२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

निक्षेपभन्दा कर्जा वृद्धिदर डेढ गुणा

निक्षेप १९ प्रतिशतले बढ्दा ऋण २८.९ प्रतिशतले बढ्यो

काठमाडौं — गएको एक वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह करिब २९ प्रतिशतले बढेको छ । ०७२ फागुन देखि चालू आर्थिक वर्षको सोही अवधिसम्म कर्जाको वृद्धिदर २८.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । सोही अवधिको निक्षेप वृद्धिदरको तुलनामा यो डेढ गुणाले बढी हो ।

निक्षेपभन्दा कर्जा वृद्धिदर डेढ गुणा

वार्षिक बिन्दुगत आधारमा ०७३ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १९ दशमलव ३ प्रतिशतले बढेको छ । आठ महिनासम्मको कर्जा तथा निक्षेपको वृद्धिदर राष्ट्र बैंकको वार्षिक लक्ष्य भन्दा धेरैले बढी हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रको कर्जा प्रवाह २० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको थियो ।

चालू आर्थिक वर्षको सुरुका महिनादेखि नै बैंक तथा वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जा प्रवाह वृद्धिदर उच्च रहदै आएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी वृद्धिको प्रक्रिया सुरु भएपछि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रियो । यस कारण बैंक तथा वित्तीय संस्थालाई कर्जा विस्तारमा दबाब पुग्यो ।

उक्त दबाब थेग्न बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा धमाधम कर्जा प्रवाह विस्तार गर्न थाले । तर, सो अनुरुप निक्षे बढ्न सकेन । निक्षेप भन्दा कर्जाको वृद्धिदर धेरै भएपछि असन्तुलनको अवस्था आयो । यसै कारण अधिकांश बैंक तथा वित्तीय संस्थाको पँुजी सहितको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत माथी पुग्यो ।

अपेक्षित रुपमा निक्षेप बढ्न नसकेपछि चालू आर्थिक वर्षको अधिकांश महिनाहरुमा निक्षेप भन्दा कर्जाको वृद्धिदर उच्च दरले बढेको बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘चालु आर्थिक वर्ष सकिनै लागेकाले अब सरकारी खर्च बढ्छ र त्यसले बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि थपिन्छ,’ उनले भने । आगामी आर्थिक वर्षको सुरुवातसँगै वित्तीय प्रणाली सहज बन्ने उनको अनुमान छ ।

गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा लगानीमा रहेको कर्जा १५ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव ८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १७ दशमलव ६ प्रतिशत र विकास बैंकहरुको साढे ६ प्रतिशतले बढ्यो । तर, वित्त कम्पनीहरुको कर्जा प्रवाह ३ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

सोही अवधिमा कृषि क्षेत्रको कर्जा साढे ८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रको १२ प्रतिशत, निर्माण क्षेत्रको करिब १८ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १४ दशमलव ७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २२ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, चालू आर्थिक वर्षको आठ महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ दशमलव ४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०७३ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १९ दशमलव ३ प्रतिशतले बढेको छ ।

गत फागुनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति खाताको अंश ६.९ प्रतिशत, बचतको ३७.६ प्रतिशत र मुद्दती ३८.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ९.१ प्रतिशत, ४४.१ प्रतिशत र २८.५ प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत आधारमा ०७३ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १९ दशमलव ३ प्रतिशतले बढेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ ०१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?