कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जहाज पार्किङ कहाँ गर्ने ?

-सुरज कुँवर

काठमाडौं — खुम्चिँदै गइरहेको विमानस्थलको जमिन, बढ्दो अन्तर्राष्ट्रिय उडान अनि थपिने क्रममा रहेका ठूला विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई अबका दिन जहाज पार्किङ कहाँ गराउनेबारे चिन्ता बढाएको छ ।

जहाज पार्किङ कहाँ गर्ने ?

मलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलसँग आठवटा मात्रै ठूला जहाज पार्किङ गर्ने ‘वे’ छन् । जसमा दैनिक विमान ८ बजेदेखि राति १२ बजेसम्म ४२ भन्दा बढी जहाज पार्किङ हुन्छन् । मध्यम आकारको विमान (न्यारो बडी) पार्किङ गर्न सकिने ‘वे नम्बर फोर’ महिनौंदेखि बन्द छ । यो मर्मत भएर सञ्चालनमा ल्याउन कम्तीमा चैत कुर्नैपर्छ । अन्तर्राष्ट्रिय उडानको चाप मध्याहन (बिहान १० देखि ४ बजे अनि साँझ ७ देखि ११ बजे) बढी छ । 

नेपाल वायु सेवा निगमले यसै आर्थिक वर्षभित्र एउटा वाइड बडी थप्ने प्रक्रिया थालिसकेको छ, दुई महिनाभित्रै हिमालय एयरलाइन्सले पनि जहाज ल्याउने घोषणा गरिसकेको छ । ‘जहाज थपिएपछि अहिलेकै साँधुरो र सानो पार्किङवेमा जहाज राख्न सकिने अवस्था छैन,’ प्राधिकरणका महानिर्देशक संजीव गौतम भन्छन् । ठूला जहाजको संख्या बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयरबस ३२० आकारका दुइटा विमानलाई आन्तरिक टर्मिनलको छेउको ७ र ८ नम्बर पार्किङवेको अघिल्तर राख्ने पनि गरेको छ । तर, त्यो पार्किङ्वे भने होइन । ‘अन्तर्राष्ट्रिय उडानको चाप बढ्ने देखिएपछि उडानमा रहेका हाम्रा घरेलु विमानलाई त्यो कुनातर्फ ‘मिलाएर’ पार्किङ गराउन बाध्य हुन्छौं,’ विमानस्थलका एक अधिकारीले भने, ‘वास्तवमा त्यो जोखिमपूर्ण व्यवस्थापन हो, यदि त्यहाँ पार्किङमा कुनै सवारी साधनले जहाज ठोकिइहाले वा कुनै भवितव्य हुन सक्छ ।’

यो विमानस्थलको पार्किङ्वेमा प्राय: चिनियाँ लगानीकर्तासँग सहकार्य गरी स्थापना भएको हिमालयको एउटा न्यारो बडी एयरबस, नेपाल वायु सेवा निगमका दुइटा एयरबससहित तीनवटा विमान गरी चारवटा जहाज हुन्छन् । यी विमानहरूको हब नै काठमाडौं भएकाले चारवटा पार्किङवे प्राय: खाली हुँदैनन् । बिहान जब पिक आवर सुरु हुन्छ विमानस्थल व्यवस्थापनलाई जहाज कसरी व्यवस्थापन गर्ने भन्ने तनाव सुरु हुन्छ । अन्तर्राष्ट्रिय एयरलाइन्सका एक जना स्टेसन म्यानेजरका अनुसार अझ हिउँदे सिजनमा मौसमका कारण ढिलोगरी विमानस्थल खुलेपछि विदेशबाट आएका जहाजहरूले कम्तीमा आधा घन्टादेखि ५० मिनेटसम्म सिमरामाथिको आकाशमा रोकिनु ‘होल्ड’ हुनुपर्ने बाध्यता छ । यस्तो अवस्था आउनुको मुख्य र एक मात्रै कारण पार्किङ क्षमता नै हो । ‘पिकआवरमा हामी आफैं खटेर पार्किङवेबाट सक्दो चाँडो जहाजलाई सके उडाउने नसके पार्किङ्वेबाट ट्याक्सीवेसम्म पुर्‍याउन लाग्नुपर्छ,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्, ‘१० मिनेट मात्रै छिटो उडान पाउँदा पनि ठूलो राहत मिल्छ ।’ 

२८ वटा विदेशी एयरलाइन्समध्ये टर्किस, थाई, कतार, कोरियन, एयर एसियालगायतका एयरलाइन्स, जो वाइड बडी विमान सञ्चालन गर्छन् । ती विमानले काठमाडौंमा अवतरण भएको डेढ घण्टाभित्र फर्किसक्नुपर्छ । न्यारो बडी विमान सञ्चालन गर्ने एयरलाइन्सहरूले १ घण्टामा पार्किङवेबाट यात्रु ओरालेर अनि राखेर उडिसक्नुपर्छ । तर, ठाउँ अभावकै कारण विमानस्थल व्यवस्थापनले ठूलो आकारको विमान भएका एयरलाइन्सलाई १ घण्टा १५ मिनेटभित्र र न्यारो बडी विमानलाई ५० मिनेटभित्र पार्किङवे छाड्न लगाइरहेको छ । 

‘अब निगमले दुई वर्षभित्र दुइटा ठूला विमान अनि हिमालयले अबको ५ वर्षभित्र १० वटा अनि १० वर्षभित्र ३० वटा विमान समयमै ल्याए के हुन सक्छ ?’ यसबारे महानिर्देशक गौमत भन्छन्, ‘खासमा अहिले हामीसँग थप नौवटा गरी १८ वटा पार्किङवे बनिसक्नुपर्ने बेला थियो । तर, दुर्भाग्य भयो ।’ अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र उडान सुरक्षा अभिवृद्धिमा संलग्न स्पेनिस कम्पनी कन्स्ट्रकटोरा सानहोजेले भाका गरेअनुसारको काम नगर्दा पार्किङवे थपिएन । ०६९ फागुनदेखि काम थालेको सानहोजेले ०७१ चैतसम्म विमानस्थलको उत्तर–पश्चिमतर्फको खाल्डोमा २० लाख घनमिटर माटो भरेर ९ वटा समानन्तर ट्याक्सीवे भएका पार्किङ्वे निमार्ण सकिसक्नुपर्ने थियो । तर, भाका गरेको तालिकाअनुसार काम नगरेका कारण ८ अर्ब रुपैयाँको ठेक्का सम्झौता प्राधिकरणले सानहोजेसँग रद्द गरेको छ । 

यो निर्णयसँगै विमानस्थलको विस्तारको भविष्य फेरि अनिश्चित बनेको छ । प्राधिकरणले पुन: ठेक्का आहवान गर्न नयाँ प्रक्रिया अपनाउनुपर्छ । प्राधिकरणले हालको चापलाई व्यवस्थापन गर्न विमानस्थलकै पूर्वमा दुइटा अनि पश्चिमतर्फ हेलिकप्टर पार्किङ दुइटा गरी चारवटा पार्किङ्वे थप्नैपर्छ ।

प्रकाशित : पुस १६, २०७३ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?