‘घट्दो रेमिट्यान्सले जोखिम’

विकासशील राष्ट्रमा समस्या आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं — बिकासशील मुलुकहरूको मुख्य आम्दानीका रूपमा रहेको रेमिट्यान्स घटन थालेपछि यी मुलुकको अर्थतन्त्रमा जोखिम बढने विश्व बैंकले जनाएको छ । नेपालको रेमिट्यान्सको वृद्धिदर पनि घट्दो दरमा छ ।

विश्व बैंकका अनुसार सन् २०१६ मा विकासशील राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह २ दशमलव ४ प्रतिशतले घटेर ४ खर्ब २९ अर्ब अमेरिकी डलरमा झरेको छ । सन् २०१५ मा रेमिट्यान्स आप्रवाह ४ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको थियो । सोही अवधिमा उच्च आय हुने राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह वृद्धिदर १ दशमलव २ प्रतिशतले खुम्चिएको विश्व बैंकको तथ्यांक छ । विश्ब बजारमा तेलको मूल्यमा आएको कमीका कारणले खाडी मुलुकको आर्थिक वृद्धिदरमा आएको कमी, अमेरिकी डलरको मूल्यमा आएको कमीलगायत कारण विकासशील राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह वृद्धिदरमा कमी आएको विश्व बैंकले बताएको छ ।

विश्वमा सबैभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने मुलुक भारतमा पनि सन् २०१६ मा रेमिट्यान्स आप्रवाह ८ दशमलव ९ प्रतिशतले घटेर ६२ अर्ब ७० करोड अमेरिकी डलर मात्र रहेको विश्ब बैंकले बताएको छ । सन् २०१५ मा भारतले प्राप्त गरेको रेमिट्यान्स ६८ अर्ब ९० करोड डलर थियो ।

यसैगरी, सन् २०१६ मा दक्षिण एसिया क्षेत्रमा रेमिट्यान्स आप्रवाह ६ दशमलव ४ प्रतिशतले घटेको विश्व बैंकको तथ्यांक छ । तेलको मूल्यमा आएको कमीले खाडी मुलुकको आर्थिक गतिविधि प्रभावित भएपछि दक्षिण एसियाली राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह पनि घटेको हो । उक्त अवधिमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत राष्ट्रको रेमिट्यान्स आप्रवाह वृद्धिदर पनि घटेको विश्व बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा ४ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । यो ५ दशमलव ३ प्रतिशतको वृद्धि हो । ०७२ फागुनमा रेमिट्यान्स आप्रवाह वृद्धिदर १५ दशमलव २ प्रतिशत थियो । पछिल्ला दुई वर्षयता रेमिट्यान्स आप्रवाह वृद्धिदर निरन्तर रूपमा घटिरहेको छ ।

प्रकाशित : वैशाख १२, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?