कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थोराङ्ला उक्लन थाले पर्यटक

आश गुरुङ

लमजुङ — बाक्लो हिमपातका कारण बन्द चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पर्यटकको चहलपहल बढेको छ । पदमार्ग र सहायक मार्गका हिउँ हटाएसँगै पर्यटकको चहलपहल बढेको हो । केही ठाउँमा पर्यटक हिउँ छिचोल्दै हिँड्न थालेका छन् ।

थोराङ्ला उक्लन थाले पर्यटक

बाक्लो हिमपातका कारण बन्द चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पर्यटकको चहलपहल बढेको छ ।

पदमार्ग र सहायक मार्गका हिउँ हटाएसँगै पर्यटकको चहलपहल बढेको हो । केही ठाउँमा पर्यटक हिउँ छिचोल्दै हिँड्न थालेका छन् । नेपाली सेना, प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), होटल व्यवस्थापन उपसमिति, स्थानीय होटल व्यवसायी लगायत संघसंस्थाले हिमपातका कारण अवरुद्ध पदमार्ग खुलाएका हुन् । मनाङ र मुस्ताङको सीमाक्षेत्र थोराङ्ला भञ्ज्याङ (५, ४१६ मि.) सम्मको हिमपात हटाएपछि पर्यटक हिँड्न थालेको एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाले बताए । उनका अनुसार माथिल्लो मनाङदेखि थोराङ्ला भञ्ज्याङ साथै खाङ्सार तिलिचो तर्फको बाटो खुलाइएको छ । ‘बाटो खुलाइएपछि दैनिक ५० जना पर्यटक माथिल्लो क्षेत्र (थोराङ्ला र तिलिचो) जान थालेका छन्’ उनले भने । उनका अनुसार यीमध्ये धेरैजना थोराङ्ला चढेर मुक्तिनाथ गएका छन् । उनका अनुसार अघिल्लो हप्ता भएको हिमपातले बाटो अवरुद्ध बनाएको थियो । २/३ दिन लगाएर बाटो खुलाएसँगै मंगलबारदेखि माथिल्लो क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनले बताए ।

सदरमुकाम चामे र वरपरका पदमार्ग साथै सडकमा जमेको हिउँ सेना र प्रहरी मिलेर हटाएको छ । लमजुङको सीमावर्ती क्षेत्र तालदेखि धारापानीसम्मको सडकमा ठूलाठूला ढुंगा खसेकोमा डिभिजन सडक कार्यालय नं. १, दमौलीको सहयोगमा उक्त बाटो पनि खुलाएको मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए । सडक खुलाएसँगै बिहीबारदेखि बेंसीसहरबाट चामेसम्म सहजरुपमा सवारी गुड्न थालेको उनले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसेर जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन हिउँ हटाउने कार्यमा सेना प्रहरी परिचालन गर्ने निर्णय गरिएको थियो । बाक्लो हिमपातले मनाङको तिमाङदेखि खाङसारसम्मको सडक पुरै अवरुद्ध भएको र सडक सफा भइरहेको पन्तले बताए । यसका लागि जिल्ला विकास समिति मनाङले सहयोग गरेको छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण पदयात्रीलाई कठिनाई भए पनि उनीहरुले सहज मानेर माथिल्लो क्षेत्र जाने गरेको उनले बताए । ‘सहज ठाउँमा सेना, प्रहरी साथै सरकारी कर्मचारीसमेत खटियौं । अप्ठ्यारो ठाउँमा हिउँ फाल्न एक्साभेटर प्रयोग गरिएको छ’ उनले भने । उनका अनुसार चामेदेखि माथिल्लो मनाङसम्मको सडकमा जमेको हिउँ हटाउन एक्साभेटर प्रयोग गरिएको हो । कतिपय ठाउँमा मजदुर प्रयोग गरेर हिउँ पन्छाइएको उनले बताए । उनका अनुसार विकट ना र फू जाने बाटोबाट पनि स्थानीय आवतजावत हुन थालेका छन् ।

प्रकाशित : चैत्र ५, २०७३ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?