कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तरलता समस्या छिट्टै अन्त्य

कान्तिपुर संवाददाता

काठमाडौं — बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता (लगानीयोग्य रकम) अभाव समस्या छिट्टै समाधान हुने राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । पछिल्ला दुई साताको बैंकिङ कारोबार अवलोकनका आधारमा विद्यमान समस्या छिट्टै समाधान हुने देखिएको उनले जनाए ।

नेपाल चेम्बर अफ कमर्सले ‘व्यवसाय सञ्चालनको विद्यमान चुनौती तथा बैंकिङ क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

राष्ट्र बैंकले सूक्ष्म ढंगले नियमित रूपमा बैंक तथा वित्तीय संस्थाका सबै कारोबार नियमन गरिरहेको र पछिल्ला दिनहरूमा वित्तीय प्रणालीमा तरलता बढिरहेको उनले बताए । ‘पछिल्ला दुई सातामा निक्षेप ७१ अर्बले बढाएकोमा कर्जा १५ अर्ब रुपैयाँले विस्तार भएको छ,’ उनले भने, ‘यही क्रम बढ्दै गएमा वित्तीय प्रणालीमा लगानीयोग्य रकम पर्याप्त हुने देखिन्छ ।’ 

बैंकहरूले सेयर प्रतिफल बढाउन छिटो मुनाफा आउने क्षेत्रमा मात्र ध्यान केन्द्रित नगरी उत्पादनमूलक र दीर्घकालीन लगानीका क्षेत्रमा पनि ऋण प्रवाह गर्न उनले आग्रह गरे । 

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले हाल बैंकहरूसँग लगानीयोग्य रकम मात्र कमी भएको र बिस्तारै त्यो पनि बढिरहेको बताए । 

‘लगानीयोग्य रकममा कमी भएकाले अनुत्पादक क्षेत्रको लगानी नियन्त्रण गरेका छौं,’ उनले भने, ‘निक्षेपको वृद्धिदरका आधारमा कर्जा सबै पक्षको विश्लेषण गरी ऋण प्रवाह गर्छौं ।’ 

मार्जिन लेन्डिङ, रियल इस्टेट र सवारी साधनमा बैंकहरूले लगानी नगर्ने आसयका समाचारको खण्डन गर्दै उनले भने, ‘बैंकहरूले कुनै क्षेत्रमा पनि ऋण प्रवाह रोकेका छैनन् । राष्ट्र बैंकको निर्देशनअनुसार उत्पादनमूलक क्षेत्रलाई बढी प्राथमिकता दिएका हौं ।’ 

कार्यक्रममा उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले ब्याज बढाएकाले आफूहरूलाई समस्या भएको बताएका छन् । बैंकहरूले सिन्डिकेट शैलीमा कर्जा तथा निक्षेपको ब्याज बढाएकाले व्यापार व्यवसाय चलाउन अप्ठ्यारो भएको उनीहरूको तर्क थियो । 

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?