सेयरमा लगानी गर्ने चाहनेले थाहा पाउनु पर्ने कुरा

यज्ञ बञ्जाडे

काठमाडौं — पैसा छ, तर कहाँ लगानी गर्ने भनेर चिन्तित हुनुहुन्छ ? वा, दु:ख गरी कमाएको/बचत गरेको पैसा कम ब्याज आउने गरी बैंकमा राख्नुभएको छ ? के त्यसलाई सुरक्षित तवरले लगानी गरी राम्रो प्रतिफल कमाउन चाहनुहुन्छ ? त्यसो हो भने, सेयरमा लगानी पनि एउटा राम्रो विकल्प हुन सक्छ ।

सेयर बजार त्यस्तो क्षेत्र हो, जसमा सचेत र विवेक पुर्‍याएर लगानी गरे छोटो समयमै मनग्य कमाइ गर्न सकिन्छ । तर सचेत भने हुनैपर्छ किनभने सधैं कमाउने ग्यारेन्टी पटक्कै हुँदैन । 

प्राथमिक बजार
प्राथमिक निष्कासन (आईपीओ/एफपीओ) र द्वितीय गरी सेयर बजारलाई दुई भागमा विभाजन गर्न सकिन्छ । कम्पनीले पहिलो पटक (सुरुमा) निष्कासन गरेको सेयरलाई प्राथमिक सेयर बजार भनिन्छ । चुक्ता पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गर्न कम्पनीहरूले प्राथमिक निष्कासन गर्छन् । कतिपय अवस्थामा फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत पनि सर्वसाधारणलाई सेयर निष्कासन गरिन्छ । 

दोस्रो बजार
कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्नुपर्छ । सूचीकृत भएको बढीमा सात दिनभित्र ती सेयरको कारोबार हुन्छ । यसलाई दोस्रो बजार भनिन्छ । दोस्रो बजारमा धितोपत्र ब्रोकर कम्पनीमार्फत सेयर खरिद/बिक्री हुन्छ । 

बजार प्रवेश 
प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा सूचना (विवरणपत्र) प्रकाशन गर्नुपर्छ । त्यसमा कति रकमको सेयर खुलेको हो, कति मूल्यमा, कहिलेसम्म आवेदन दिन पाइन्छ, आवेदन फारम कहाँ पाइन्छ, लगानी गर्न सकिने न्यूनतम र अधिकतम सीमा कति होलगायत सम्पूर्ण विवरण हुन्छ । यसकारण प्राथमिक सेयरमा लगानी गर्नुअघि यस्तो विवरणपत्र हेर्नुपर्छ । त्यसपछि तोकिएको आवेदन संकलन केन्द्रमा गएर फारम भरेर बुझाउनुपर्छ । फारम भर्दा नागरिता र पासपोर्ट साइजको दुईवटा फोटो आवश्यक हुन्छ । प्राथमिक सेयरमा लगानीका लागि बैंक खाता र डिम्याट खाता अनिवार्य हुन्छ । सेयर भर्दा फारममा ती खाता नम्बर पनि उल्लेख गर्नुपर्छ । यसरी सेयर भर्दा नगद वा चेकमार्फत पैसा भुक्तानी गर्नुपर्छ । सामान्यतया ५० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार चेकमार्फत गर्नुपर्ने व्यवस्था छ ।
कम्पनीले प्राथमिक सेयरको आवेदन संकलन मिति सकिएको ४५ दिनदेखि दुई महिनासम्ममा सेयर बाँडफाँड गर्नेछन् । बाँडफाँड भएको सेयर आफूलाई कति कित्ता पर्‍यो भनेर हेर्नुपर्छ । सेयर निष्कासनकर्ता (बिक्री प्रबन्धक) को कार्यालय, विभिन्न वेबसाइटमार्फत सेयर बाँडफाँडको नतिजा थाहा पाउन सकिन्छ । अचेल सेयर बजारसम्बन्धी ‘अनलाइन पोर्टल’ हरूमा पनि सेयर बाँडफाँडको नतिजा हेर्ने सुविधा छन् । सेयर परेको प्रमाणपत्र र नपरेको रकम सुरुमा आवेदन संकलन गरेकै स्थानबाट फिर्ता पाइन्छ । आफूलाई परेको सेयर बिक्री गर्नका लागि दोस्रो बजारमै जानुपर्छ । 

डिम्याट सेयरको मात्र कारोबार
नेपाली सेयर बजारमा गत वर्षदेखि अभौतिक सेयर (डिम्याट अर्थात् कागजी रूपमा रहेको सेयर विद्युतीय माध्यममा परिणत गर्ने प्रक्रिया) को कारोबार हुँदै आएको छ । भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले डिम्याट सेयर मात्र कारोबार सुरु गरिएको हो । यो व्यवस्था लागू भएपछि प्राथमिक निष्कासनमा परेको सेयर ‘डिम्याट’ रूपमै पाइन्छ । तपाईंलाई परेको सेयर तपाईंको डिम्याट खातामा सीधै जम्मा हुन्छ । यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ । सेयरमा लगानी गर्ने हो भने यस्तो खाता खोलिराख्दा हुन्छ ।

कसरी खोल्ने डिम्याट ?
डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्नका लागि धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पार्टिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र ब्रोकर, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन् । आफूलाई पायक पर्ने कुनै कम्पनीमा गएर ‘डिम्याट’ खाता खोल्नुपर्छ । यसका लागि नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । यस्तो खाता खोल्न एक खाता बराबर १ सय ५० रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने व्यवस्था बोर्डले गरेको छ । 
पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो । त्यो व्यवस्था हटेकाले अहिले विद्युतीय रूपमा डिम्याट खातामा जम्मा हुन्छ । डिम्याट खाता खोल्दा कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ । सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ । खरिद गरेको अवस्थामा उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ । यसकारण अहिले सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको हो । डिम्याट सेयरको मात्र कारोबार सुरु भएपछि कागजी सेयर पनि डिम्याट गर्नुपर्छ । त्यसका लागि आफूसँग भएको सेयर डिम्याट खाता खोलेको कम्पनी वा सम्बन्धित बिक्री प्रबन्धक डिम्याट गराउनुपर्छ । त्यसपछि मात्र कारोबारका लागि योग्य हुन्छन् । 

दोस्रो बजारमा कारोबार 
प्राथमिक बजारको तुलनामा दोस्रो बजार बढी जोखिमपूर्ण छ । यो बजारमा कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर (धितोपत्र दलाल) भनिन्छ । सर्वप्रथम कुनै एक ब्रोकर कम्पनीमा गएर लगानीकर्ता परिचयपत्र नम्बर (इन्भेस्टर्स आईडी) लिनुपर्छ । उक्त नम्बर लिनका लागि ब्रोकर कार्यालयमा गएर एउटा फारम भर्नुपर्छ । लगानीकर्ताको पूर्ण पहिचानसहितको उक्त फारमसँगै आफ्नो नागरिकताको फोटोकपी पनि बुझाउनुपर्छ । त्यसपछि मात्र दोस्रो बजारमा लगानी गर्न बाटो खुल्छ । दोस्रो बजारमा सेयर कारोबारका लागि सर्वप्रथम लगानी गर्ने कम्पनी छनोट गर्नुपर्छ । त्यसपछि ब्रोकर कम्पनीमा गएर खरिद आदेश दिनुपर्छ । यस्तो आदेशपछि ब्रोकरले तपाईंका लागि सेयर खरिद गरिदिन्छ । सेयर कारोबार भएपछि प्राप्त गरेको रकम, धितोपत्र वा कागजात प्राप्त गरेकै दिन वा भोलिपल्टसम्म सम्बन्धित पक्षलाई बुझाउनुपर्नेछ । सेयर बिक्री गर्न चाहेको हो भने पनि ब्रोकर कम्पनीमा गएर बिक्रीका लागि आदेश दिनुपर्छ । यसरी बिक्री भएको सेयरबापतको पैसा त्यही दिन वा भोलिपल्ट ब्रोकर कम्पनीले भुक्तानी दिनेछ । 

‘टी प्लस थ्री’ 
दोस्रो बजारमा सेयर खरिद/बिक्री भएको तीन दिनभित्र हिसाब मिलान गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसैलाई ‘टी प्लस थ्री’ भनिन्छ । सेयर बजारको भाषामा कारोबार भएको दिनलाई ‘टी प्लस जिरो’ भनिन्छ । त्यसको भोलिपल्ट ‘टी प्लस वान’ हो । यो रकम राफसाफ (सेटलमेन्ट) गर्ने दिन हो । यस दिन कारोबार भएको सेयर रकम ब्रोकरले सीडीएसको खातामा स्थानान्तरण गरिदिनुपर्छ । अर्को दिन ‘टी प्लस टु’ भनिन्छ । यस दिन सेयर बेच्नेले बेचेको सेयर सीडीएसमा जम्मा गर्नुपर्छ । अन्तिम दिन ‘टी प्लस थ्री’ हो । उक्त दिन सीडीएसले सेयर बिक्री गर्नेलाई पैसा र खरिद गर्नेलाई सेयर प्रदान गर्छ । तर यी सबै काम ब्रोकरमार्फत हुने भएकाले लगानीकर्ताले झन्झट व्यहोर्नु पर्दैन । 

