२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

६८ करोड ७७ लाखको सेयर कारोबार

काठमाडौं — अघिल्लो दिनको तुलनामा आइतबार सेयर बजार परिसूचक नेप्से २४.८५ अंकले बढेर १ हजार ३ सय ८२.१९ मा उक्लेको छ । यो करिब २ प्रतिशतको वृद्धि हो । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । तीमध्ये पनि बिमा, जलविद्युत् र होटल समूहको परिसूचक धेरै अंकले बढे ।

बिमा समूहको परिसूचक ५.८७, जलविद्युत्को ३.३८ र होटलको ३.३५ प्रतिशतले बढे । यसैगरी ‘अन्य’ समूहको परिसूचक १.४१ प्रतिशत, विकास बैंकको १.१७ प्रतिशत, वित्त कम्पनीको १.१ प्रतिशत, बैंकिङको १ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.१२ प्रतिशतले उकालो लागे ।

कारोबारमा आएकामध्ये १ सय ३ कम्पनीको सेयर मूल्य बढ्यो, २० कम्पनीको घट्यो र १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । ५ हजार १ सय १५ पटकको कारोबारबाट १ सय ३६ कम्पनीका १४ लाख ४८ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ६८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १५ करोड रुपैयाँले बढी हो । योसँगै बजार पुँजीकरण (सेयर बजारको आकार) १५ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ ।

नेप्से बढेपछि सेन्सेटिभ ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक) परिसूचक १.८८ प्रतिशतले र सेन्सेटिभ फ्लोट (कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक) परिसूचक १.७९ प्रतिशतले बढे ।

स्ट्यान्डर्ड चार्टर्डको एफपीओ १२ गुणा बढी
काठमाडौं (कास)– स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपीओ (थप निष्कासन) मा झन्डै १२ गुणा बढी आवेदन परेको छ । आइतबारसम्मको प्रारम्भिक तथ्यांकका आधारमा ११ दशमलव ५७ गुणा बढी आवेदन परेको सेयर रजिस्ट्रार एवं बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्कासन गरेको थियो । अंकित मूल्य सय रुपैयाँमा १ हजार १ सय ९० रुपैयाँ थप गरी प्रतिकित्ता १ हजार २ सय ९० रुपैयाँमा सेयर निष्कासन गरिएको थियो । चैत १ देखि ४ गतेसम्म खुला गरिएको उक्त सेयरका लागि ३८ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।

एफपीओमा २ लाख २३ हजार आवदेन परेका थिए । तीमध्ये कागजी (भौतिक) रूपमा १ लाख ३८ हजार र आश्वामार्फत करिब ८५ हजार वटा आवेदन परेको जनाइएको छ । निष्कासन भएको मितिले बढीमा ६० दिनभित्र सेयर बाँडफाँट गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?