२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बैंकहरूको खराब कर्जा घट्यो

यज्ञ बञ्जाडे

काठमाडौं — वाणिज्य बैंकहरूले खराब कर्जा अनुपात घटाएका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ० दशमलव २९ प्रतिशत विन्दुले घटेको छ । आर्थिक वर्ष ०७२/७३ पुसको तुलनामा यस वर्ष ७ वटा वाणिज्य बैंकहरूको खराब कर्जा बढे पनि २१ वटाको घटेको छ । तर, औसतमा वाणिज्य बैंकहरूको खराब कर्जा घटेको बैंकहरूद्वारा प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

बैंकहरूको खराब कर्जा घट्यो

०७२ पुसमा १ दशमलव ९४ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जा गत पुसमा १ दशमलव ६४ प्रतिशत झरेको छ । तर, गत असारको तुलनामा पुससम्ममा यस्तो खराब कर्जा बढेको देखिन्छ । गत असारमा वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा १ दशमलव ५६ प्रतिशत थियो ।

बैंकहरूले विगतबाट पाठ सिक्दै संयमित तरिकाले लगानी गरेकाले पछिल्ला वर्षमा खराब कर्जामा उल्लेख्य सुधार भएको बैंकर्स संघका उपाध्यक्ष एवं बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । ०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीका कारण बैंकिङ व्यवसायमा परेको असर न्यूनीकरणका लागि राष्ट्र बैंकले दिएको कर्जाको पुन: संरचना, पुनर्तालिकीकरणलगायत सुविधा पनि खराब कर्जा घट्नुको प्रमुख कारण भएको उनले जनाए । ‘कर्जा विस्तारको मामलामा बैंकहरू निकै सचेत हुन्छन्,’ उनले भने, ‘सजिलै कर्जा डुब्दैन भन्ने लागेपछि मात्र उनीहरूले ऋण प्रवाह गर्छन् ।’ यस कारण खराब कर्जामा उल्लेख्य सुधार भएको उनले दाबी गरे ।

हाल तरलता अभावले ब्याजदर धेरै माथि पुगिसकेकाले आउँदा दिनमा खराब कर्जा बढ्ने सम्भावना बढदै गएको उनले बताए । ‘छोटो समयमा उच्च दरले ऋणको ब्याजदर बढेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा खराब कर्जा बढ्ने सम्भावना धेरै हुन्छ । बैंकहरू त्यसतर्फ सचेत बन्नुपर्छ ।’ बढ्दो ब्याजले चुनौती थपिँदै जानेछ ।

आवश्यक कागजातसहित प्रक्रिया पुर्‍याएर कर्जा प्रवाह र राष्ट्र बैंकको प्रभावकारी नियमन व्यवस्थाको कारण बैंकहरूको खराब कर्जा घटेको एक वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतले बताए । उनले भने, ‘कुनै विशेष अवस्थामा बाहेक बैंकहरूको खराब कर्जा बढ्ने सम्भावना न्यून हुन्छ ।’

बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमास (आधा वर्ष) को वित्तीय विवरणअनुसार २१ वटा बैंकको खराब कर्जा घटेको छ । उक्त अवधिमा सानिमा बैंकको खराब कर्जा सबैभन्दा कम छ । यो बैंकको खराब कर्जा ०.०१ प्रतिशत मात्र छ । ०७२ पुसमा यस्तो कर्जा ०.०५ प्रतिशत थियो । यस्तै नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्ेर र सेञ्चुरी बैंक क्रमश: कम खराब कर्जा हुने प्रमुख पाँच बैंक बन्न सफल भएका छन् । तर, एभरेस्ट, लक्ष्मी, सिद्धार्थ, एनमएमबी, सिभिल, एनसीसी र जनाता बैंकको खराब कर्जा सामान्य बढेको छ । खराब कर्जा बढे पनि सबै बैंकहरूले राष्ट्र बैंकको निर्देशन पालना गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूलाई अधिकतम ५ प्रतिशतसम्म खराब कर्जा जोखिममुक्त मानिन्छ । यो अन्तर्राष्ट्रिय मान्यता पनि हो ।

खराब कर्जा बढेका बैंकहरूमध्ये एनसीसी र सिभिल बैंक छन् । गत पुस मसान्तमा एनसीसी बैंकको खराबकर्जा ४ दशमलव ८४ प्रतिशत छ । ०७२ पुसमा यस्तो कर्जा १ दशमलव ३० प्रतिशत थियो । दोस्रो त्रैमासको विवरण अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरपछिको पहिलो एकीकृत वासलात भएकाले खराब कर्जामा वृद्धि देखिएको बैंक स्रोतले बताए । यसैगरी ०७२ पुसमा २ दशमलव १४ प्रतिशत रहेको सिभिल बैंकको खराब कर्जा गत पुसमा ४ दशमलव ४५ प्रतिशत थियो ।

निजी बैंकहरूको तुलनामा धेरै खराब कर्जा राख्दै आएका सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकहरूको खराब कर्जा पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घटिरहेको छ । गत पुससम्म राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.७५, नेपाल बैंकको २.८५ र कृषि विकास बैंकको ३.८२ प्रतिशत छ । ०७२ पुसमा ती बैंकहरूको खराब कर्जा क्रमश: ३.४०, ३.८५ र ५.३६ प्रतिशत थियो ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?