बैंकिङ सुविधा 
सेयर कारोबारमा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि पाइन्छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर र ब्रोकरको जमानीमा (सेयर धितो नराखी) गरी दुई प्रकारले ऋण दिंदै आएका छन् । सेयर धितो राखेर पाइने ऋणका लागि लगानीकर्ताले सेयर प्रमाणपत्र (हाल डिम्याट खातामा सेयर रहेको प्रमाणित कागजात) धितो राख्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले धितोमा रहेको सेयरको बजार मूल्यको बढीमा ५० प्रतिशत रकम बराबर ऋण दिन्छन् । यसअघि ६० प्रतिशत रहेको उक्त सीमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घटाएर राष्ट्र बैंकले ५० प्रतिशतमा झारेको हो । 

ऋणको ब्याजदर 
बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि प्रवाह गर्ने ऋणमा एकै प्रकारको ब्याजदर पाइँदैन । नियमित रूपमा बैंकिङ कारोबार गरिरहेका, नियमित आम्दानीको स्रोत भएका, राम्रा (ब्लु चिप) कम्पनीका सेयर भएका लगानीकर्ताले केही सस्तो ब्याजदरमा ऋण पाउँछन् । अन्य लगानीकर्ताले भने केही महँगो ब्याज तिर्नुपर्छ । पैसा नभएको भन्दै हाल अधिकांश बैंकले सेयर (मार्जिन प्रकृतिको) लगानीमा ऋण प्रवाह रोकेका छन् । यसअघि (अधिक तरलता हुँदा) बैंक तथा वित्तीय संस्थाले औसत ७ देखि ८ प्रतिशतमा यस्तो कर्जा प्रवाह गरेका थिए । अहिले यो बढेर ११ देखि १३ प्रतिशतसम्म पुगेको बैंकर बताउँछन् । सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिंदा नागरिकताको फोटोकपी, धितोमा राख्ने सेयर, डीपी कम्पनीमार्फत डिम्याट खातामा सेयर रहेको प्रमाणीकरणलगायत बैंकले माग्ने कागजात चाहिन्छ ।

नबुझी लगानी गरे डुबिने डर 
सेयर बजारमा लगानी गर्दा सधैं नाफा मात्र हुन्छ भन्ने छैन । कहिलेकाहीं नोक्सान पनि बेहोर्नुपर्छ । कम्पनीबारे नबुझी हल्लाका भरमा लगानी गर्दा नोक्सानको सम्भावना धेरै हुन्छ । धेरैले ठूलो सम्पत्ति गुमाएका पनि छन् । तर कम्पनीको अवस्था, विगत ४/५ वर्षयताको कारोबार, कम्पनीको व्यावसायिक रणनीति, उद्देश्य, मुनाफा वितरणको अवस्था, राजनीतिक अवस्था, नियामक निकायका निर्देशनलगायत पक्ष अध्ययन गरी लगानी गरे लगानी डुब्ने सम्भावना कम हुन्छ । आफूले लगानी गरेको कम्पनीका बारेमा सधैं अपडेट भइराख्नुपर्छ । वित्तीय अवस्थामात्रै होइन, सम्बन्धित कम्पनीका सञ्चालक र उक्त कम्पनीसँग सम्बन्धित नियामक निकायका निर्देशन पनि हेर्नुपर्छ । 

कसरी बन्ने जानकार ? 
सेयर बजारसम्बन्धी जानकारीका लागि बजारमा विभिन्न पुस्तक उपलब्ध छन् । केही संघसंस्थाले सेयर कारोबारसम्बन्धी तालिम पनि दिंदै आएका छन् । सेयर बजारलाई नै लक्षित गरी विभिन्न पत्रपत्रिका, अनलाइन पनि खुलेका छन् । त्यसबाट पनि धेरै जानकारी पाउन सकिन्छ । कम्पनीहरूको वेबसाइट, मासिक तथा वार्षिक पत्रपत्रिका, वासलातलगायत सञ्चालक समितिका निर्यणहरूबाट पनि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । यस क्षेत्रका विज्ञहरू, अग्रज लगानीकर्ता, धितोपत्र ब्रोकरलगायतबाट पनि धेरै सूचना पाउन सकिन्छ । 


“१० वर्षमै नसोचेको कमाएँ”
 - दीपराज खत्री, सेयर लगानीकर्ता

मेरो घर कैलालीको धनगढी हो । अहिले मेरो अधिकांश समय सेयर बजारको ‘बुलिस’ र ‘बियरिस’ ट्रेड विश्लेषणमै खर्च हुन्छ । कम्पनीहरूको सैद्धान्तिक र प्राविधिक पक्षका साथै ‘मार्केट ट्रेन्ड’ अध्ययन गरी सेयर खरिद र बिक्रीसम्बन्धी निर्णय गर्नु मेरो दैनिकी बनेको छ । म दशकअघि सेयर बजारमा प्रवेश गरेको हुँ । सुरुमा ६० हजार रुपैयाँबाट प्राथमिक निष्कासन (आईपीओ) मा लगानी सुरु गरेको थिएँ । मेरो ‘पोर्टफोलियो’ अहिले करिब डेढ करोड रुपैयाँ पुगेको छ । एक दशकमा सेयर बजारबाट धेरै कमाएँ ।

