चिउरीबाट गाउँमै साबुन

खगेन्द्र अवस्थी

बैतडी — खेर गइरहेका चिउरीलगायतका स्थानीय जडीबुटीबाट गाउँमै साबुन उत्पादन हुन थालेको छ । श्री केदार पीपलबोटको लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ को माग जिल्ला भित्र र बाहिर बढेको छ ।

चिउरीबाट गाउँमै साबुन

मानव स्वास्थ्यका लागि उपयोगी मानिने चिउरीको घिउ र पिनाबाट बन्ने उक्त साबुनको स्थानीय बजारमा प्रयोग बढेको छ । चिउरीसँगै स्थानीयस्तरमा उपलब्ध जडीबुटी, नरिवल तेल, रसायनबिनाको सूर्यमुखी तेल र निमको हर्बल तेललगायतका जडीबुटीको मिश्रणबाट साबुन बनाउने गरिएको हो । हिजोआज साबुनको माग जिल्ला बाहिरबाट समेत आउन थालेको छ । डडेल्धुरा, धनगढी र महेन्द्रनगरबाट माग हुन थालेको उद्योगका सञ्चालक सुरेन्द्र कलौनीले बताए । साबुन उत्पादका लागि सिर्जना हर्वल लघु उद्योगको ०७१ मा स्थापना भएको थियो ।

गत वर्षसम्म मासिक १ हजार बटाबाट हिजोआज उक्त साबुन हाल मासिक ३० हजार वटासम्म उत्पादन र बिक्री भइरहेको छ । ‘जिल्ला बाहिरबाट समेत माग धेरै आइरहेको भए पनि आवश्यकताअनुसार उत्पादन गर्न सकिएको छैन,’ कलौनीले भने, ‘कच्चा पदार्थ र लगानी अभावका कारण उत्पादन कम भएको छ ।’ उत्पादित साबुन ७० प्रतिशत स्थानीय बजार र ३० प्रतिशत बाहिर जाने गरेको छ । चिउरीको कच्चा पदार्थ प्रयोग भएकाले छालासम्बन्धी रोग निको हुने विश्वासले यसको माग बढेको उनले सुनाए ।

जिविसको १ लाख ९० हजार, लघु उद्यमी समूहको १ लाख ५० हजार र आफ्नै समूहको २ लाख लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याइएको हो । अहिले उक्त उद्योगमा स्थानीय ४ जनाले रोजगारी पाएका छन् । प्रतिगोटा साबुनको बिक्री मूल्य ३० रुपैयाँ राखिएको छ । मासिक १ लाखभन्दा बढीको कारोबार हुँदै आएको उद्योगका कामदार कृतराज भट्टले बताए । श्रीकेदार, श्रीकोट तथा पुर्चौडी क्षेत्रबाट चिउरी संकलन गरिन्छ । दैनिक १० किलो चिउरीको घिउ खपत हुने गरेको छ । चिउरीको घिउ प्रतिकिलो २ सय १० मा खरिद गरिने कलौनीले बताए । स्थानीय कोलमा चिउरी पेल्दा ५० प्रतिशत मात्र तेल निस्किने भएका कारण आधुनिक चिउरी मिलका लागि विभिन्न निकायसँग आर्थिक सहयोगको पहल भइरहेको लघु उद्यमी समूह संघका अध्यक्ष इन्द्रदेव भट्टले बताए । साबुनको उत्पादन उद्योगका रूपमा सुरुवात गरेपछि सिर्जना हर्बल उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालयले यो वर्ष उत्कृष्ट जिल्ला उद्यमी पुरस्कार दिएको छ ।

प्रकाशित : चैत्र १, २०७३ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?