१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

युरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

पुनर्विचार गर्ने युरोपीयन युनियनको आश्वासन
कान्तिपुर संवादददाता

काठमाडौं — महतले बिहीबार ब्रसेल्समा युरोपेली आयोगका अध्यक्ष जिनक्लाउड जंकर तथा उच्च अधिकारीसँगको भेटमा नेपाली हवाई उड्डयनमाथि यूरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।

युरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली हवाई उड्डयनमा यूरोपेली युनियनले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।

नेपाली एयरलाइन्सहरुको हवाई सुरक्षा मापदण्ड नपुगेको भन्दै युरोपियन युनियनले विगत केही समयदेखि नेपाली हवाई उड्डयनमाथि प्रतिबन्ध लगाएको छ । मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मन्त्री महतले हाल नेपाली एयरलाइन्सले मापदण्ड पूरा गरेको भन्दै प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेपछि आयोगका अध्यक्ष जंकरले यस प्रावधानको आवश्यक अध्ययन गरी नेपाल सरकारले उपलब्ध गराउने तथ्यका आधारमा पुनर्विचार गर्ने आश्वासन दिए ।’

भेटका क्रममा मन्त्री महतले नेपालमा पूर्वाधार निर्माणका साथै भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग बढाउन युरोपियन युनियनलाई आग्रह गरे ।

युरोपमा नेपालको निर्यात प्रोत्साहन हुनेगरी बजारको पहुँच र थप सहुलियत, ठूला आयोजनाहरुका साथै पूर्वाधारमा लगानी एवं शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा थप सहयोगका लागि आग्रह गर्दै मन्त्री महतले युरोपेली युनियनले लामो समयदेखि नेपालको विविध क्षेत्रमा गर्दै आएको आर्थिक लगायतको सहयोगका लागि धन्यवाद दिएको विज्ञप्तीमा उल्लेख छ ।

महतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधानको कार्यान्वयन एवं छिट्टै स्थानीउ निर्वाचनहरुको बारेमा पनि जानकारी गराएका थिए । युरोपियन आयोगका अध्यक्ष जंकरले नेपालको विकास प्रयासमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । उनले आगामी दिनमा युरोपियन युनियनले गर्ने सहयोगका क्षेत्र विस्तारको सम्भावना तथा सहयोगमा बृद्धि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ५, २०७३ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?