२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लगानी जुटाउन १ सय २२ आयोजना तयार

काठमाडौं — लगानी बोर्डले तयार पारिरहेका १ सय २२ आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी जुटाउने उदेश्यले दोस्रो पूर्वाधार सम्मेलनमा प्रदर्शनी गरिने भएको छ ।

लगानी जुटाउन १ सय २२ आयोजना तयार

नेपाल उद्योग परिसंघ (सीएनआई) र सरकारी निकायसहित गर्न लागिएको दोस्रो पूर्वाधार सम्मेलनमा उक्त आयोजना प्रदर्शन गरिने भएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीका अनुसार आयोजनाहरूलाई अन्तिम रूप दिन बाँकी छ । ‘सम्बन्धित आयोजनाका लागि अन्तिम रूप दिन मन्त्रालयहरूसँग पत्राचार गरिएको छ,’ उनले भने, ‘आयोजना तयार भइसकेपछि प्रदर्शनी गर्ने हो ।’ यसबारे परिसंघका अधिकारी र बोर्डबीच समझदारी हुन भने बाँकी नै छ । निर्णयका केही समयपछि छलफल गर्ने तयारी छ । तर, प्रदर्शनीबारे यसअघि नै सीएनआई र बोर्डका अधिकारीहरूबीच अनौपचारिक रूपमा छलफल भएको हो ।

यसअघि सरकारसँग तयारी अवस्थाका आयोजना नहुँदा लगानीकर्तामाझ आह्वान, ब्रान्डिङलगायत विषयमा समस्या भएको थियो । यस विषयमा बोर्ड सचिवालयले आयोजना बैंकबारे अध्ययन तयार पारेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्ड बैठकले आयोजना बैंक तथा प्रोजेक्ट आइडिया नोटमा समावेश भएका १ सय २२ वटा परियोजनाहरूका सम्बन्धमा सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी अन्तिम रूप दिई सार्वजनिक गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसारका आयोजनाहरू सार्वजनिक गरिने भएको हो । आउँदो फागुन ८ र ९ गते (१९ र २० फेबु्रअरी) मा काठमाडौंमा दोस्रो पूर्वाधार शिखर सम्मेलन हुन लागेको छ । 

सम्मेलन सीएनआई, नेपाल सरकार, युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर (वाईसीएनसी) र विभिन्न सरकारी निकाय, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारहरूको सहकार्यमा आयोजना हुन लागेको हो । बोर्डका अनुसार त्यसपछि सरकारले गर्ने भनिएको १९ र २० गतेको लगानी सम्मेलनमा पनि यी आयोजनाहरू प्रस्तुत गरिनेछन् । परिसंघका अध्यक्ष हरिभक्त शर्माका अनुसार सरकारले तयार पार्ने उक्त आयोजना मात्रै नभएर अन्य आयोजनाको विषयमा समेत सम्मेलनभर चर्चा गरिनेछ । 

‘कुन आयोजनामा विदेशीले लगानी गर्न सक्छ ? यहाँका लगानीकर्ताले कुन आयोजनामा लगानी गर्न सक्छन ? भन्ने अह्वान हुनेछ,’ उनले भने, ‘कानुनहरूको सुधार, सरकारको सहभागिता, जग्गा अधिग्रहण, वातावरणी मूल्यांकनको प्रक्रियाको विषयमा चर्चा हुनेछ ।’ उनका अनुसार परियोजना आइडियाको विषयमा समेत आह्वान गरिएको छ । ‘नेपालको सन्दर्भमा कस्तो परियोजना बन्नुपर्छ ? कसरी बनाउन सकिन्छ भन्ने आइडिया संकलन गर्नका लागि विज्ञापनमार्फत आह्वान गरिसकेका छांै,’ शर्माले भने, ‘२०/२२ वटा प्राप्त भइसकेका छन् । प्राप्त भएका उत्कृष्ट १० वटा सम्मेलनमा प्रस्तुत हुनेछन् । त्यसमध्ये तीनवटा आइडियालाई पुरस्कृतसमेत गरिनेछ ।’ गत वर्षबाट निजी क्षेत्र र सरकारी निकायको सहभागितामा पूर्वाधार सम्मेलन गर्न सुरु गरिएको हो । 

पहिलो सम्मेलनले पहिचान गरेका विभिन्न समस्या सामधानका उपाहरूसमेत दोस्रो सम्मेलनमा खोजिने शर्माले बताए ।

दोस्रो सम्मेलनको उद्देश्य पूर्वाधार विकासमा निजी क्षेत्रको अपरिहार्यतामाथि बहस सुरु गर्नु रहेको सीएनआईले जनाएको छ । ‘देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, यो क्षेत्रमा ‘सिमलेस कनेक्टिभिटी’ को विकास गर्नु र देशमा लगानी किन आवश्यक छ भन्ने चेतना जगाउनु पनि हाम्रो लक्ष्य हो,’ सम्मेलनबारे सीएनआईले भनेको छ, ‘सम्मेलनले पूर्वाधार, ‘भ्यालु प्रोपोजिसन’, प्रतियोगितात्मकता, भू–अधिग्रहण र वातावरणीय पक्षसम्बन्धी नीति, नियमन र व्यावसायिक वातावरण आदिमा जोड दिनेछ । यो कार्यक्रमले सन् २०१४ को नोभेम्बरमा आयोजना भएको पहिलो पूर्वाधार सम्मेलनका उपलब्धिहरूलाई समायोजना गर्नेछ ।’ 

प्रधानमन्त्री दाहाल मुख्य अतिथि रहने सम्मेलनमा भारत सरकारका रेलमन्त्री सुरेश प्रभाकर प्रभु लगायतको सहभागिता रहनेछ । ‘पूर्वाधार शिखर सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका लगानीकर्ता, परामर्शदाता, निर्माता, सरकारी निकाय, कूटनीतिज्ञ, विकास साझेदार, नीतिनिर्माताको सहभागिता रहनेछ,’ सीएनआइले भनेको छ, ‘पूर्वाधार विकासको मामिलामा नेपालको अवस्था दयनीय छ र यसले धेरै अवसरका ढोकाहरूलाई थुनेर राखेको छ । प्राविधिक, व्यवस्थापकीय र आर्थिक रूपमा क्षमतावान् निजी क्षेत्रले मात्र कम खर्चमा सहज र गुणस्तरीय परिणाम ल्याउन सक्छ भन्ने हाम्रो ठम्याइ हो ।’

सीएनआएले विश्व बैंकको एक प्रतिवेदनलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार पूर्वाधारको अभावका कारण यो दशक नेपालको कुल आम्दानीमा आठदेखि १२ प्रतिशतले कमी आएको छ । 

‘नेपालको मध्यावधि लक्ष्य सन् २०३० सम्ममा अति कम विकसित मुलुकहरूको सूचीबाट हटेर मध्यम आय भएको मुलुकको सूचीमा पर्नु हो । तर यो लक्ष्य उच्च वृद्धिदरबाट मात्र सम्भव छ । यसका लागि निजी क्षेत्रको नेतृत्वमा तीव्र पूर्वाधार विकास नितान्त अपरिहार्य छ,’ सीएनआईले भनेको छ ।

 

प्रकाशित : माघ १३, २०७३ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?