कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वित्तीय प्रणालीमा भारु ७.८५ करोड

यज्ञ बञ्जाडे

काठमाडौं — वित्तीय प्रणालीमा भारु पाँच सय र हजार दरका नोट करिब ८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । सुरुमा वित्तीय प्रणालीमा भारु ३ करोड ३६ लाख रहेको बताएको राष्ट्र बैंकले हाल ७ करोड ८५ लाख पुगेको जनाएको हो ।

भारतले पाँच सय र हजार दरका नोट चलनचल्तीबाट हटाए लगत्तैको प्रारम्भिक गणनामा ३ करोड ३६ लाख देखिएकामा हाल सबै क्षेत्रको तथ्यांक आउँदा त्यो परिमाण बढेर ७ करोड ८५ लाख पुगेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘सुरुमा सबै मनीचेन्जर र होटलहरूको विवरण आउन सकेको थिएन,’ सहप्रवक्ता पण्डितले भने, ‘केही होटल तथा मनीचेन्जर कम्पनीहरूको विवरण आएपछि नोटको परिमाण बढेको हो ।’ 

प्रतिव्यक्ति २५ हजारभन्दा बढी नोट साथमा लिएर हिँड्नेहरूबाट बरामद भएको, अदालती प्रक्रियामा रहेको, बैंक तथा वित्तीय संस्था, मनीचेन्जर कम्पनी, विदेशी मुद्रा सटही अनुमति पाएका होटललगायत संघसंस्थामा रहेको नोट समावेश गर्दा बढेर करिब ८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिबन्धित भारु नोट सटहीका लागि राष्ट्र बैंकले पटकपटक आग्रह गर्दै आए पनि भारतले अझै मानेको छैन । पछिल्लोपटक भारतको प्रस्तावअनुसार प्रतिव्यक्ति भारु साढे ४ हजारका दरले सटही गर्न तयार रहेकाले साटिदिन आग्रह गर्दै राष्ट्र बैंकले पत्राचार गरेको थियो । बुधबारसम्म भारतले कुनै जवाफ पठाएको छैन । प्रतिव्यक्ति भारु ४ हजार ५ सय सटहीका लागि जवाफ पठाउन भारतले दिएको समयमा राष्ट्र बैंकले जवाफ पठाउन नसकेपछि अन्योल झनै बढेको हो । नोट सटहीको टुंगो लगाउन पछिल्लो समय नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति साढे चार हजारभन्दा बढी साट्न नसक्ने र त्यो प्रस्ताव मन्जुर भए चैत १९ भित्र जवाफ पठाउन आग्रह गरेको थियो । सरकारको निर्णय आउन ढिलाइ भएपछि भारतले दिएको समयमा राष्ट्र बैंकले जवाफ पठाउन सकेको थिएन । 

उता भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही सम्बन्धमा आफूहरू सकारात्मक रहेको बताएका छन् । यो घटनाक्रमले प्रतिबन्धित भारु नोटहरू साटिने सम्भावना केही बलियो बनाएको छ । 
भारत सरकारले गत कात्तिक २४ (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यस बेलादेखि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?