१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेप्से पुन: १४ सय माथि

काठमाडौं — सोमबारको वृद्धिले सेयर बजार परिसूचक नेप्से पुन: १ हजार ४ सय अंक माथि उक्लिएको छ । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से ४२.१९ अंकले बढेर १ हजार ४ सय २४.३८ मा उक्लेको हो । यो गत माघ ११ यताकै उच्च हो । गत माघ ११ मा नेप्से १ हजार ४ सय ३२.९९ अंकमा थियो ।

 

नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य रूपमा सुधार भएको छ । करिब ८ हजार कारोबारबाट २५ लाख २७ हजार ५ सय ३५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५८ करोड रुपैयाँले बढी हो ।

करिब ४ महिनापछि सेयर बजारमा एकै दिन सवा अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो । नेप्से बढेपछि सेन्सेटिभ (‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक) परिसूचक ३.०७ प्रतिशतले र सेन्सेटिभ फ्लोट (कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक) परिसूचक ३.१ प्रतिशतले बढे ।

कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले उकालो लागेको हो । तीमध्ये पनि बिमा, होटेल, बैंकिङ र विकास बैंक समूहको परिसूचक उच्च दरले बढे । जसमध्ये बिमा समूहको परिसूचक ८.५५ प्रतिशत र होटलको ४.१३ प्रतिशतले बढे । 

यस्तै वित्त कम्पनी समूहको परिसूचक २.८९, विकास बैंकको २.६४, जलविद्युतको २.६, बैंकिङको २.२४ र ‘अन्य’ को ०.२६ प्रतिशत उकालो लागे । योसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ । 

शाखा विस्तार सक्न निर्देशन
आउँदो वैशाख १५ भित्र शाखा विस्तारको काम पूरा गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीहरूलाई निर्देशन दिएको छ । सोमबार विज्ञप्ति जारी गरी नेप्सेले उक्त निर्देशन दिएको हो । 

शाखा विस्तारका लागि नेप्सेले गत माघ ११ गते केही ब्रोकर कम्पनीहरूलाई स्वीकृत प्रदान गरी विभिन्न सर्तहरूसहित पूर्वाधार तोकिदिएको थियो । सोहीअनुरूप सम्बन्धित ब्रोकर कम्पनीहरूलाई यस सम्बन्धमा भएको प्रगति विवरण पेस गर्न गत फागुन २४ मा पुन: पत्राचार गर्‍यो । त्यस समयमा केही ब्रोकर कम्पनीहरूले तोकिएको मापदण्ड पूरा नगरेको भेटिएपछि वैशाख १५ गतेभित्र सबै काम पूरा गर्न निर्देशन दिएको हो । दिइएको समयभित्र पनि तोकिएको मापदण्ड पूरा नभए शाखा विस्तारको अनुमति रद्द गर्ने नेप्सेले जनाएको छ । 

प्रकाशित : चैत्र ८, २०७३ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?