रकम हिनामिना गरी प्रबन्धक फरार

पोखरा — बैंकको निक्षेप, ग्राहक तथा सर्वसाधारणको लाखौं रुपैयाँसहित यहाँको एक बैंकका शाखा प्रबन्धक फरार भएका छन् । कैलाश विकास बैंकको लामाचौरस्थित शाखा कार्यालयका प्रबन्धक रविचन्द्र खनाल सम्पर्कविहीन भएका हुन् ।

खनाल सम्पर्कविहीन भएपछि बैंकले शाखाको अडिट गरिरहेको छ । त्यसक्रममा डेढदेखि २ करोडसम्म बैंकको रकम हिनामिना गरेको हुन सक्ने देखिएको बैंकका सहायक महाप्रबन्धक सूर्य तिवारीले बताए । उनका अनुसार अडिटको काम भइरहेकाले घटबढ हुन सक्छ । तर, व्यक्तिगत रूपमा कति रकम उठाए भन्ने यकिन छैन ।

खनालले धेरै व्यक्तिसँग सापटी माग्ने, चर्को ब्याजको लोभ देखाएर ऋण लिने, बैंकका ठूला ग्राहकसँग चेक मागेर रकम निकाल्नेलगायत काम गर्दै आएका थिए । खनालले जग्गाको कारोबार पनि गर्दै आएका थिए । बैंकमा राख्दा धेरै ब्याज आउँदैन भन्दै उनले चर्को ब्याजको लोभ देखाउने गरेका थिए । केही समयअघि लायन्सको कार्यक्रममा अमेरिका गएर उनी फर्किएका थिए । उनको साथमा अमेरिकाको मल्टिपल भिसा भएकाले लामो बिदाको दिन पारेर उनी उतै गएको अनुमान छ । खनालविरुद्ध बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीमा उजुरी दिएको छ । कास्कीका प्रहरी प्रवक्ता डीएसपी खडगबहादुर खत्रीले बैंकले आर्थिक अनियमितता गरी बिनासूचना कार्यालयमा अनुपस्थित भएको भन्दै जाहेरी दिएको बताए ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?