संस्थाहरूको रकम महिनाभित्रै दिन निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सहुलियत पसल सञ्चालन गर्ने नेसनल ट्रेडिङ, खाद्य संस्थान र साल्ट ट्रेडिङको बक्यौता रकम एक महिनाभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । यी संस्थाहरूले चाडपर्वका अवसरमा सहुलियत पसल सञ्चालन गर्ने गर्छन् ।

त्यस्ता पसल सञ्चालन गरेबापत यी संस्थानहरू ५ वर्ष अवधिमा छुट दिएबापत १२ करोड ८९ लाख रुपैयाँ पाउन सकेको छैनन् । 

सर्वसाधारणलाई सुविधा दिन दसैंमा सञ्चालन गरिने सुपथ मूल्य पसलको रकम संस्थानहरूले ५ वर्षदेखि पाएका छैनन् । साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले ५ वर्ष अवधिमा छुटबापत ८ करोड ३२ लाख ८६ हजार रुपैयाँ लिन बाँकी रहेको बताइन् । नेसनल ट्रेडिङ कर्पोरेसनले करिब ५४ लाख पाउन बाँकी छ । 
त्यसैगरी नेपाल खाद्य संस्थानले पसल सञ्चालन गरेबापत ४ करोड ३ लाख रुपैयाँ लिन बाँकी छ । अर्थ मन्त्रालयले समयमै रकम उपलब्ध नगराउँदा संस्थानहरू धराशायी हुँदै गएको हुन् । सोमबार बसेको उपसमिति बैठकले तीनै संस्थालाई महिनाभित्रै रकम उपलब्ध गराउन अर्थलाई निर्देशन दिएको छ ।

‘संस्थानलाई उपलब्ध गराउन बाँकी सम्पूण शोधभर्नाको रकम एक महिनाभित्र सम्बन्धित संस्थानलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिन्छु,’ उपसमितिका सयोजक शुभासचन्द्र ठकुरीले भने, ‘रकम उपलब्ध गराउन आवश्यक पर्ने कागजात र विवरण मिलाई सहजीकरण र समन्वय गर्न/गराउन आपूर्ति मन्त्रालयलाई पनि निर्देशन दिन्छु, ।’

 त्यस्तै व्यवस्थापिका संसदअन्तर्गत गठित उपसमितिले सहुलियत पसल सञ्चालका लागि सम्बन्धित बजेट शीर्षकमै व्यवस्था गर्न निर्देशन दिएको छ । दसैं, तिहार र छठसम्म सञ्चालन हुने पसलका लागि बजेटमै व्यवस्था गर्न आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिइएको हो । पर्वहरू नजिकिएपछि उपभोग्य वस्तुको अभाव र कालोबजारी रोक्न सरकारले हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्छ । 

प्रकाशित : चैत्र ८, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

रुदीमा साढे १५ मेगावाटको जलविद्युत्

कान्तिपुर संवाददाता

लमजुङ — लमजुङ र कास्कीको सिमानाको रुदीखोलामा दुईवटा जलविद्युत् आयोजना एकसाथ निर्माण थालिएको छ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले तल्लो क्षेत्रमा ८.८ मेगावाटको रुदी ‘ए’ र माथिल्लो क्षेत्रमा ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाको निर्माण थालेको छ ।

 

आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर सरोज भट्टराईका अनुसार ०७२ वैशाख १२ को भूकम्प, त्यसपछिको नाकाबन्दी र गत भदौमा आएको बाढीपहिरोले आयोजना निर्माणमा ढिलाइ भएपनि हाल द्रुत गतिमा चलिरहेको छ । उनका अनुसार गत असारमै निर्माण सक्ने योजना रहेको थियो । ‘गएको भदौमा पहिराले निर्माणस्थलमा क्षति पुर्‍यायो,’ उनले भने, ‘आगामी भदौभित्र सबै काम सक्ने योजना छ । दसैंअगावै केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोडिन्छ ।’ आयोजनाको ६० प्रतिशत निर्माण सकिएको उनले बताए ।

आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियररिङ प्रालिले काम गरिरहेको छ । इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले जिम्मा लिएको छ । रुदी ‘ए’ आयोजना लमजुङको सिङीबेंसीमा बाँध बाँधेर कास्कीको रबैडाँडा हुँदै ६ किमि पेनस्टक पाइपमार्फत पानी ल्याई बालुवाबेंसीमा निर्माण हुने गृहबाट विद्युत् उत्पादन गरिनेछ । रुदी ‘ए’ को ०६९ माघ २८ मा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा सम्झौता भएको छ । उक्त आयोजना १ अर्ब ३६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो । रुदी ‘ए’ सँगै प्रवद्र्धक कम्पनीले रुदी ‘बी’ साना जलविद्युत् आयोजनाको पनि निर्माण थालेको हो । 

बिन्ध्यवासिनीले नै निर्माण थालेको रुदी ‘बी’ आयोजना आगामी भदौसम्म निर्माण सक्ने योजनामा छ । ‘आउँदो असारभित्र काम सक्नुपर्ने हो । प्राकृतिक प्रकोपका कारण यसको पनि समयमै काम अघि बढाउन सकिएन,’ उनले भने, ‘यसलाई पनि आउँदो भदौसम्म सक्ने हाम्रो योजना छ ।’ आयोजनाको लागत १ अर्ब ३ करोड रुपैयाँ छ । सिङदी गाउँ नजिकैको टोंगो खोला दोभानमा बाँध बाँधेर सिङीबेंसीमा निर्माण गरिने गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिने उनले बताए । पानी ल्याउन साढे ३ किलोमिटर लामो पेनस्टक पाइप प्रयोग गरिनेछ ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्