२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

केन्द्रीय प्रसारणमा २५ मेगावाट थप

कास्की — अपरमादी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेपछि केन्द्रीय प्रसारणमा २५ मेगावाट थप भएको छ । मादी पावर प्रालिले निर्माण गरेको आयोजनाले शुक्रबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।

०६९ पुस १३ बाट निर्माणको काम सुरु भएको आयोजनाको शुक्रबार ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे । उक्त अवसरमा शर्माले मुलुकले ऊर्जा संकट व्यहोरिरहेको बेला आयोजना बनेर ठूलो योगदान दिएको बताए । ‘ऊर्जाबिना औद्योगिक, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षालगायत क्षेत्रको विकास हुँदैन,’ उनले भने, ‘अब जनताको सहभागितासाथ निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजनामा छौं ।’

नेपाली जनतासमक्ष ठूलो पुँजी रहेकाले त्यसलाई संकलन गर्ने र सरकारले खर्च गर्न नसकेको बजेट पनि ऊर्जामा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

आयोजनामा कार्यकारी निर्देशक तथा स्वदेशी सञ्चालक बिजयबाबु मल्लको २० र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ । रन अफ दि रिभर प्रकृतिको आयोजनाबाट उत्पादित बिजुली साढे १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनमा पुर्‍याइनेछ ।

आयोजना चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण गरेको हो । आयोजनाले पुस ५ देखि उत्पादन परीक्षण गरिरहेको र एक सातापछि व्यावसायिक उत्पादन थालिने कोअर्डिनेटर राजकुमार बरालले बताए । विद्युत् गृहमा १२.५ मेगावाट क्षमताका दुईवटा फ्रान्सिस टर्वाइन जडान गरिएको छ । सुरुङमा मादी नदीको पानी ल्याएर बिजुली उत्पादन भएको छ ।

प्रकाशित : पुस १६, २०७३ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?