैज्ञानिक माग उद्यमीले मान्नुपर्ने जिकिर गरे । ‘चिनीको भाउ घट्यो भनेर यसअघि उखुको मूल्य घटाइयो,’ उनले भने, ‘अहिले चिनीको मूल्य ४० प्रतिशत बढेकाले सोहीअनुसार उखुको मूल्य बढाउनुपर्छ ।’

प्रकाशित : मंसिर २३, २०७३ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?