पहिलो पटक आईपीओमा लगानी गर्दा प्लस टु पढ्दै गरेका २० वर्षे लक्का जवान थिएँ । अग्रज दाजुहरूको कुरा सुनेर सेयरमा लगानी गर्ने इच्छा जाग्यो तर मसँग पैसा थिएन । दाजुहरूकै सल्लाहअनुसार आमाको सुनको गहना बैंकमा धितो राखेर ६० हजार रुपैयाँ कर्जा निकालेँ । त्यो पैसा तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकको आईपीओमा हालँे । सेयर बाँडफाँड हुँदा ४० कित्ता मात्र पर्‍यो । त्यसपछि खुलेका सबै कम्पनीका प्राथमिक निष्कासनमा लगानी गर्दै आएको छु । 

पहिलो संविधानसभाको चुनावभन्दा एक महिनाअघि मात्र दोस्रो बजारमा प्रवेश गरेको मैले हालसम्म सेयर मार्केटमा १ करोड ५० लाख रुपैयाँ बराबरको ‘पोर्टफोलियो’ बनाइसकेको छु । सेयर बजारमा आफूलाई भाग्यमानी ठान्छु । इन्डेक्सले पनि सपोर्ट गर्‍यो, यसकारण राम्रो कमाइ गर्न सकियो । यसअघि नेप्से परिसूचक १ हजार ७ सय बिन्दुमा रहँदासम्म मैले आफ्नो पोर्टफोलियोको करिब ८० प्रतिशत सेयर बिक्री गरी मुनाफा सुरक्षित गरेँ । यसपालिको वृद्धिमा सबै लगानी उठाएर पनि राम्रो मुनाफा आर्जन गरेँ । 

सेयर बजारमा लगानी गरी धेरै कमाउन कम्पनीको अवस्था, कम्तीमा पनि ३ वर्षको ट्रेन्ड, सेयर प्रतिफल, कम्पनीको वासलात, व्यावसायिक रणनीति, नियामक निकायको निर्देशन, कम्पनीको अन्य पक्षबारे सूक्ष्म तवरले अध्ययन गर्नुपर्छ ।
(कुराकानीमा आधारित) 

प्रकाशित : फाल्गुन ६, २०७३ १४:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थायी जागिरजस्तै चिया

विप्लव भट्टराई

दिगो खेती भएकाले चियालाई स्थायी जागिर जस्तै ठानिन्छ । तराई र पहाडी क्षेत्रमै उत्पादन हुने चिया हजारौंको रोजीरोटीको माध्यम बनेको छ । बिरुवादेखि बगान हुँदै कपसम्म पुग्दा चिया निर्भरको संख्या उल्लेख्य छ । १९२० सालमा गजराजसिंह थापाले इलाम बजार छेउमा रोपेपछि सुरु भएको चिया खेती अहिले मुलुकका विभिन्न जिल्लामा विस्तार भएको छ । चैतदेखि कात्तिकसम्म निरन्तर टिपाइ हुने भएकाले चिया दिगो आम्दानी स्रोत हो ।

चिया क्षेत्रमा ४५ हजारभन्दा धेरैले रोजगारी पाएका छन् भने ५० हजारभन्दा धेरै कृषक छन् । नेपालमा १७ हजारभन्दा धेरै हेक्टरमा चिया खेती हुन्छ । कुल उत्पादन २० हजार मेट्रिक टनभन्दा धेरै छ । वार्षिक अढाई अर्बको हाराहारीमा चियाले विदेशी मुद्रा आर्जन गर्छ । 

जमिनको अवस्था
पहाडी जिल्लामा पाखा बारी, डाँडाकाँडा र टार बारीमा पनि चिया रोप्न सकिन्छ । चिया खेतीका लागि उपयुक्त माटो नै सफलताको आधार हो । बलौटे, दोमट र चिम्टिया माटोमा चिया खेती गर्न सकिन्छ । यसका लागि माटोको पीएचमा भने ध्यान दिनु अनिवार्य छ । चिया रोपणका लागि माटोको पीएच ४.५ देखि ५.५ सम्मलाई उपयुक्त मानिन्छ । चियालाई खाद्य तत्त्व पुर्‍याउन पनि माटो परीक्षण अनिवार्य छ । हरेक दुई वर्षमा माटो परीक्षण गर्नुपर्ने विज्ञको सुझाव छ । जसबाट माटोमा चियालाई आवश्यक पर्ने तत्त्व पुर्‍याउन सकिन्छ । माटो परीक्षणका लागि चिया तथा कफी विकास बोर्डले फिक्कलमा प्रयोगशाला निर्माण गरेको छ । त्यो उति प्रभावकारी नभएकाले अन्य प्रयोगशालामा लगेर पनि परीक्षण गर्न सकिन्छ । माटोको उर्वरा शक्ति व्यवस्थापनमा ध्यान पुर्‍याउन जरुरी हुन्छ । लगातार खेती गरिएको जमिनमा प्रांगारिक पदार्थको मात्रा घट्दै जाने हुनाले माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ । खेतीका लागि आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटासजस्ता तत्त्वहरू गोबर मल, गहुँत, पिसाबलगायत विभिन्न वनस्पतिबाट प्राप्त हुने भएकाले त्यसको प्रयोग गरिनुपर्छ । 

