१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अन्तर्राष्ट्रिय हवाई यात्रु बढे

काठमाडौं — सन् २०१६ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा करिब ३ लाखले बढेर ३५ लाख १० हजार ७ सय ४२ पुगेको छ । सन् २०१५ अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने गरी ३२ लाख १७ हजार १ सय ६२ यात्रु (स्वदेशी/विदेशी) पुगेका थिए ।

अन्तर्राष्ट्रिय हवाई यात्रु बढे

नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट बिदेसिनेको संख्या १८ लाख २३ हजार ५ सय
९८ थियो भने ती मुलुकबाट नेपाल आउनेको संख्या १६ लाख ८७ हजार १ सय ४४ थियो । यो कुल यात्रु आगमन र बहिर्गमन संख्यामा नेपाली र विदेशी पर्यटक सबै समेटिएका छन् ।

नेपालले ३८ मुलुकसँग हवाई सम्झौता गरेको छ । यीमध्ये अहिले नेपाललाई १४ वटा विदेशी मुलुकसँग जोड्ने २८ वटा एयरलाइन्स छन् । तीमध्ये २५ वटा विदेशी एयरलाइन्स हुन् भने तीनवटा नेपाली एयरलाइन्स छन् । जस्मा नेपाल वायु सेवा निगम, हिमालय र बुद्ध एयर छन् ।

नेपालमा सर्वाधिक उडान भर्नेमा चीन पहिलो स्थानमा रहेको छ । यस मुलुकको कुन्मिङ, ल्हासा, ग्वानजाउ र चेन्दुलाई गन्तव्य बनाउँदै चारवटा एयरलाइन्सले काठमाडौं उडान भर्छन् ।

नेपालले चीनको राजधानी बेइजिङसहित ७ वटा गन्तव्यका लागि वार्षिक ५ लाख ८२ हजार ४ सय सिटसम्मको सम्झौता गरेको छ । सिआन, सांघाई र बेइजिरूमा भने हाल उडान छैनन् ।

चीनपछि धेरै विमान पठाउने मुलुकमा भारत, मलेसिया र बंगलादेश पर्छन् । यी मुलुकका तीन/तीनवटा करियरले दैनिक काठमाडौं उडान भर्छन् । बंगलादेशबाहेक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मलेसियामा पनि उडान भर्छन् । लेवर रुट मानिने मलेसियाका लागि नेपाल एयरलाइन्स, एयर एसिया, मालिन्दो र मलेसियन एयर रहेका छन् । खाडी मुलुकअन्तर्गत कतार–काठमाडौं उडानमा तीनवटा एयरलाइन्सहरू कतार एयरवेज, नेपाल वायुसेवा निगम र हिमालय छन् ।

भारतको राजधानी दिल्लीसहित ६ वटा सहरसँग वार्षिक १५ लाख ६० हजार हवाई सिट सम्झौता छ । अहिले दिल्ली, मुम्बई, बैंग्लोर र कोलकताबाहेक चेन्नाई र हैदराबादसँग काठमाडौं जोडिसकेको छैन । भारतले यी सहरबाहेक देहरादुन, बागडौरा, गोरखपुरलगायतका अन्य २१ वटा पर्यटकीय सहरमा भने सिट संख्या तोकेको छैन । सन् २००९ मा भएको सम्झौताले नेपालका कुनै पनि एयरलाइन्सले यी २१ वटा पर्यटकीय सहरमा सातामा जतिसुकै उडान भर्न सक्नेछन् ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको काठमाडौं विमानस्थलको फ्लाइट मुभमेन्ट तथ्यांकअनुसार ०१६ मा काठमाडौंका लागि विदेशी मुलुकबाट भएका उडानको संख्या १३ हजार ५ सय ५८ थियो भने नेपालबाट १३ हजार ५ सय ६० वटा एयरक्राफ्ट मुभमेन्ट भएका थिए । यस वर्ष हवाई मार्ग भएर काठमाडौंबाट ६ हजार ७ सय ९८ टन सामान कार्गाेका रूपमा निर्यात भएको थियो भने १३ हजार ५ सय ५० टन सामान कार्गोका रूपमा नेपाल भित्रिएको थियो ।

तथ्यांकअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय समेतलाई मिलाउँदा २०१६ मा जम्मा उडान १ लाख ९ सय ९४, कुल यात्रु ५२ लाख ६८ हजार ३ सय ३८ तथा ३९ लाख ७१ हजार टन कार्गो हवाई रुटमार्फत आयत/निर्यात भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७३ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?