कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा मोफसलबाट

- गोल्छाको आइतबार बुटवलबाट दावेदारी सार्वजनिक - प्रधानद्वारा दुई साताअघि विराटनगरबाट

बुटवल — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि आइतबार बुटवलबाट शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दुइ साताअघि अर्का प्रत्याशी किशोर प्रधानले विराटनगरबाट घोषणा गरेका थिए । अहिलको कार्यकालमा गोल्छा एसोसिएटतर्फका उपाध्यक्ष छन् भने प्रधान जिल्ला नगरतर्फका उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा मोफसलबाट

वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले भावी अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउन, सरकारसँग मिलेर उद्योग, व्यवसायसँग सम्बन्धित विभिन्न ऐनलाई पारित गराउन र कार्यान्वयनमा ल्याउन पहल गर्ने बताए । महासंघ सचिवालयलाई चुस्त दुरुस्त, जवाफदेही, पारदर्शी बनाउन र विदेशी लगानी बढाउनु पनि आफ्नो एजेन्डा रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय सस्थासँग समन्वय गरेर संस्थागत विकास र क्षमता बढाउने क्रियाकलापसमेत नियमित रूपमा गर्ने उनले जनाए । अबको १० वर्ष पूर्वाधार र औद्योगिक विकासमा स्वर्णीम वर्ष हुने भन्दै वरिष्ठ उपाध्यक्षका आकांक्षी गोल्छाले यसमा निजी क्षेत्रबाट योगद ान दिन पनि आफू सक्षम र उत्सुक रहेको बताए । ‘सरकारलाई गाली नभई सहकार्य गरेर विकासका लागि बढ्न पनि मेरो नेतृत्व आवश्यक ठानेको छु,’ उनले भने, ‘हामी निजी क्षेत्र, देशको उन्नति र समृद्धिका लागि काम गर्न चाहन्छौं ।’

महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएपछि उक्त पदको चुनावी माहौल तातेको छ । नयाँ विधानअनुसार नै हाल वरिष्ठ उपाध्यक्ष रहेकी राणा चैत २८ पछि स्वत: अध्यक्ष हुनेछिन् । चैत २८ मा महासंघको निर्वाचन हुँदै छ । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी प्रधानले पनि महासंघ सचिवालयको सुदृढीकरण औद्योगिक विस्तार र स्वदेशी उद्योग प्रवद्र्धनका लागि काम गर्ने बताएका छन् । ‘स्वदेशी उत्पादनको प्रयोग, विदेशी संस्थासँगको समन्वय, सरकारसँगको सहकार्य एवं मजदुर लगानीकर्ताबीच सुमधुर सम्बन्ध कायम गर्न काम गर्नेछु,’ प्रधानले भने ।

दुवै पक्षले प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेका छन् । बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेदवारी सभामा उनका तर्फबाट मैदानमा उत्रिएका अन्य उपाध्यक्षहरू र कोषाध्यक्षका आकांक्षीले पनि दावेदारी प्रस्तुत गरे ।

जसमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसियट उपाध्यक्षमा चन्द्रप्रकाश ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरे । प्रधानका तर्फबाट भने जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगतका तर्फबाट शंकर पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

गोल्छाको उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरू रविभक्त श्रेष्ठ र चण्डी ढकालको उपस्थिति थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष राणा पनि उम्मेदवारी सभामा सहभागी भइन् । शनिबार आयोजित प्रधान प्यानलतर्फका उपाध्यक्ष उम्मेदवार शंकर पाण्डेको उमेदवारी सार्वजनिक सभामा पूर्वअध्यक्षहरू कुशकुमार जोशी, सुरज वैद्य र विनोदबहादुर श्रेष्ठको उपस्थिति थियो ।

संशोधित विधानअनुसार अब वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर, वस्तुगत संघ र एसोसिएटबाट एक/एक जना उपाध्यक्षको निर्वाचन हुनेछ । त्यस्तै ७ प्रदेशबाट एक/एकजना अध्यक्ष र ७ जना सदस्यको पनि निर्वाचन हुनेछ । जिल्ला/नगरतर्फ १८, वस्तुगतबाट १४, एसोसिएटबाट १९ र द्विराष्ट्रिय संघबाट एकजना सदस्यमा निर्वाचन हुनेछ । निर्वाचित उक्त कार्यसमितिबाट कोषध्यक्ष चयन हुनेछ ।

महासंघ सचिवालयका अनुसार जिल्ला नगरको मतदाता संख्या १ सय ५ हो । वस्तुगततर्फ ९९, एसोसिएटतर्फ ८ सय ५६ र द्विराष्ट्रियतर्फको मतदाता संख्या १२ छ । यी सबै मतदाताले वरिष्ठ उपाध्यक्षमा मतदान गर्न पाउनेछन् । जसमध्ये मतगणनामा जिल्ला/नगरको मतलाई ५० प्रतिशत, वस्तुगतलाई २० प्रतिशत र एसोसिएट र द्विराष्ट्रियलाई ३० प्रतिशत हिस्सा मानी औसत निकालेर बढी अंक ल्याउने उम्मेदारलाई विजयी घोषणा गरिनेछ ।

तर, जिल्ला नगरतर्फका उपाध्यक्षलाई सोहीतर्फका मतदाताले मात्रै मतदान गर्न पाउनेछन् । त्यसैगरी वस्तुगत र एसोसिएटतर्फका मतदाताले पनि सोहीतर्फका उपाध्यक्ष र सदस्यलाई मतदान गर्न पाउनेछन् । त्यसैगरी प्रदेशतर्फको अध्यक्ष र सदस्यहरूलाई सोही प्रदेशका मतदाताले मात्रै मतदान गर्न पाउनेछन् ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?