बिरुवा तयारी 
बिरुवा तयार गर्न चियाको बुटा छुट्याएर राखिन्छ । नियमित पत्ति नटिपिएपछि चियाको हाँगा ठूलो भएर जान्छ । त्यही हाँगालाई बर्खायाममा कटिङ गर्नुपर्छ । हाँगालाई पनि आँखा मिलाएर कटिङ गरिन्छ । नर्सरीका लागि आवश्यक मल मिलाएर बेग्लै स्थान तयार पार्नुपर्छ । काटिएका स–साना टुक्रालाई गाडेपछि बिरुवा तयार हुन थाल्छ । त्यही टुक्राले जरा हाल्ने गर्छ । डेढ वर्षको अन्तरालमा बिरुवा तयार हुन्छ । यसरी तयार भएको बिरुवा प्रतिगोटा पाँच रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री हुन्छ । चिया तथा कफी विकास बोर्डअन्तर्गतका चिया विस्तार आयोजनाको मुख्य काम नै कृषकलाई नर्सरी राख्न प्रोत्साहित गर्नु हो । आयोजनाले कृषकलाई न्यूनतम मूल्यमा डाला वितरण गर्छन् । अनि कृषकले नर्सरी राखेर बिरुवा उत्पादन गर्छन् ।
इलामको फिक्कल, जस्बिरे, मंगलबारे, पाँचथरको लालीखर्क, धनकुटाको हिले, तेह्रथुमको सोल्मा र नुवाकोटको रानीपौवामा रहेका चिया विस्तार आयोजनाबाट डाला लिन सकिन्छ । ती आयोजनाले आफ्नै बगानमा बिरुवाका लागि बुटा छनोट गर्छन् । त्यस्तै कृषकले व्यक्तिगत ढंगले नर्सरी स्थापना गरेर पनि बिक्री गर्ने गरेका छन् । चिया रोप्दा चार फुटसम्म अन्तर राख्नुपर्छ । एक बाई एकको खाल्डो खनेर गोबर मल र माटो मिलाएर रोप्दा छिटो र राम्ररी उत्पादन दिने बुटा तयार हुन्छ । रोपेको एक वर्षदेखि नै सामान्य उत्पादन लिन सकिने भए पनि बुटा मजबुत हुन १० वर्षसम्म लाग्छ । 

काटछाँट अनिवार्य
चियालाई चैतदेखि कात्तिकसम्म टिप्ने गरिए पनि त्यसपछि काटछाँट अनिवार्य हुन्छ । अन्तिम चिया टिपाइ सकिएपछि हल्का ढंगले छास्नुपर्छ । उत्पादनलाई ह्रास हुन नदिन पहाडमा १५ अगस्ट र तराईमा सेप्टेम्बरको पहिलो हप्ता छास्नु उपयुक्त मानिन्छ । पत्ति नपलाउने हिउँदयाममा नै डिप कटिङ आवश्यकताअनुसार गर्नुपर्छ । यसलाई एलपी लाइट प्रुनिङ भनिन्छ । सामान्य कटिङ आवश्यकताअनुसार केही वर्ष बिराएर गरिए पनि हरेक पाँच वर्षमा एलपी लाइट प्रुनिङ आवश्यक हुन्छ । यस्तो कटिङमा बगानको अवस्था हेरेर ठुट्टै पारेर कटिङ गरिन्छ । तराई र पहाडमा एलपी लाइट कटिङको समय केही फरक हुन सक्छ । 

चिया यसरी बनाउने 
रोपण गरेको तीन वर्षपछि चिया पत्ति टिप्न मिल्छ । चैत दोस्रो सातादेखि कात्तिकभरसम्म चिया टिपाइ हुन्छ । दुई पात एक सुइरो कायम हुने गरी टिप्दा गुणस्तरीय हुन्छ । त्योभन्दा धेरै मात्राको पनि टिप्ने चलन छ । टिपाइ भइसकेपछि तत्काल कारखानासम्म पुर्‍याउनुपर्छ । स–साना बगान हुने कृषकले कारखाना नजिक नभएको अवस्थामा घाममा सुकाउँदै हातले माडेर पनि हाते पत्ति निर्माण गर्छन् । तर ठूलो मात्रामा यो सम्भव हुँदैन । कृषकले स–साना कारखाना खोलेर पनि चिया प्रशोधन गर्छन् । तर चियाको अधिक हिस्सा ठूला कारखानाले नै प्रशोधन गर्छन् । देशभर एक सय हाराहारीमा साना र तीन दर्जन ठूला अर्थोडक्स चिया कारखाना छन् ।

