वर्षभरिमा एक बाली मात्र

हरि गौतम

रुकुम — सामान्यतया गहुँ बाली ५ वा ६ महिनामा पाकेर भित्र्याइसक्नुपर्ने हो । तर, यहाँको सिस्ने गाउँपालिका(१ सिस्नेमा १० महिना नभई गहुँ बाली भित्र्याउन पाइँदैन । सिस्नेमा असोजमा लगाइएको गहुँ असारमसान्त नभई पाक्दैन । उच्च हिमाली क्षेत्रमा रहेको सिस्नेमा अत्यधिक चिसोका कारण बाली पाक्न बढी समय लाग्ने स्थानीय बताउँछन् ।

वर्षभरिमा एक बाली मात्र

हरेक असोजमा गरिएको गहुँ खेती असारमसान्त नभई नपाक्ने र त्यसलाई भित्र्याउन साउन पहिलो सातासम्म लाग्ने ठूला सिस्नेका कर्मलाल बुढाले बताए । त्यसको काम भदौ महिनासम्म चल्ने बुढाले बताए । ‘हामी पानीकै झरीमा गहुँ काट्ने गर्छौं, पानीमा काटेको गहुँ सुकाउन लामो समय लाग्छ,’ उनले भने, ‘यसकै काम भदौमहिनाभरसम्म चल्छ ।’ यहाँ रोटीका लागि गहुँ बाली लगाउने गरिन्छ । उनले भने, ‘तर पिठो भने कालो न कालो हुन्छ ।’ सिस्नेका भट्टेचौर र भङका केही बारीबाहेक ठूला सिस्ने, दमार, ओख्रेन लाम्पाखा, पाखापानीको पूरै जग्गाको समस्या उस्तै हो । सिस्नेमा समयमै गहुँ नपाक्ने समस्या मात्रै छैन । वर्षभर एउटा बाली मात्रै लाग्छ । वर्षमा एक मात्रै बाली हुने भएपछि सिस्नेका बासिन्दाले एक वर्ष मकै मात्र लगाउँछन् भने अर्को वर्ष गहुँको खेती गर्ने गरेका छन् । उनीहरूले दुई छुट्टाछुट्टै बारीमा खेती गर्ने गरेका छन् । एक वर्ष मकै खेती गरिएको बारीमा अर्को वर्ष गहुँ लगाउँछन् । गहुँ लगाएको बारीमा अर्को वर्ष मकै लगाउने गरेका छन् । केही समय गहुँ लाउँदा मकै लाउने बारी बाँझै हुन्छ भने मकै लगाउँदा गहुँ लाउने बारी बाँझै । ‘यो पुरानो चलन हो । यहाँ दुई बाली कहिल्यै लागेन,’ ठूला सिस्नेकै ६३ वर्षीय धनबहादुर बुढाले भने, ‘यो बाहिरैबाट अन्न बेसाएर खाई बाँचेको ठाउँ हो ।’

उनका अनुसार सिस्नेमा उत्पादन हुने अन्नपातले मुस्किलले ४ देखि ५ महिनासम्म मात्रै खान पुग्छ । खच्चड पुग्ने बाटो बन्नुअघि स्थानीयले हरेक वर्ष प्वाङ, पोखरा र पीपलका विभिन्न ठाउँ पुगेर मकै र गहुँ किनेर खाने गर्दथे । १५ वर्षदेखि निरन्तर खच्चडमार्फत सिस्नेमा चामल ढुवानी हुँदै आएको छ । ‘खच्चड सिस्नेका सबै ठाउँमा पुग्ने भएपछि सजिलो भएको छ,’ धनबहादुर भन्छन्, ‘त्यसअघि अन्नपात बोक्दा हाम्रा पिठ्युँ नै मरिसकेका थिए ।’ सिस्नेमा ७५ किलो चामलको मूल्य ६ हजार ३ सय रुपैयाँ पर्छ ।

प्रकाशित : वैशाख २, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?