भन्सार छुटका वस्तुमा लगानी गर्न अमेरिका इच्छुक

टिफा बैठक
राजु चौधरी

काठमाडौं — अमेरिका प्रवेशमा भन्सार छुट पाएका वस्तु नेपालमा उत्पादन गर्न त्यहीँका लगानीकर्ता इच्छुक देखिएका छन् । नेपाल अमेरिकाबीचको व्यापार तथा लगानीसम्बन्धी बृहत् सम्झौता (टिफा) को बैठकमा अमेरिकी अधिकारीले त्यहाँका लगानीकर्ता इच्छुक रहेको जानकारी गराएका हुन । राजधानीमा दुई देशका सचिवस्तरको ‘टिफा’ बैठक बिहीबार बसेको थियो ।

अमेरिका प्रवेशमा भन्सार छुट पाएका वस्तु नेपालमा उत्पादन गर्न त्यहीँका लगानीकर्ता इच्छुक देखिएका छन् ।

नेपाल अमेरिकाबीचको व्यापार तथा लगानीसम्बन्धी बृहत् सम्झौता (टिफा) को बैठकमा अमेरिकी अधिकारीले त्यहाँका लगानीकर्ता इच्छुक रहेको जानकारी गराएका हुन । राजधानीमा दुई देशका सचिवस्तरको ‘टिफा’ बैठक बिहीबार बसेको थियो । यो तेस्रो बैठक हो । ‘अमेरिकी अधिकारीसँग छलफल गर्दा लगानीका लागि ऐन कानुन, वातावरण, प्रावधानको विषयमा बढी केन्द्रित भयो,’ वाणिज्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता रविशंकर सैंजुले भने, ‘उनीहरू भन्सार छुटका वस्तुमा लगानी गर्न बढी इच्छुक छन् ।’

पछिल्लो समय अमेरिकाले थप ६६ वस्तुलाई भन्साररहित बजार पहुँच दिएको छ । यसअघि जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जीएसपी) अन्तर्गत अन्य उत्पादनाम पनि छुट दिइरहेको थियो । गत वर्षदेखि थप ६६ वस्तुमा छुट दिएको हो । जुन गत वर्षदेखि लागू भइसकेको छ । तर, त्यसमा नेपालको तुलनात्मक लाभ भएका तयारी पोसाकजस्ता समावेश छैनन् ।

छुट भएका झोला, सुटकेसजस्ता उत्पादनमा धेरै लगानी छैन । अमेरिकामा यी वस्तुको बजार भने छ । भन्सार छुटमा त्यहाँ प्रवेश पाउने हुँदा अन्य मुलुकका भन्दा यहाँका उत्पादन सस्ता हुनेछन् । बजार सुनिश्चित देखेपछि अमेरिकी लगानीकर्ताले आफैं उत्पादन गर्ने अवसर खोजिरहेका हुन् । त्यसक्रममा लगानीको वातावरण राम्रो भएको मन्त्रालयले दाबी गरेको छ । ‘बनिरहेका ऐन कानुनको बारेमा स्पष्ट जानकारी गरायौं, लगानीको वातावरण रहेकाले लगानी गर्न आग्रह गरेका छौं,’ प्रवक्ता सैंजुले भने ।

बैठकमा तयारी पोसाकको विषयमा पनि छलफल भएको उनले बताए । यस्तै ६६ बाहेक अन्य वस्तुमा पनि छुट दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ । बैठकमा सम्झौता नभए पनि लगानी गर्ने आधार तय भएको मन्त्रालयले जनाएको छ । वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले अमेरिकाले भन्सार छुट पाएका वस्तुका लागि प्राविधिक सहयोग दिन तयार रहेको बताए । उनीहरूले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई थप विस्तार गर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार ६६ वस्तुमध्ये एक–दुई वस्तुबाहेक सबै निर्यात हुन्छ । ‘सानो परिमाणमा भए पनि अधिकांश वस्तुहरू निर्यात हुन्छ । हस्तकला उत्पादनको माग पनि उच्च छ,’ उनले भने, ‘उत्पादन बढाउनसके निर्यात बजार धेरै बढ्छ ।’ बैठकमा तुलनात्मक लाभका वस्तु पहिचान भएका वस्तुको बारेमा पनि छलफल भएको जनाएको छ । त्यसक्रममा अमेरिकाले सक्दो सहयोग गर्ने जनाएको प्रवक्ता सैंजुले बताए । मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ वस्तु तथा सेवा गरी १२ वटा छनोट गरेको छ ।

मन्त्रालयले एनटीआईएस २०१० संशोधन गर्दै निर्यातका बढी सम्भावना भएका १२ वटा वस्तु तथा सेवाको सूची तयार पारेको छ । जसमध्ये वस्तुतर्फ ठूलो अलैंची, अदुवा, चिया, औषधि तथा सुगन्धित वनस्पती, कपडा, छाला, जुत्ता, च्यांग्रा पस्मिना र गलैंचा परेका छन् । सेवातर्फ रेमिट्यान्स, आईटी तथा आईटी इन्जिनियरिङ र पर्यटन (व्यापार, शिक्षा र चिकित्सा) छनोट गरेको छ । दातृ निकायको सहयोगमा तुलनात्मक लाभका वस्तु पहिचान भए पनि लाभ लिन सकिएको छैन । सबै क्षेत्रमा लगानी गर्न नसक्ने हुँदा यस्ता लाभका वस्तु पहिचान गरिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार अमेरिका निर्यातको हिसाबले भारत पछि दोस्रो मुलुक हो । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ५ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको ७ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ निर्यात भएको थियो । आयात व्यापारमा अमेरिका आठौं नम्बरमा रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

‘टिफा’ अमेरिकासँग व्यापार र लगानी विस्तारका लागि गरिने सम्झौता हो । यसमा दुई देशबीच आर्थिक साझेदारी बढाउन सक्ने आधार समेटिएका हुन्छन् । अमेरिकाले संसारका करिब ४० देशसँग ‘टिफा’ सम्झौता गरिसकेको छ । दक्षिण एसियामा अमेरिकाले श्रीलंका, पाकिस्तान र अफगानिस्तानसँग यस्तो सम्झौता गरिसकेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?