तयारी चियालाई सीटीसी र अर्थोडक्स गरी मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । दानादार चियालाई सीटीसी भनिन्छ । सीटीसी चिया पूर्वी तराई मुख्य गरी झापामा उत्पादन हुन्छ । कारखानाले आफ्नै बगान निर्माण गरेर यस्तो चिया उत्पादन गर्छन् । कतिपय कारखानाले इलाम, धनकुटा र झापामा कृषकस्तरबाट उत्पादन भएको हरियो चिया पत्ति पनि खरिद गरेर सीटीसी चिया बनाउँछन् । यसको आन्तरिक खपत धेरै छ । अर्थोडक्स चिया इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, ललितपुरलगायत जिल्लामा उत्पादन हुने चियाबाट बनाइन्छ । यसलाई विभिन्न प्रकारमा निर्माण गर्न सकिन्छ । प्रशोधन तरिका फरक हुन्छ । मेसिनरी औजार अर्थोडक्स चिया बनाउने छुट्टै हुन्छ । ब्ल्याक टी, ग्रिन टी, उलाङ टी जस्ता भेराइटीमा यो चिया बनाइन्छ । यस्तो चियाको आन्तरिक खपत कम छ । बाहिरी बजारमा यो चिया निर्भर छ । नेपालमा खेती गरिने तीन प्रजातिमध्ये आसामी र कम्बोडियाली चिया सीटीसी उत्पादनका लागि रोपिन्छ । चिनियाँ प्रजातिको चिया अर्थोडक्सका लागि उपयुक्त हो । 

बजारको अवस्था
नेपालमा उत्पादित चियाको मुख्य बजार भारत नै हो । जर्मनी, नेदरल्यान्ड, बेलायत जस्ता मुलुकमा पनि चिया निर्यात हुन्छ । अर्थोडक्स चिया कुल उत्पादनको ८० प्रतिशत भारतीय बजारमा जाने व्यवसायीहरू बताउँछन् । दस प्रतिशत आन्तरिक बजार र दस प्रतिशत अन्य मुलुकमा जाने गरेको छ । सीटीसी चियाको आधा हिस्सा भारत निर्यात हुन्छ । ठूला कारखानालाई हरियो पत्ति नै बिक्री गर्ने गरेकाले कृषकलाई तयारी चियाको बजार खोज्ने झन्झट हुँदैन । तर कारखानाले राम्रो मूल्य नपाएको भन्दै कृषकलाई कम मूल्य दिने गरेकाले भने हरियो पत्तिको मूल्य घटाउने गरेको कृषकको गुनासो छ । कतिपय कृषकले आफैं स–साना चिया कारखाना सञ्चालन गरेका छन् । उनीहरूलाई तयारी चियाको बजार अभाव छ । आन्तरिक बजारमा भर पर्नुपर्ने अवस्था छ । अर्गानिक हरियो चिया पत्तिको औसत मूल्य ५० रुपैयाँ हाराहारी रहँदै आएको छ भने नन अर्गानिकको २५ रुपैयाँ हाराहारी छ ।

कारखानाहरूले उत्पत्तिको प्रमाण पत्रसहित क्वारेन्टाइन परीक्षण गराएर तयारी चिया निर्यात गर्छन् । चियाको बजार राम्रो पाउन अर्गानिक बनाउनुपर्ने आवश्यकता खड्किएको छ । एउटा कृषकले मात्रै अर्गानिक बनाएर सम्भव छैन । अहिलेसम्मको अभ्यासमा पहाडी क्षेत्रबाट अर्गानिक चिया उत्पादन गर्ने केही कारखानाले सम्बन्धित संस्थामा अर्गानिक प्रमाणीकरण गरेर कृषकलाई अर्गानिकताको प्रमाणपत्र दिएका छन् । 
सुरु सिजनमा टिपिएको चिया ‘फस्ट फ्लस’ र अन्तिम सिजनको ‘अटम फ्लस’ गुणस्तरका हिसाबले राम्रो हुने भएकाले बढी मूल्यमा विक्छ । 

