१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ठेकेदार कम्पनीबीच विवाद पुल निर्माणमा ढिलाइ

मुस्ताङ — कालीगण्डकी नदीमाथि बन्न लागेको कुन्जो पुल निर्माण दुई ठेकेदार कम्पनीबीचको विवादले ढिलाइ भएको छ । स्वच्छन्द निर्माण सेवा प्रालि र जयओम निर्माण सेवा प्रालिबीचको विवादले निर्माणमा बाधा पुगेको हो ।

टिटी ताल जाने र मुस्ताङ प्रवेशको मुख्यद्वारका रूपमा रहेको यो पुल निर्माण स्थानीय विकास मन्त्रालयमार्फत जिल्ला समन्वय समितिले स्वच्छन्द कम्पनीलाई ठेक्का दिएको थियो । उसले जयओम कम्पनीलाई नोमिनेसन गरेर भदौमै पुल बनाउन जिम्मा दिएको थियो । 

दुवै कम्पनीबीच पुल निर्माणको लिखित सम्झौता भएको थियो । तीनपटकसम्म स्वच्छन्द निर्माण कम्पनीले जयओमसँग गरिएको सम्झौता भंग गरेपछि पुल निर्माणमा ढिलाइ भएको जिसस स्रोतले जनाएको छ ।

०७३ भदौ १९ मा स्वच्छन्द ठेकेदार कम्पनीले २ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी जिसससँग सम्झौता गरेको हो । सम्झौता भएको ८ महिना बितिसम्दा पनि ठेकेदार कम्पनीले निर्माणमा विलम्ब गरेको छ । 

१ करोड ३७ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण थालिएको सय मिटर लम्बाइको पुलको हालसम्म ७ प्रतिशत मात्रै काम भएको छ । मुस्ताङको तल्लो भू–भागलाई समेटेर रिङरोड बनाउने योजनाबमोजिम यो पुल निर्माण थालिएको हो । ‘दुवै कम्पनीबीच सम्झौता बदर भएकाले स्वच्छन्दले नै निर्माण गर्ने भएको छ,’ प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रवीन्द्र तिवारीले भने, ‘अब पुलको काम रोकिँदैन ।’ एउटा कम्पनीको ठेक्का अर्कोलाई जिम्मा दिँदा यस्तो अवस्था आएको उनले बताए । 

जयओम कम्पनीले स्वच्छन्दले सम्झौता भंग गरेर धोका दिएको र खर्च भइसकेको रकमसमेत नदिएको आरोप लगाएको छ । ‘सम्झौता गरेर पटक–पटक बदर गरियो,’ जयओमका सञ्चालक ओम श्रेष्ठले, ‘अहिले न खर्च भएको रकम स्वच्छन्द कम्पनीले दिएको छ न समयमै निर्माण थालेको छ ।’ सम्झौता बदर नगरी समयमै बजेट दिएको भए निर्माणमा ढिलाइ नहुने उनले बताए । 

ठेक्का आफूले लिएर पेटी ठेक्का दिएको कम्पनीसँको सम्झौता बदर गरेपछि जिससले स्वच्छन्द कम्पनीलाई आफैंले निर्माण गर्नुपर्ने कि सम्झौता भंग गर्न नपाइने चेतावनी दिएको थियो । उक्त चेतावनीपछि निर्माणको काम पुन: सुरु भएको छ ।

 

प्रकाशित : चैत्र २२, २०७३ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?