कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

थोराङला चढ्न थाले पर्यटक

आश गुरुङ

लमजुङ — हिमपातले बन्द रहेको चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पदमार्ग र सहायक मार्गको हिउँ हटाएसँगै पर्यटकको चहलपहल बढेको छ ।

थोराङला चढ्न थाले पर्यटक

नेपाली सेना, प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), होटल व्यवस्थापन उपसमिति र स्थानीय होटल व्यवसायीलगायत संघसंस्थाले पदमार्ग खुलाएका हुन् । मनाङ र मुस्ताङको सीमा क्षेत्र थोरोङला भञ्ज्याङ (५ हजार ४ सय १६ मिटर) सम्मको हिउँ हटाएपछि पर्यटक पदमार्गमा देखिन थालेका एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाले बताए ।

उनका अनुसार माथिल्लो मनाङदेखि थोराङला भञ्ज्याङ साथै खाङसार तिलिचोतर्फको बाटो खुलाइएको छ । ‘बाटो खुलाइएपछि दैनिक ५० जना पर्यटक माथिल्लो क्षेत्र (थोराङला र तिलिचो) जान थालेका छन्,’ उनले भने । उनका अनुसार यीमध्ये धेरैजना थोराङला चढेर मुक्तिनाथ जानेछन् ।

सदरमुकाम चामे र वरपरका पदमार्ग साथै सडकमा जमेको हिउँलाई सेना र प्रहरीले हटाएका हुन् । लमजुङको सीमावर्ती क्षेत्र तालदेखि धारापानीसम्मको सडकमा खसेका ठूलाठूला ढुंगा डिभिजन सडक कार्यालय नं. १ दमौलीको सहयोगमा हटाएर बाटो खुलाएको मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए ।

बेंसीसहरबाट चामेसम्म सहज रूपमा सवारी गुड्न थालेको उनले जानकारी दिए । बाक्लो हिमपातले मनाङको तिमाङदेखि खाङसारसम्मको अवरुद्ध सडक जिल्ला विकास समिति मनाङको सहयोगमा बाटो खुलाइएको छ । सडकमा जमेको बाक्लो हिउँले पदयात्रीलाई कठिनाइ भए पनि माथिल्लो क्षेत्र जान थालेका उनले बताए । ‘सहज ठाउँमा सेना, प्रहरीका साथै सरकारी कर्मचारीसमेत खटियौं,’ उनले भने, ‘अप्ठ्यारो ठाउँमा हिउँ फाल्न एक्साभेटरसमेत प्रयोग गरियो ।’ कतिपय ठाउँमा मजदुर लगाएर पनि हिउँ पन्छाइएको उनले बताए । विकट ना र फु जाने बाटो पनि खुलेर स्थानीय आवतजावत गर्न थालेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?