कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बोर्डका कर्मचारीलाई सेयर लगानीमा कडाइ

काठमाडौं — नेपाल धितोपत्र बोर्डले आफ्ना कर्मचारीहरूलाई सेयरमा लगानी गर्न कडाइ गरेको छ । बोर्डले पहिलोपटक कर्मचारीहरूका लागि आचारसंहिता जारी गर्दै प्राथमिक निष्कासन (अंकित मूल्यका सेयर मात्र) बाहेक सबै प्रकारका सेयरमा लगानी गर्न बन्देज गरेको हो ।

बोर्डले आइतबार सार्वजनिक गरेको आचारसंहितामा यस्तो उल्लेख छ । यसअघि बोर्डको आचारसंहिता नभए पनि नियमावलीमा कर्मचारीहरूले संस्थापक सेयर र दोस्रो बजारमा लगानी गर्न नपाउने व्यवस्था थियो । अहिले त्यसलाई झनै परिमार्जित गरी थप निष्कासन (एफपीओ) र प्रिमियम मूल्य तोकी निष्कासन भएका सेयरमा पनि लगानी गर्न नपाइने व्यवस्था गरेको हो । 

‘कर्मचारीहरूले सेवा अवधिभर आफ्नो वा आफ्नो एकाघरको परिवारको नाममा संस्थापक सेयरमा लगानी गर्न पाइँदैन । यस्तै सूचीकृत संस्थाको दोस्रो बजारबाट तथा प्रिमियम मूल्य तोकी निष्कासन भएको सार्वजनिक निष्कासनबाट खरिद गर्न नहुने,’ बोर्डले जारी गरेको आचारसंहितामा भनिएको छ । कर्मचारीहरूले यसअघि त्यस्ता सेयरहरू खरिद गरेका भएमा आचारसंहिता जारी भएको ३० दिनभित्र कार्यालयमा विवरण बुझाउन पनि बोर्डले निर्देशन दिएको छ । 

निजामती कर्मचारीहरूले जस्तै बोर्डका कर्मचारीहरूले पनि अन्य मुलुकमा स्थायी आवासीय अनुमति (पीआर) लिन नपाउने भएका छन् । आचारसंहिता लागू हुनुअघि त्यस्तो अनुमति लिएको वा अनुमति लिन आवेदन पेस गरेको भए ३० दिनभित्र स्वघोषणा गरी बोर्डमा बुझाउनुपर्ने व्यवस्था पनि आचारसंहितामा छ । आचारसंहिता लागू भएपछि अन्य देशको स्थायी आवासीय अनुमति लिन वा यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन नहुने संहितामा उल्लेख छ । यस्तै बोर्डका कर्मचारीहरूले कामसँग सम्बन्धित कुनै व्यक्तिसँग ऋण सापटी लिन वा निजको आर्थिक कृतज्ञतामा पर्ने कार्य गर्न नहुने र इजाजत प्राप्त कम्पनीको सामूहिक औपचारिक कार्यक्रममाबाहेक अन्य भोजभतेरमा सहभागी हुन नपाउने व्यवस्था पनि बोर्डले गरेको छ । 

प्रकाशित : चैत्र ८, २०७३ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?