२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

काठमाडौं — राजधानीमा १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी २०७४ बिहीबार सुरु भएको छ । मेलाको उद्देश्य लघु, घरेलु तथा साना उद्योगहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने रहेको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पुँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फस्टाउन नसक्ने बताए । लघु, घरेलु तथा साना उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै उहाँले सरकारले ल्याउन लागेको आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिए ।

विज्ञानमन्त्री प्रेमबहादुर सिंहले मुलुकमा रहेका साधन स्रोत र प्रविधि पर्याप्त हुँदा पनि तिनको आवश्यक अनुसन्धान र विकास गर्न नसकेका कारण दिगो विकास र समृद्घि हासिल गर्न नसकिएको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकी उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको भन्दै थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूले विभिन्न किसिमका प्रविधि तथा उपकरणहरूको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरू उद्योगसँग जोडिई समुचित उपयोग र प्रवद्र्धन हुन नसकेको बताए । 

महासंघ महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले संविधानले स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थ व्यवस्थामार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको सन्दर्भमा मुलुकको जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरूको आर्थिक तथा सामाजिक सबलीकरण हुन जरुरी रहेको बताइन् । प्रदर्शनीमा २ सय १५ वटा स्टल रहेकामा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसँग सम्बन्धित स्टलहरू रहेका छन् । त्यस्तै केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, वन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रवद्र्धित १० जना महिला उद्यमीहरू त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरू पनि प्रदर्शनीमा रहेका छन् । बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरूको प्रदर्शनी गरिएको विज्ञप्तिमा छ ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?