अब नदी बेसिनमा प्रसारण लाइन

कान्तिपुर संवाददाता

काठमाडौं — राजधानीसहित सहरी क्षेत्रमा लोडसेडिङ हटाएको नेपाल विद्युत् प्राधिकरण पुराना प्रसारणलाइनको मर्मत र नयाँ प्रसारण लाइन विस्तारमा केन्द्रित हुने भएको छ । उत्पादित विद्युत्समेत केन्द्रीय प्रसारणमा जोड्न समस्या हुने गरेकाले त्यसलाई हटाउन तथा मुलुकभर नै अवरोधरहित विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रसारण लाइनमा केन्द्रित भएको हो ।

‘हाम्रो अबको ध्यान प्रसारण लाइनतर्फ केन्द्रित भएको छ,’ इनर्जी डेभलपमेन्ट काउन्सिलले बुधबार राजधानीमा गरेको प्रसारणलाइनसम्बन्धी छलफलमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘हामीले देशभित्र र अन्तरदेशीय प्रसारण लाइनमा जोड दिइरहेका छौं ।’

घिसिङले विद्युत्को सहज आपूर्तिको व्यवस्थापनका लागि प्राधिकरण प्रसारणलाइनमा केन्द्रित भएको बताए । ‘सोलु, काबेलीलगायतको प्रसारणलाइन निर्माण अघि बढेको छ,’ उनले भने, ‘अब हामी नदी बेसिनको आधारमा यस्तो निर्माण अघि बढाउँछौं ।’ उनले वितरण र प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा नेपालको हालको प्रसारण लाइनको अवस्था र भावी योजना प्रस्तुत गरिएको थियो । प्राधिकरण, स्वतन्त्र ऊर्जा उत्पादकलगायतको सहभागिता रहेको छलफल प्राधिकरणले निर्माण भइसकेका, निर्माणको क्रममा रहेका र अध्ययन भइसकेका प्रसारणलाइनको जानकारी दिएको थियो । प्राधिकरणका अनुसार सन् २०३५ सम्ममा २२ हजार मेगावाट विद्युत् उत्पादन हुने अनुमानअनुसार ६ वटा अन्तरदेशीय सञ्जाल र ११ प्रसारणलाइन विकासका लागि पहिचान गरेको छ । 
कार्यक्रममा बोल्दै स्वतन्त्र उत्पादकका प्रतिनिधिहरूले जलविद्युत् आयोजनापिच्छे फरक व्यवहार गरिएको गुनासो गरेका थिए ।

Yamaha

प्रकाशित : चैत्र ३, २०७३ ०८:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शम्भुकुमारको यात्राकाव्य

कान्तिपुर संवाददाता

काठमाडौं — कवि शम्भुकुमार मिलन ‘आँखामा जापान : मनमा नेपाल’ सहित आएका छन् । यो उनको यात्राकाव्य कृति हो ।

नेपाली भाषा, साहित्य, गीत र संगीतका क्षेत्रमा आधा दशकदेखि सक्रिय मिलनले सन् २०१५ मा गरेको जापान भ्रमणका अनुभवहरू यात्राकाव्यमा समेटेका छन् । उनले कृतिमा मुलुकबाहिर नेपाली भाषा, साहित्य र संस्कृतिको जर्गेनाका लागि भइरहेको क्रियाकलापको पनि सन्दर्भ उठाएका छन् । मिलनका यसअघि ‘सौगात’ र ‘अस्तित्व’ गरी दुई गीतिसंग्रह, ‘यात्रा’, ‘धोको’ र ‘जीजिविषा’ गरी तीन कविता संग्रह, ‘तिम्रो सहरमा’ र ‘पत्थरको मुटु’ गरी दुई गजल संग्रह तथा ‘निर्मला’ खण्डकाव्य प्रकाशित छन् । 

 

प्रकाशित : चैत्र ३, २०७३ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT