१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बैंक खाता रोक्का हुँदा योजना प्रभाविते

घनश्याम खड्का

म्याग्दी — स्थानीय तहको निर्वाचन मिति घोषणासँगै नयाँ संरचनाअनुसार जिल्ला समन्वय समितिको नाममा बैंक खाता नहुँदा विकास योजना प्रभावित भएका छन् । जिल्ला विकास समितिको नामका खाता नयाँ भूमिकामा रहेको समन्वय समितिको नाममा परिवर्तन भएका छैनन् ।

समन्वय समितिको नाममा यसअघि जिविसका बैंक खाता परिवर्तन हुनुपर्ने हो । यसबाट सम्पन्न भइसकेका आधा दर्जन योजनाको भुक्तानी रोकिएको छ । सम्झौता भएका दर्जनभन्दा बढी योजना कार्यान्वयन गर्न उपभोक्ता समितिले पेस्की झिक्न पाएका छैनन् ।

त्यसैगरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसदहरूले सञ्चालन गर्ने निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजना पनि अलपत्र परेका छन् । ‘जिविसको नाममा रहेका बैंक खाताहरू समन्वय समितिको नाममा परिवर्तन गर्न अलमल भएकाले दर्जनौं विकास योजनाका भुक्तानी र पेस्की रोकिएको छ,’ योजना शाखा अधिकृत चन्द्रदत्त शर्माले भने, ‘बर्खा लाग्न थाल्यो, बैंक खाताको सञ्चालनमा ढिलाइले सम्झौता भएका योजनाहरू रोकिने अवस्था आयो ।’

बैंक खाता परिवर्तनमा ढिलाइले समन्वय समितिले नै आयोजना गराएको एउटा कार्यक्रमका सहभागीलाई दिनुपर्ने भत्ता र यातायात खर्च दिन सकेन । गाउँपालिका र नगरपालिकाको नयाँ संरचना कार्यान्वयनमा आएको एक साता बित्दासम्म तत्कालीन गाउँ विकास समितिको नाममा रहेका बैंक खाताहरू अझै नयाँ नामबाट सञ्चालनमा आएका छैनन् ।

बैंकको खाता प्रक्रिया रोकिँदा स्थानीय तहमा सञ्चालन हुने तत्कालीन गाविस अनुदानका कार्याक्रमहरू पनि ठप्प भएका छन् । नगरपालिकाको अवस्था पनि उस्तै छ । ‘पुराना सबै खातापाता रोक्का छ । नयाँ कार्यकारी अधिकृतसमेतका कर्मचारी व्यवस्थापन नहुँदा नयाँ बैंक खाता सञ्चालन भएको छैन,’ अन्नपूर्ण गाउँपालिकाका निमित्त कार्यकारी बाबुराम शर्माले भने, ‘योजनाको भुक्तानी र पेस्की तथा दैनिक कार्यालय सञ्चालनमा समस्या पर्न थालेको छ ।’

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?