दर्ता प्रक्रिया
बगान विस्तार गरेपछि चिया तथा कफी विकास बोर्डमा दर्ता गराउनुपर्छ । त्यसका लागि जग्गाको क्षेत्रफल, नागरिकता र धनीपुर्जा आवश्यक हुन्छ । कारखानासमेत सञ्चालन गरेका बगानले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराउनुपर्छ । घरेलुमा पनि दर्ता गराएर उद्योग सञ्चालन गर्न सकिन्छ । नागरिकताको फोटोकपी गाविसको सिफारिस, उद्योग भएको स्थानको धनीपुर्जालगायत कागजात यसमा चाहिन्छ । धेरै चिया कृषक सहकारीमा आबद्ध छन् । सहकारी गठनका लागि प्रारम्भिक भेला गर्नुपर्छ । भेलाले विधान निर्माणको जिम्मेवारी तोक्छ । दोस्रो प्रारम्भिक भेलाले विधान पास गर्दै सञ्चालक समिति र लेखा समिति चयन गर्छ । सबै सदस्यको नागरिकताको फोटोकपी र फोटो आवश्यक पर्छ । कम्तीमा २५ जना सेयर सदस्य कार्य क्षेत्रका हुनुपर्छ । दर्ता गरेपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सुविधा लिने बाटो खुल्छ । चिया क्षेत्रमा सरकारका तर्फबाट सिधा लगानी देखिँदैन । तर उन्नति समावेशी परियोजना, व्यावसायिक कृषि विकास आयोजना जस्ता निकायले चिया कारखाना स्थापना, नर्सरी व्यवस्थापन लगायतमा सहयोग पुर्‍याएका छन् । 

रोगको प्रकोप
चियालाई क्षति पुर्‍याउने सक्ने किरा तीन सय प्रजाति र ढुसीजन्य रोग ५८ प्रजातिका रहेको तथ्यांक भए पनि कमै प्रजातिले मात्र उल्लेख्य क्षति गरेको पाइन्छ । चियालाई बढी क्षति पुर्‍याउने रोग किरामा फोके मरुवा प्रमुख हो । ओसिलो र कुहिरो बढी लाग्ने क्षेत्रमा देखिने यो रोगले पातको तल्लो भागमा सेतासेता फोका निर्माण गर्छ । यसको निदानका लागि छहारी कम गर्दै झार नियन्त्रण गर्नुपर्छ । चियामा लाग्ने अर्को रोग हो रोता सिन्दुरे । ढुसीजन्य यो रोगले पातको हरियो रंग हराउँदै जाने र पात झर्ने हुन्छ । यो रोग लाग्न नदिन छहारी र पानीको निकासको उचित प्रबन्ध गर्नुपर्छ । कोलर क्यांकर रोग अर्को समस्या हो । यो गहिरो गरी रोपिएको बिरुवामा देखा पर्छ । जमिनको केही माथि काण्डमा फुटेको जस्तो देखिने यो रोगको लक्षण हो । चियामा जरा कुहिने रोग, थ्रिप्स, चियाको लामखुट्टे, रातो माकुरो, सुल्सुले, खुम्रे किरा, लार्भा जस्ता किरा र रोग लाग्न सक्छ । यी सबै रोगको निदान जैविक विधिले गर्न सकिने विज्ञहरू बताउँछन् । नेपालमा पाइने तीन सय प्रजातिका औषधिजन्य बोटबिरुवामै सबै रोगको औषधि भएको उनीहरूको निष्कर्ष छ । तीतो, पिरो, टर्रो जातका निम, बकाइनो, खुर्सानी, वनमारा, गोदावरी, धतुरो, लसुन आदि जस्ता तत्त्वको लेदो वा झोल बनाएर नियमित लाउनाले रोगको संक्रमण हट्छ ।


‘चियामै भविष्य छ’
 - शरद सुब्बा, कृषक, इलाम

बुबा सूर्य सुब्बा अर्गानिक खेतीमा विश्वास गर्नु हुन्थ्यो । चिया खेतीलाई त्यहीअनुरूप लैजानुपर्ने उहाँको धारणा हुन्थ्यो । उहाँकै प्रेरणाले १८ वर्षको उमेरदेखि नै चिया बगान व्यवस्थापनमा लागें । १८ वर्षअघि यसमा लाग्दा अर्गानिक र ननअर्गानिक चियाको भेद कारखानाले छुट्याउँदैनथ्यो । अर्गानिक बनाउँदा लगानी केही बढी लाग्ने तर केही समय उत्पादन कम हुने भएकाले नोक्सानी बेहोर्नुपर्‍यो । धेरै समय यस्तै समस्या खेपेर पनि कारखानालाई चिया पत्ति बिक्री गरियो । यो बेला हातले नै माडेर पनि विभिन्न भेराइटीमा गुणस्तरीय चिया उत्पादन गरेर बिक्री गथ्र्यौं । त्यसले स्थानीय बजारमा राम्रै छाप छाड्यो । चियालाई परम्परागत शैलीमा मात्र उत्पादन गर्ने नभएर भेराइटी दिन सके राम्रो बजार लिन सकिने मेरो विश्वास थियो । 

