चौरीपालनमा युवा आकर्षित

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको उत्तरी भेकमा परम्परागत चौरीपालनमा युवाहरूको आकर्षण बढेको छ । प्रशस्तै चरनको सुविधा र दुग्धजन्य उत्पादनबाट राम्रो कमाइ हुने भएपछि युवाहरू यो व्यवसायमा लागेका हुन् ।

‘एउटा चौरीको दूधले बर्सेनि ४० देखि ६० हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ तिप्लिङ ५ का युवा जस थापाले भने, ‘दूधबाट बन्ने छुर्पी र चिजले पनि राजधानीको बजार पाएको छ ।’ उनको गोठमा हाल ४० वटा चौरी छन् ।

चौरीपालन उनको पुस्तौनी व्यावसाय हो । उनका बाबुको पालामा १८ वटा चौरी पालिएका थिए । त्यसबेला २ दिन टाढाका खर्कमा लिन जानु र हिँउदमा चौरीलाई बस्तीमा ल्याउने जस्ता काम उनी गर्थे । हाल उनी चिज र छुर्पी बेचेर वार्षिक ४ लाख रुपैयाँ कमाउने गरेको बताउँछन् । चौरी गाई नै पनि कम्तीमा ६० हजार रुपैयाँमा बिक्री हुन्छ ।

त्यसैगरी परम्परागत चौरीपालनबाट आय आर्जन गर्नेमा अर्का युवा दिनेश घलेले पनि पर्छन् । उनले ३ वर्ष पहिले हिमाली छुर्पी उद्योग दर्ता गरी सञ्चालन गरेका छन् । घलेले वार्षिक १५ देखि २० क्विन्टलसम्म छुर्पी उत्पादन गर्ने बताए । यसबाट अन्य चौरीपालकलाई पनि दूध बिक्री गर्न सहज भएको छ । सबैले उनको उद्योगमा दूध बेच्छन् । उनले उत्पादन गरेको छुर्पी लगेर काठमाडौंमा प्रतिकेजी ४ देखि ५ सयसम्ममा बेच्ने गरेका बताए । विगत २ वर्षअघिसम्म ७ वटा चौरीपालेका घलेले हाल १८ वटा पुर्‍याएका छन् । उनकामा १० वटा चौरी त बाहै्र महिना लैना हुन्छन् ।

उत्तरी सिमाना तिब्बत र पूर्वी सिमाना रसुवा जिल्ला रहेको तिप्लिङ सबैभन्दा बढी चौरी पाल्ने गाविस हो । चौरीपालनमा आकर्षण बढेको छ । विगत एक दशकअघिसम्म २ सय मात्रै चौरी रहेको तिप्लिङमा हाल ३५ वटा गोठमा ४ सयभन्दा बढी चौरीहरू छन् । चौरीपालनमा अहिले २० जना युवा र १५ जना वृद्धहरू संलग्न छन् ।

चौरीपालनका लागि सबैभन्दा उत्तममा नरचेत खर्कलाई मानिन्छ । करिब ४५ सय मिटर उचाइमा रहेको यो खर्कसम्म चौरीहरू पुर्‍याउन स्थानीयवासीलाई २ दिन लाग्छ । जिल्लास्थित पशु सेवा कार्यालयबाट हरेक वर्ष चौरी उत्पादन र खर्क व्यवस्थापनमा बजेट विनियोजन हुने गर्छ ।

‘हामीले भाले याक खरिद र चौरीखर्क तथा गोठालालाई गोठ व्यवस्थापनका तालिमलगायतका अन्य अनुदान दिने योजनामा छौं,’ जिल्ला पशु सेवा कार्यालयका प्रमुख देवेन्द्र भगतले भने, ‘चालु वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ब्याज पटक–पटक नबढाउन सर्वोच्चको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च आदालतले बैंक तथा वित्तीय संस्थालाई पटक–पटक ऋणको ब्याजदर नबढाउन निर्देशन दिएको छ । अदालतले कात्तिक ७ को फैसला आधारमा राष्ट्र बैंकलाई उक्त निर्देशन दिएको हो । पाँचबुँदे निर्देशन कार्यान्वयनका लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले ब्याजदर बढाएपछि नियन्त्रणका लागि राष्ट्र बैंकले ब्याज दर निर्धारण तथा पुनरावलोकनसम्बन्धी प्रावधान परामर्श पत्र तयार गरी राय सुझाव संकलन गरिरहेकै समयमा अदालतको निर्देशन आएको हो । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा बैंकले गरेको वाचाविपरीत बारम्बार ब्याज दर वृद्धि नगर्न/नगराउन बन्देज लगाइएको छ ।

सर्वोच्चको निर्देशनमा राष्ट्र बैंकले कर्जा दिने समयमै कर्जावालाको सम्पत्तिको सही मूल्यांकन हुने वातावरण सुनिश्चित गर्न, धितोको लिलामी बिक्री वा सकार गर्दा प्रचलित बजार मूल्यअनुसार नै गर्न भनेको छ । यसैगरी ऋणीका परिवार वा सरोकारवालाको सामाजिक प्रतिष्ठामा प्रतिकूल नपार्ने वातावरण मिलाउँदै न्यायोचित तरिकाले कर्जा असुलीको प्रक्रिया थाल्न पनि अदालतले निर्देशन दिएको छ । ‘ऋण असुलीको प्रक्रिया प्रारम्भ भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यहरूको सामाजिक प्रतिष्ठा, इज्जत सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाउने,’ अदालतको निर्देशनमा भनिएको छ ।

यस्तै राष्ट्र बैंकले तयार पारेको ब्याज दर निर्धारणसम्बन्धी परामर्श पत्र हुबहु पारित भएमा कर्जाको बैंक तथा वित्तीय संस्थाले एक वर्षमा दुईपटक मात्र ब्याजदर समायोजन गर्न सक्नेछन् । त्यस्तै कर्जा प्रवाह भएपछि ६ महिनाभन्दा अघि ब्याज दर हेरफेर गर्न नपाइने व्यवस्था पनि परामर्श पत्रमा छ । यसरी तोकिएको अवधिभित्र ब्याज दर परिवर्तन गर्न परेमा कर्जाको अवधिअनुसार ३० देखि ४५ दिने अग्रिम सूचना जारी गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT