टेलिकमले वाइम्याक्समा लगानी नथप्ने

काठमाडौं — नेपाल टेलिकमले ताररहित उच्च गतिको इन्टरनेट सेवा वाइम्याक्समा थप लगानी नगर्ने भएको छ । सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) प्रविधिमा थप लगानी नगर्ने योजना अघि बढाएको टेलिकमले वाइम्याक्सलाई पनि अघि नबढाउने भएको हो ।

टेलिकमले वाइम्याक्समा लगानी नथप्ने

‘वाइम्याक्स र सीडीएमए सेवामा हामी थप लगानी गर्दैनौं,’ टेलिकमले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले भने, ‘अहिलेका चालु योजना मात्र अघि बढ्नेछन् ।’ उनले वाइम्याक्स र सीडीएमए सेवाका लागि लिइएको फ्रिक्वेन्सी भने फोरजी सेवाका लागि प्रयोग गरिने जानकारी दिए ।

सरकारले गत असारमा फ्रिक्वेन्सी नीति संशोधन गरी पहिले लिइएको फ्रिक्वेन्सीमा नयाँ प्रविधिको सेवा चलाउन पाइने व्यवस्था गरेको छ । प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) का आधारमा यस्तो सुविधा पाइने भएपछि टेलिकमले वाइम्याक्स र सीडीएमए सेवाका लागि लिएको फ्रिक्वेन्सी फोरजीमा प्रयोग गर्ने तयारी गरेको हो ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले वाइम्याक्सका लागि थप उपकरण खरिद नगर्ने भए पनि हाल विस्तारका क्रममा रहेको क्षेत्रमा भने योजनालाई जारी राखिनेछ । टेलिकमले मुलुकका विभिन्न भागमा वाइम्याक्स सेवा विस्तार गरिरहेको छ । भूकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्‍याउन टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुदान लिएर अहिले वाइम्याक्स सेवा नै विस्तार गरिरहेको छ ।

चार वर्षअघि सुरु गरिएको वाइम्याक्स सेवालाई टेलिकमले खासै विस्तार भने गर्न सकेको छैन । महँगो शुल्क र आकर्षक ग्राहक योजनाको अभावमा वाइम्याक्स लोकप्रिय हुने सकेको छैन । दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार टेलिकमको वाइम्याक्स प्रयोगकर्ता मात्र १६ हजार १ सय ७ छन् । २ हजार ३ सय ब्यान्डमा ३० मेगाहर्ज फ्रिक्वेन्सी पाएर टेलिकमले वाइम्याक्स सेवा सुरु गरेको थियो । यही ब्यान्डमा २० मेगाहर्ज फ्रिक्वेन्सी पाएको भारतको ‘रिलायन्स जियो इन्फोकम’ ले भने ‘जियो’ ब्रान्डमा फोरजी सेवा चलाएर तहल्का मच्चाइरहेको छ ।

टेलिकमले सीडीएमए प्रविधिमा आधारित ‘फिक्स्ड’, मोबाइल र इन्टरनेट कुनै पनि सेवा विस्तारमा थप लगानी नगर्ने निर्णय यसअघि नै गरिसकेको छ । सीडीएमए प्रविधिमा आधारित सेवाका लागि उपकरणसमेत नपाइने अवस्था आइसकेकाले त्यसको साटो जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल) का लागि थप लगानी गर्ने योजना टेलिकमले अघि बढाएको हो । टेलिकम सञ्चालक समितिले करिब साढे २ वर्षअघि सात चरणमा सम्पन्न गर्ने गरी बनाइएको सीडीएमए विस्तार योजनालाई तीन चरणमै सिध्याउने निर्णय गरेको थियो । त्यसबेला सेवा विस्तारका क्षेत्र र लगानी कटौती गरेर तेस्रो चरणमा टेलिफोन सेवा नपुगेका केही हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा सीडीएमए विस्तार नगर्ने निर्णय गरिएको हो ।

एक दशकअघि सीडीएम प्रविधि भित्र्याएको टेलिकमले यसमा आधारित ‘फिक्स्ड’ र मोबाइल दुवैखाले सेवा चलाइरहेको छ । मोबाइलजस्तै बोकेर सार्न मिल्ने ‘फिक्स्ड’ लाइन सीडीएमए पहिलोपटक भित्रँदा राजधानीसहित मुलुकका सहरी क्षेत्रमा निकै लोकप्रिय भएको थियो । यसैगरी सीडीएमए प्रविधिमा आधारित मोबाइल सेवा ‘स्काई फोन’ अहिले पनि अन्य नेटवर्क राम्रो नभएका ग्रामीण क्षेत्रमा निकै लोकप्रिय छ । सहरी क्षेत्रमा लोकप्रिय भएको ‘फिक्स्ड’ लाइन फोनबाट इन्टरनेट प्रयोग गर्न नपाएपछि र जीएसएम मोबाइलको विस्तारले यसका ग्राहक घट्दै गएका थिए ।

नेपाल टेलिकमले ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा चलाइरहेको हो । टेलिकमले यसका लागि ८ मेगाहर्ज फ्रिक्वेन्सी पाएकामा केही महिनाअघि मात्र नेपाल दूरसञ्चार प्राधिकरणले २ मेगाहर्ज फिर्ता गराएको छ । नयाँ फ्रिक्वेन्सी नीतिअनुसार यो ब्यान्डमा ६ मेगाहर्जभन्दा बढी दिन नमिल्ने भन्दै प्राधिकरणले फ्रिक्वेन्सी फिर्ता गराएको हो ।

प्राधिकरणको प्रतिवेदनअनुसार टेलिकमको सीडीएमए ‘फिक्स्ड’ लाइनका ग्राहक १ लाख २१ हजार ८ सय ७२ छन् भने मोबाइलका ग्राहक १४ लाख ७८ हजार ७ सय ८३ रहेका छन् । सीडीएमए मोबाइल चलाउनेमध्ये १ लाख ३६ हजार ५ सय ७३ ग्राहक यही प्रविधिबाट इन्टरनेट चलाउँछन् ।

ल्यान्डलाइन र एडीएसलमा पनि उस्तै योजना
पत्रकार सम्मेलनमा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ल्यान्डलाइन र एडीएसल इन्टरनेटमा पनि वाइम्याक्स र सीडीएमएकै जस्तो योजना ल्याइने संकेत गरिन् । ‘हामी पुरानो प्रविधिमा आधारित सेवालाई विस्तारै नयाँमा रूपान्तरण गर्दै जानेछौं,’ उनले भनिन् । टेलिकमले एडीएसएलको साटो फाइबर टु दि होम (एफटीटीएच) सेवालाई विस्तार गर्ने योजना भने अघि बढाइसकेको छ । तामाको तारबाट दिइने एडीएसल सेवाको साटो फाइबरबाट दिइने सेवाको गुणस्तर राम्रो हुने भएकाले पनि टेलिकमले यो प्रविधि अपनाउन लागेको हो ।

एडीएसएल सेवाको गुणस्तर कमजोर भएर ल्यान्डलाइनका ग्राहकसमेत घट्न थालेपछि टेलिकमले यो प्रविधिलाई पनि नयाँ क्षेत्रमा विस्तार नगर्ने तयारी गरेको छ । हाल चालु रहको योजना अघि बढाए पनि थप लगानी नगर्ने टेलिकमको तयारी छ । पत्रकार सम्मेलनमा बोल्दै टेलिकमका अधिकारीहरूले कम्पनी अब डाटा सेवामा केन्द्रित हुने जानकमारी दिए । उनीहरूले भ्वाइस सेवाबाट विश्वभर नै दूरसञ्चार कम्पनीहरू डाटामा केन्द्रित हुन थालेकाले टेलिकमले पनि सोही योजना बनाएको बताए ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?