यो दौरान चियाको प्राविधिक पक्षमा पनि धेरै जानकारी लिएँ । गाउँमै स्थापना भएको माई गुराँसे चिया कारखानामा काम गरें । यसबाट पनि अनुभव निखार्ने थप अवसर मिल्यो । 

हाते चिया मन पराएर एसएनभी नेपाल नामको प्रोजेक्टले सुकाउने ड्रायर सहयोग गर्‍यो । तर प्राविधिक पक्ष नमिल्दा उति प्रभावकारी भएन । घरेलु तथा साना उद्योग विकास समितिसँग मिलेर गाउँमै तालिम सञ्चालन गर्‍यौं । त्यसले अन्य कृषकलाई अर्गानिक उत्पादनमा लाग्ने प्रेरणा मिल्यो । आफ्नो बगान र अरू पनि कृषकले अर्गानिक उत्पादन गर्न थालेपछि पार्टनरसिपमा मझौला उद्योग स्थापना गर्‍यौं । राम्रै उत्पादन भए पनि पार्टनरसँग कुरा नमिल्दा परिवारले मात्रै चलाउन थाल्यौं । यसरी चलाएको दुई वर्ष भयो । वार्षिक पाँच हजार किलो तयारी चिया उत्पादन हुन्छ । ठूलो हिस्सा स्थानीय बजारमा खपत भए पनि नेदरल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी र अमेरिकासम्म निर्यात हुन थालेको छ । 

आफ्नै बगान ४० रोपनी क्षेत्रफलमा छ । डेढ सय रोपनी लिजमा लिएर बगान बनाएका छौं । ५५ लाख लगानी गरेर कारखाना सञ्चालन गरेका छौं । कारखानामा आधुनिक मेसिन खरिद गर्दै स्तरोन्नति गर्ने उद्देश्यले उन्नति समावेशी परियोजनाले ७० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । यो कार्यक्रम लागू गर्न आफैं ५५ लाख निकाल्नुपर्छ । त्यति भएपछि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने गरी विभिन्न भेराइटी निकाल्न सकिन्छ । अहिले ३५ भेराइटीमा चिया बनाउँछौं । फस्ट फ्लस, सकेन्ड, रेनी र अटम फ्लस गरी चारै सिजनको फरक भेराइटी पनि निकाल्ने गरेका छौं । फस्ट फ्लसमा स्प्रिङवाइट, ह्वाइट ओरेन्ज र ग्रिन टीको भेराइटी निस्कन्छ । सेकेन्ड फ्लसमा ह्वाइटहनी, क्लाउडवाइट, माउफिङग्रिन र मस्केटल भेराइटी तयार पार्छौं । रेनी सिजनमा माउन्टेनब्ल्याक, माउन्टेनग्रिन, रुबीब्ल्याकलगायत बन्छन् । अटम सिजनमा अटम उलङ, सुनकेशरी, अटमवाइट र क्लासिक ग्रिन बनाउने गरेका छौं । 

बगानमा १६ जना महिलालाई रोजगारी मिलेको छ भने कारखानामा छ जनालाई । कारखानालाई नयाँ ढंगले विस्तार गरेपछि वार्षिक उत्पादन २० किलो पुग्छ । स्थानीय हरियाली जैविक चिया उत्पादक सहकारी संस्थामा आबद्ध ९१ कृषकको चिया खरिद गर्ने गरेका छौं । कृषकलाई गुणस्तर हेरी हरियो पत्तिको प्रतिकिलो ६० रुपैयाँदखि सात सय रुपैयाँसम्म दिने गरेका छौं । हामीले उत्पादन गरेको तयारी चिया ६ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री भएको छ । 

आफ्नै प्रयासमा भर्खरै मात्र कारखाना सञ्चालन भएको र थप लगानी गर्नुपर्ने भएकाले ठूलो आम्दानी भएको छैन । तर बगान र कारखानाको उत्पादनले घर व्यवहार चलाउन र कर्मचारीलाई तलब खुवाउन समस्या छैन । उद्देश्यअनुरूप काम भए नमुनाका रूपमा बगान र कारखानालाई बनाउँदै सुन्दर भविष्य बनाउने छौं । 
जबसम्म कृषक आफैं मालिक बन्दैन तबसम्म ठूला कारखानाको मात्र भर पर्दा चिया कृषकको दिन फिर्नेवाला छैन । चियाको बुटा नै नदेखेका मालिकले चलाएको कारखानाले कहिल्यै पनि कृषकको समस्या बुझ्दैनन् । त्यही भएर पनि हिम्मत बटुलेर श्रम र लगानी बढाउनुपरेको छ । 
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७३ १४:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT