२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

म्यानपावर व्यवसायीलाई ‘अन्तर्राष्ट्रिय श्रमविज्ञ’ बनाएर लगिँंदै

अबुधाबी डायलग
दिनेश रेग्मी

काठमाडौं — श्रीलंकामा आयोजना हुने श्रम प्रवासन विषय एक क्षेत्रीय सम्मेलनमा नेपालबाट एक म्यानपावर व्यवसायीलाई श्रम तथा रोजगार मन्त्रालयले ‘अन्तर्राष्ट्रिय श्रमविज्ञ’ बनाएर लैजान लागेको छ ।

कोलम्बोमा आउँदो सोमवार र मंगलबार आयोजित ‘अबुधावी डाइलग (कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरूको क्षेत्रीय सम्मेलन)’ मा श्रम राज्यमन्त्री दिलीपखवास गच्छदारले म्यानपावर व्यवसायी हंशराज वाग्लेलाई त्यसरी लैजान लागेका हुन् । त्यसैगरी उनले आफ्ना अवैतनिक सल्लाहकार हरिकुमार लम्साललाई पनि सरकारी प्रतिनिधिका रूपमा सम्मेलनमा लैजाँदै छन् । अवैतनिक व्यक्तिलाई सरकार प्रतिनिधि बनाउन पाइँदैन ।

राज्यमन्त्री गच्छदारको नेतृत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे, श्रम मन्त्रालयका उपसचिव पोखरेल, श्रम राज्यमन्त्रीका अवैतनिक सल्लाहकार लम्साल र वैदेशिक रोजगार व्यवसायी वाग्ले छन् । सबैजना श्रम मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्दै छन् ।

श्रम मामिला विषयमा हुने यो सम्मेलनमा परराष्ट्र र कोलम्बोस्थित नेपाली दूतावासबाट श्रम हेर्ने अधिकारीको भने प्रतिनिधित्व छैन ।

वाग्लेलाई ‘अन्तर्राष्ट्रिय श्रमविज्ञ’ का रूपमा लैजान लागे पनि गच्छदारले भने वैदेशिक रोजगार व्यवसायीको रूपमा लैजान लागेको दाबी गरेका छन् । राज्यमन्त्रीले एक पेसाको व्यक्तिलाई अर्को पेसाको बनाएर सरकारी प्रतिनिधित्व गराउनु पदीय दुरुपयोग हो । ‘वाग्लेजी वैदेशिक रोजगार व्यवसायीकै रूपमा र ट्रेड युनियनमा समेत लागेकाले र लम्साललाई सल्लाहकारका रूपमा लैजान लागेको हुँ,’ गच्छेदारले भने, ‘प्रक्रिया मात्र श्रम मन्त्रालयको हो, आफ्नो खर्च उहाँहरू आफैंले बेहोर्नुहुन्छ ।’ थेरापिस्ट पेसाका लम्साललाई पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङले श्रम गन्तव्य अध्ययनका लागि समेत नियुक्त गरेका थिए । लम्सालले आफू राज्यमन्त्रीको सल्लाहाकारका रूपमा जान लागेको बताएका छन् ।

वाग्लेले व्यवसायी संघबाट जान खोजे पनि प्रतिनिधित्वको पत्र नपाएपछि मन्त्रालयका तर्फबाट श्रमविज्ञका रूपमा जान लागेको स्विकारेका छन् । वाग्ले वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । ‘मलाई संघले प्रतिनिधित्व दिएन र श्रमविज्ञका रूपमा जान लागेको हुँ,’ उनले भने, ‘प्रक्रिया श्रम मन्त्रालयले गरे पनि खर्च मेरो आफ्नै हो ।’ अबुधावी डाइलगमा कामदार पठाउने ११ राष्ट्र, मगाउने ७ राष्ट्र र अन्य केही राष्ट्र तथा अन्तर्राष्ट्रिय निकाय पर्यवेक्षकका रूपमा सहभागी हुन्छन् । सम्मेलनको पहिलो दिन वरिष्ठ अधिकारीहरूको बैठक र दोस्रो दिन श्रममन्त्रीस्तरीय परामर्श बैठक हुँदै छ ।

संयुक्त अरब इमिरेस्ट (यूइए) को राजधानी अबुधाबीबाट २००८ देखि सुरु भएको ‘अबुधाबी डाइलग’ सम्मेलनमा अबुधाबीबाट सुरु भएकाले यसलाई अबुधाबी डाइलग भनिँदै आएको छ, जसको सुरुवात कामदार मगाउने राष्ट्रहरूले गरेका थिए । अबुधाबी डाइलगमा कामदार मगाउने राष्ट्रहरूमा मध्यपूर्व खाडीका ६ राष्ट्र (यूएई, कतार, साउदी अरब, ओमन, बहराइन र कुवेत) र यमन तथा पठाउने राष्ट्र अफगानिस्तान, बंगलादेश, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम सदस्य राष्ट्र छन् ।

प्रकाशित : माघ ७, २०७३ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?